१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ जेठ १२ सोमबार ०४:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लकडाउन : दुर्व्यसनीलाई घर नै सुधारगृह 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ जेठ १२ सोमबार ०४:५९:००

दुई महिनामा एउटा पनि लागुऔषध कारोबारी पक्राउ परेनन्

कोरोना संक्रमण रोक्न विश्वव्यापी रूपमै लागू गरिएको लकडाउनले जनजीवन अस्तव्यस्त छ । तर, यसका केही सकारात्मक पाटो पनि छन् । त्यसमध्ये एक हो, लागुऔषध कारोबारमा नियन्त्रणमा र दुर्व्यसनीहरूमा सुधार । लकडाउनले लागुऔषधको कारोबार पनि केही हदसम्म नियन्त्रण भएपछि धेरै दुव्र्यसनीलाई घर नै सुधारगृह बनेको प्रहरी अधिकारी बताउँछन् । लकडाउन दुर्व्यसनीलाई सुध्रने तथा परिवारले सुधार्ने मौका भएको प्रहरीको भनाइ छ ।  

नेपालमा दुर्व्यसनीले प्रयोग गर्ने सबैजसो लागुऔषध भारतबाट हुँदै आएको छ । सीमा बन्दका कारण लागुऔषध नआएको र लकडाउनका कारण खरिद–बिक्री पनि हुन नसकेकाले दुर्व्यसनीले लागुऔषध प्रयोग गर्न पाएका छैनन् । लामो समयसम्म लागुऔषध सेवन नगरे उनीहरू कुलतबाट मुक्त हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । लकडाउनको दुई महिनाको अवधिमा उपत्यकामा कोही पनि लागुऔषध कारोबारी पक्राउ नपरेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।  ठूला किमिसका लागुऔषध कारोबारीलाई ब्युरोले पक्राउ गर्दै आएको छ । लकडाउनमा लागुऔषधको कारोबार धेरै घटेको ब्युरोका प्रमुख एसएसपी दिलीप चौधरीको भनाइ छ । ‘नेपालमा मुख्य गरी लागुऔषध आउने भारतबाटै हो, अहिले लकडाउनका कारण कारोबार भएको छैन, सम्भावित कारोबारबारे हामीले सूचना संकलन गरिरहेका छौँ,’ उनले भने ।

९०% दुर्व्यसनी औषधिजन्य लागुऔषध प्रयोग गर्छन्

नेपालमा ९० प्रतिशत दुर्व्यसनीले औषधिजन्य लागुऔषध प्रयोग गर्छन् । डाइजेपाम, नाइट्रोजन, फेनारगन, ट्रामाडोलजस्ता लागुऔषध सिरिन्जमार्फत प्रयोग गर्दै आएको पाइन्छ । तुलनात्मक रूपमा यस्तो लागुऔषध सस्तो भएकाले यसका प्रयोगकर्ता धेरै छन् । लागुऔषध दुर्व्यसनीलाई सुधारगृह चलाउँदै आएका पूर्वएसएसपी वसन्त कुँवर नयाँ–नयाँ लागुऔषध दुर्व्यसनीका लागि लकडाउन सुध्रिने अवसर भएको बताउँछन् । ‘लागुऔषध लिन थालेको करिब एक वर्ष मात्र छ भने त्यस्ता दुव्र्यसनीहरू लकडाउनमा केही महिना सेवन नगर्दा सुध्रन सक्छन्,’ उनी भन्छन्, ‘तर वर्षाैंदेखि दुव्र्यसनमा फसेकाहरूलाई उपचार नै गर्नुपर्छ ।’ 

गृह मन्त्रालयले नेपालमा संक्रमितको संख्याबारे नयाँ सर्वेक्षण अन्तिम चरणमा पुर्‍याएको छ । जसअनुसार कडा खालको लागुऔषध प्रयोग गर्ने दुव्र्यसनीको संख्या करिब दुई लाख लाख रहेको आशंका गरिएको छ । जसमध्ये करिब चार हजार विभिन्न सुधारगृहमा छन् । लागुऔषध नपाएपछि कतिपय दुर्व्यसनी मदिरा सेवनतर्फ लागेको प्रहरीको अनुसन्धानमा देखिएको छ । ‘हामीले केही क्रोनिक खालका दुर्व्यसनीहरूमाथि निगरानी गरेका थियौँ,’ ब्युरोका एक प्रहरी अधिकारीले भने, ‘उनीहरू अहिले मदिरातर्फ लागेको पाइएको छ ।’ 

दुई महिनायता १५१ मुद्दा दर्ता 

लकडाउनको दुई महिनामा देशभरि लागुऔषधसम्बन्धी जम्मा एक सय ५१ वटा मुद्दा दर्ता भएका छन् । जबकि सामान्य अवस्थामा दैनिक करिब पाँचवटा मुद्दा हुन्थे । पछिल्लो समय धेरै घटेको प्रहरी तथ्यांक छ । प्रहरी प्रधान कार्यालयका अुनसार सबैभन्दा धेरै मुद्दा प्रदेश नम्बर २ मा ६४ वटा छन् । प्रदेश नम्बर ५ मा २८, प्रदेश नम्बर १ मा २१, बाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चार–चार तथा उपत्यकामा ६ वटा मात्र छ । सीमा क्षेत्रका जिल्लामा लुकिछिपी केही व्यक्तिले कारोबार गरिरहेका छन् ।