१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गोविन्द सुवेदी
२०७५ माघ १३ आइतबार १०:११:००
Read Time : > 1 मिनेट
खेलकुद

आहा–रारा गोल्डकप विजेताले ८ लाख पाउने

Read Time : > 1 मिनेट
गोविन्द सुवेदी
२०७५ माघ १३ आइतबार १०:११:००

मोफसलमा सबैभन्दा चर्चित आहा–रारा गोल्डकप प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी १७औँ संस्करणको विजेताले ८ लाख १ हजार रुपैयाँ पाउने जानकारी दिएको छ । यसैगरी, उपविजेताले ४ लाख १ हजार रुपैयाँ पाउनेछ । गत वर्षको भन्दा यसपटक पहिलो र दोस्रो स्थानका लागि एक लाख बढाइएको हो । गत वर्ष विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ पाएको थियो । 

१० दिन मात्र खेल
१७औँ आहा रारा गोल्डकप ९ देखि १८ फागुनसम्म हुनेछ । यसपटक प्रतियोगिता केवल १० दिन मात्र हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय, विदेशी र आयोजक टिमको सहभागिता हुनेछ । विदेशी टिमको छिनोफानो हुने क्रममा रहेको आयोजकले जनाएको छ । विगतमा १२ दिनसम्म हुने प्रतियोगिताको अब १० दिन तय भएको अध्यक्ष थापाले बताए । विभिन्न ठाउँमा प्रतियोगिता भइरहेकाले टिम टुंगो लाग्नेबित्तिकै १२ दिनसम्म पनि हुन सक्ने आयोजकको अनुमान छ । 

विधागत पुरस्कार
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, फेयरप्लेसहित विधागत पुरस्कारसमेत प्रदान गरिनेछ । यसैगरी, एक खेलाडीलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबापत ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । यता योपटक प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने आयोजकको अनुमान छ । यसबाट खर्च कटाई ३२ लाख २ हजार बचत गरिने क्लबको लक्ष्य रहेको महासचिव विश्वराज बरालले बताए । 

अस्थायी प्याराफिटको भरमै
प्रतियोगिता हुने मुख्यस्थल पोखरा रंगशाला अहिले निर्माणाधीन अवस्थामा छ । प्रतियोगिताअगाडि निर्माण सकिने छाँटकाँट छैन । तर, आयोजक क्लबका अध्यक्ष केशवबहादुर थापाले रंगशालामा अस्थायी प्याराफिट बनाएर प्रतियोगिता सञ्चालन गर्ने बताएका छन् । ‘प्रतियोगितालाई बढीभन्दा बढी सशक्त पार्न र महत्व बढाउनका लागि क्रमश पुरस्कार राशि वृद्धि गर्दै आएको जानकारी दिए । ‘हामी निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्याराफिट बनाएरै भए पनि विगतको साख जोगाइराख्ने पक्षमा छौँ,’ थापाले भने, ‘पोखरा रंगशालाबाहेक अर्को विकल्प नै गरेको छैन ।’