१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ११ आइतबार २२:३१:००
Read Time : < 1 मिनेट
समाचार

बेलहियाबाट आइतबार एक हजार नेपाली भित्रिए, ६ सय भारतीय गए, तर कसैको स्वास्थ्य परीक्षण भएन 

Read Time : < 1 मिनेट
२०७७ जेठ ११ आइतबार २२:३१:००

बेलहिया नाकामा आइतबार दिनभर चहलपहल थियो । नेपालतर्फका सुरक्षाकर्मी आफ्ना नागरिक नेपाल ल्याउन व्यस्त थिए भने भारतीय सुरक्षाकर्मी पनि नेपालको सीमामा अलपत्र परेका आफ्ना नागरिक भित्र्याउन लागेका थिए । 

प्रायः भारतबाट नेपाल आउनेको मात्रै चहलपहल हुने यस सीमानाकामा केही दिनदेखि नेपालबाट भारततर्फ जाने मजदुरहरूको संख्या पनि बढेको छ । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार पहिला नेपाली बढी आउने भएकाले भारतीय प्रहरीले आफ्ना नागरिक छिटो लैजान दबाब दिन्थे । तर, अहिले भारतीय मजदुर पनि भारततर्फ जानेको भिड हुँदा कम दबाब हुने गरेको छ । उनले भने, ‘आइतबार मात्र बेलहिया नाकाबाट ६ सयभन्दा बढी भारतीयलाई पठाएका छौँ । यस्तै एक हजारभन्दा बढी नेपालीलाई  प्रवेश गरायौँ ।’ 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्कबहादुर खत्रीले अझै पनि भारतीय क्षेत्रमा नेपाली आउने क्रम नरोकिएको बताए । उनीहरूलाई आ–आफ्नो देशमा ल्याउँदा र भारत पठाउन दुवै देशले कोरोना संक्रमण भए–नभएको परीक्षण नगरेको प्रहरीको भनाइ छ । भारतले आफ्नो नागरिक बुझ्दा सिमानामा सामान्य ज्वरो मात्र नापेर लगेको छ भने नेपालले आफ्नो नागरिक ल्याउँदा सिमानामा स्यानिटाइज गरेर स्वदेश भित्र्याएको छ । 

वैशाख मसान्तदेखि साढे ४७ सय नेपाली भित्रिए 
इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार वैशाख मसान्तदेखि आइतबार साँझसम्ममा चार हजार सात सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । फर्किने क्रम पछिल्लो केही दिन बढेको छ । अहिले दैनिक एक हजारको हाराहारीमा नेपाल आइरहेको प्रहरीको भनाइ छ । तर, लुकीछिपी कति नेपाली आए भन्ने यकिन संख्या कसैसँग छैन । रुपन्देहीको मर्चवार क्षेत्रका तीन गाउँपालिकाले आ–आफ्नै तरिकाबाट स्वदेश भित्र्याएका छन् । त्यसैगरी लुम्बिनी कर्कहवा नाकाबाट पनि रुपन्देही भित्रिएका छन् ।