Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १२ सोमबार ०८:०९:००
Read Time : < 1 मिनेट
समाचार

शुभकामना साटासाट गरी आज ईद उल फित्र मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १२ सोमबार ०८:०९:००

रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी आज ईद उल फित्र (ईद) मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौब्बाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेबईको खिर र मिष्ठान्न परिकार खाने चलन छ।

यस पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले अनुराेध गरेको छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि आफ्नो कमाइको केही (२.५) प्रतिशत दान गर्ने परम्परा छ । 

यसै अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत विभिन्न राजनीतिक दलले  इद पर्वकाे अवसरमा शुभकामना दिएका छन् । नेकपाले जारी गरेको शुभकामना सन्देशमा ईद पर्वले समाजमा  प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख छ । साथै सन्देशमार्फत सबै जातीय, धार्मिक तथा वर्गीय समुदायमा कोरोना भाइरसले समान आक्रमण गरेकोले महामारीविरुद्धको संघर्षमा एकताबद्ध प्रतिरोधका लागि आग्रह गरिएको छ । 

तस्बिर : दीपेन्द्र ढुंगाना / नयाँ पत्रिका