मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १२ सोमबार ०८:४९:००
Read Time : > 1 मिनेट
नयाँCity

सहरका सम्पदा : लकडाउनले नरोकिएको पुनर्निर्माण

Read Time : > 1 मिनेट
२०७७ जेठ १२ सोमबार ०८:४९:००

लकडाउनकै बीचमा पनि भक्तपुर टौमढी क्षेत्रमा अलग्गै चहलपहल छ । वर्षा लाग्नुअघि नै न्यातपोल मन्दिरको पुनर्निर्माण सक्न स्थानीय बासिन्दा श्रमदानमा जुटेका छन् । स्थानीय महिलाहरू मन्दिरका पुराना इँटा पखाल्न व्यस्त छन् । भुइँतलालाई जस्तापाताले बेरिएको छ । मन्दिरको पाँचौँ तलासम्म बाँसले घेरिएको छ । दैनिक करिब ३० जना स्थानीयवासी मन्दिर पुनर्निर्माणमा जुट्छन् ।

दैनिक एउटा टोलका २० जनाका दरले श्रमदानमा आउँछन्, भक्तपुर नगरवासी । कम्तीमा दुई मिटरको दूरीमा बस्छन् । उपभोक्ता समितिले मास्क, पन्जा, स्यानिटाइजर र हेलमेट उपलब्ध गराएको छ ।

तिनैमध्येका हुन्, ४० वर्षीय आशिष चित्रकार । महामारीका वेलामा पनि सम्पदा क्षेत्रमा पसिना बगाउन पाउनुलाई उनी आफ्नो भाग्य ठान्छन् । उनका अनुसार भौतिक दूरी कायम गर्दै मन्दिरको पाँचौँ र चौथो तलाको काम पूरा भइसकेको छ । र, अहिले तेस्रो तलामा काम भइरहेको छ ।

टौमढीनजिकै गःहिटीकी बासिन्दा हुन्, २३ वर्षीया सुनिता तमखू । सयौँ वर्ष पुरानो मन्दिर पुनर्निर्माणमा आफ्नो पुस्ताले श्रमदान गर्न पाउनुलाई उनले ठूलो अवसर मानेकी छिन् । भन्छिन्, ‘यस्तो मौका फेरि आउँदैन ।’ संस्कृतिविद् ओम धौभडेलका अनुसार, न्यातपोल मन्दिर करिब तीन सय १९ वर्ष पुरानो हो । 

भक्तपुरका सम्पदा उपभोक्ता समितिले नै पुनर्निर्माण गर्दै आएका छन् । गत वर्ष भैरवनाथ मन्दिर पनि उपभोक्ता समितिकै नेतृत्वमा पुनर्निर्माण भएको थियो । न्यातपोलको पुनर्निर्माण लागत करिब ६५ लाख रुपैयाँ छ । श्रमदानसमेत जुटाएर सम्पदा पुनर्निर्माण गर्दा स्थानीयवासीमा अपनत्वको भावना विकास हुने न्यातपोल मन्दिर संरक्षण कार्य योजना उपभोक्ता समितिका अध्यक्ष केशव तमखू बताउँछन् ।

न्यातपोलको मर्मत–सम्भार गत कात्तिकदेखि सुरु भएको थियो । कोरोना भाइरसको प्रसार रोक्न ११ चैतमा देशव्यापी लकडाउन घोषणा भएपछि ५ वैशाखसम्म काम ठप्प रह्यो ।

यसबीचमा भएको हल्का वर्षाले पनि मन्दिरमा असर परेको देखेपछि स्थानीय बासिन्दा श्रमदानमा जुटेका हुन् । ‘यो बाध्यात्मक परिस्थितिको उपज हो,’ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भन्छन् । उनका अनुसार पुनर्निर्माण अगाडि बढाउन प्रशासनले पनि अनुमति दिएको छ ।

०५२ सालमा मर्मत गरिएका कारण ०७२ सालको भूकम्पमा यो मन्दिर ठूलो क्षतिबाट जोगिएको थियो । माथिल्ला तलामा मात्र क्षति भएको थियो । ‘असारसम्ममा मर्मत नसकिए भूकम्पले भन्दा ठूलो क्षति वर्षाले पु-याउने जोखिम देख्यौँ,’ उपभोक्ता समिति अध्यक्ष तमखू भन्छन् ।

यसबीचमा भक्तपुर नगरक्षेत्रमा पनि दुईजनामा कोरोना संक्रमण देखिइसकेको छ । त्यसका बावजुद दैनिक एउटा टोलका २० जनाका दरले श्रमदानमा आउँछन्, स्थानीयवासी ।

कम्तीमा दुई मिटरको दूरीमा बस्छन् । उपभोक्ता समितिले मास्क, पन्जा, स्यानिटाइजर र हेलमेट उपलब्ध गराएको छ । कोरोना संक्रमित देखिएका भक्तपुर–९ का टाउन प्लानिङ र भेलुखेल क्षेत्रका बासिन्दालाई भने श्रमदानमा आउन रोकिएको छ । यहीवेला हनुमानघाटस्थित पुलको मर्मतमा पनि जुटेका छन् भक्तपुरवासी ।