मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १२ सोमबार ०९:३४:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनकै बीच सिक्टा नहर निर्माणको काम सुरु

Read Time : > 1 मिनेट
२०७७ जेठ १२ सोमबार ०९:३४:००

लकडाउनका कारण रोकिएको सिक्टा सिँचाइ योजना निर्माणको काम सुरु भएको छ । सरकारले राष्ट्रिय गौरवका योजना र आयोजनाको काम अगाडि बढाउने निर्णय गरेपछि लकडाउन र सामाजिक सुरक्षामा असर नपर्ने गरी सिक्टा सिँचाइ योजनाको काम अगाडि बढाएको योजना प्रमुख लोकबहादुर थापाले बताए । 

उनले पूर्वीनहर र पश्चिम नहरको डुडुवा शाखालगायत अन्य शाखाको नहर निर्माण सुरु भएको बताए । मन्त्रिपरिषद्ले निर्णय गरेको एक सातापछि काम सुरु भएको बताउँदै उनले लकडाउनमा पनि कर्मचारी बिदामा नबसेको जानकारी दिए । कार्यालयका कर्मचारीलाई व्यवस्थापन गरी मूल नहर मर्मत–सम्भारको काम गराइरहेको उनले स्पष्ट पारे । 

निर्माण सामग्री अभाव

लकडाउनका बाबजुद सिक्टा सिँचाइ योजनाले निर्माणको काम अगाडि बढाए पनि निर्माण सामग्री अभाव हुँदा निर्माणको काम सुस्त गतिमा भइरहेको योजना प्रमुख थापाले बताए । उनले नहर निर्माण गर्न आवश्यक पर्ने सिमेन्ट र छड बाँकेमा नपाइने भएकाले बाहिरबाट ल्याउन समस्या भएको बताए । 

अन्य जिल्लाले राष्ट्रिय गौरवका योजनामा चाहिने सामग्री लिन जाने गाडीलाई अर्को जिल्लामा जानका लागि पास दिएको बताउँदै उनले पास नपाउँदा अर्को जिल्लामा जान नसकिएको बताए ।
 
लकडाउनले मजदुर अभाव

सरकारले राष्ट्रिय गौरवका योजनाको काम अगाडि बढाउन निर्देशन दिए पनि बाँकेमा जारी योजनालाई मजदुर अभाव भएको छ । बाँकेका मजदुरले मात्र निर्माणको काम हुन नसक्ने बताउँदै थापाले बाहिरी जिल्लाबाट ल्याउने अनुमति दिनुपर्ने बताए । 

सिक्टा सिँचाइ योजनामा काम गर्ने प्रायः मजदुर बर्दिया र कैलालीका भएको डिभिजन इन्जिनियरसमेत रहेका योजना प्रमुख थापाले बताए । उनले बर्दिया र कैलालीका मजदुर ल्याउन सके मात्र फुल फेजमा काम हुने स्पष्ट पारे । 

नहरमा तीन क्युसेक पानी छोडियो 

सिक्टा सिँचाइ योजनाले मूल नहरमा पानी छोडेको छ । धानको बिउ राख्नका लागि नहरमा पानी छोडेको योजना प्रमुख थापाको भनाइ छ । एक हप्तादेखि पानी छोडेर नहरमा देखिने समस्या समाधान गरिरहेको उनले बताए ।

सिक्टा नहरमा अहिले तीन क्युसेक पानी छोडिएको उनको भनाइ छ । मूल नहरबाट डुडुवा शाखालगायत शाखामा पनि पानी छोडिएको उनले बताए । धानको बिउ राख्न पानी अभाव हुन नदिने उनले बताए ।