१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ११ आइतबार २१:१९:००
Read Time : > 5 मिनेट
अर्थ

देशभर इन्धनको माग आधा घट्यो, डिपोहरू दिन बिराएर खुल्न थाले

Read Time : > 5 मिनेट
२०७७ जेठ ११ आइतबार २१:१९:००

कोरोना भाइरस नियन्त्रणका लागि ११ चैतयता निरन्तर लकडाउन भइरहेका कारण देशभर इन्धनको माग घटेको छ । निगमको सातवटा प्रादेशिक कार्यालय र केही डिपोको रिपोर्टअनुसार माग आधा घटेको छ । जसकारण अत्यावश्यक सेवामा सूचीकृत पेट्रोलियम पदार्थको कारोबार गर्ने डिपोहरू हप्तामा तीन दिन मात्र खुल्न थालेका छन् ।

प्रदेश १ मा भने तुलनात्मक रूपले इन्धनको माग बढी देखिएको छ । आयल निगमको प्रादेशिक कार्यालय, विराटनगरले सामान्य अवस्थामा प्रत्येक साता पेट्रोल १५ लाख लिटर र डिजेल ६० लाख लिटरसम्म वितरण गर्ने गरेको थियो । पछिल्लो समय लकडाउन खुकुलो बन्दै जाँदा सो क्षेत्रमा खपत बढेको छ । प्रदेश १ कार्यालयका प्रमुख अशोक साहका अनुसार अहिले साप्ताहिक रूपमा पेट्रोल १२ लाख लिटर र डिजेल ४५ लाख लिटर खपत भइरहेको छ ।

‘हामीले हप्तामा पाँच दिन डिपो खोलिरहेका छौँ, त्यसमध्ये दुई दिन पेट्रोल र तीन दिन डिजेल वितरण हुने गरेको छ,’ उनले भने । विराटनगर कार्यालयले प्रदेश २ को सिराहा, सप्तरी र झापाको चारआलीस्थित डिपोको इन्धन पनि वितरण गरिरहेको छ । चारआलीले झापा, इलाम, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा इन्धन वितरण गर्ने गरेको थियो । अहिले लकडाउनमा विराटनगर डिपोबाटै सो क्षेत्रमा वितरण भइरहेको शाहले बताए ।

उनका अनुसार डिजेल भारतबाट आयात गरिएको छैन । पेट्रोल भने इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट हप्तामा ६५ ट्यांकर आयात भइरहेको छ । भारतबाट आउने ट्यांकर नेपाल र भारत दुवैपट्टिको एकीकृत जाँच चौकीमा डिसइन्फेटिङ स्प्रे छरेर आउने गरेका छन् । त्यसैगरी पार्किङ क्षेत्रम अलग्गै एक दिनसम्म राखेर मात्र डिपोमा इन्धन अनलोडिङ हुने गरेको साहले बताए ।

करिब ८० ट्यांकर डिजेल प्रदेश २ कार्यालय, अमलेखगन्जबाट आयात भइरहेको छ । यहाँ आइओसीको मोतीहारी डिपोबाट पाइपलाइनमा इन्धन आउने गर्छ । इन्धन खपत कम हुँदा भण्डारणसमेत भरिएका छन् । ‘अहिले करिब पाँच लाख लिटर पेट्रोल र ६० लाख लिटर डिजेल मौज्दात छ,’ साहले भने, ‘सानो भण्डारण गृह भएकाले नअटाएर एक सय ट्यांकरमा डिजेल लोड भएर राखिएको छ । पेट्रोल बोकेका ६ वटा ट्यांकर पार्किङमा खडा गरेर राखिएको छ ।’

प्रदेश २ बाट देशभर इन्धन वितरण
बाराको अमलेखगन्जमा रहेको प्रादेशिक कार्यालयले झापादेखि नेपालगन्जसम्म डिजेल पठाउने गरेको छ । कार्यालय प्रमुख भरत रेग्मीका अनुसार पाइपलाइनबाट नियमित तेल आपूर्ति भइरहेको छ । ‘अहिले खपत कम भएको छ, त्यसैले पाइपलाइनबाट पूर्ण क्षमतामा तेल ल्याउन सकेका छैनौँ,’ उनले भने । हप्तामा चार दिन आइओसीले डिजेल पठाउने गरेको भए पनि अहिले दुई–तीन दिन मात्र चलाउन सकिएको उनले बताए ।

सो डिपोबाट दैनिक रूपमा विराटनगरमा दुई सय ट्यांकर, भैरहवामा एक सय ५० ट्यांकर, पोखरामा ३०–४० ट्यांकर र काठमाडौंमा ६०–७० ट्यांकर डिजेल वितरण भइरहेको छ । झापाको कार्यक्षेत्रमा विराटनगर कार्यालयले इन्धन वितरण भइरहेकाले चारआली डिपोमा अहिले तेल जाने गरेको छैन । खपत घटेकाले नेपालगन्जमा पनि डिजेल पुऱ्याइएको छैन ।

‘माग घटेकाले चार–पाँच दिन मात्र डिपो खोल्ने गरेका छौँ,’ रेग्मीले भने, ‘दुई दिन निगमकै विभिन्न कार्यालयमा तेल पठाउँछौँ । तीन दिन पेट्रोलपम्पलाई दिन्छौँ,’ उनले भने । तराईमा खेती सिजन भएकाले सो कार्यालयबाट पेट्रोलको माग दैनिक चार लाख लिटरसम्म पुगेको छ भने पेट्रोल करिब दुई लाख लिटर वितरण भइरहेको छ ।

वीरगन्जनजिकै रहेको यो कार्यालयमा दैनिक सयौँ ट्यांकरको आवातजावत भएपछि स्थानीयले बन्द गर्न दबाब दिएका थिए । तर, प्रहरी र प्रशासनको समन्वयमा डिपो निर्वाध सञ्चालन भइरहेको रेग्मीले बताए । सो कार्यालयले आइओसीको बरौनीबाट पेट्रोल ल्याउने गरेको छ । आइतबार ३६ ट्यांकर पेट्रोल अमलेखगन्ज आएका थिए । काठमाडौंले माग नगरेको खण्डमा थोरै  परिमाणको पेट्रोल रक्सौल डिपोबाट पनि आउने गरेको छ ।

वीरगन्ज कार्यालयले रक्सौल डिपोको समन्वयमा आयात गर्दै
निगमको वीरगन्ज कार्यालयले अहिले एक दिन बिराएर पेट्रोल, डिजेल वितरण गरिरहेको छ । कार्यालय प्रमुख रामकुमार न्यौपानेका अनुसार बिक्री आधा घटेको छ । ‘एक दिन बिराएर एक सय १३ पेट्रोल पम्पलाई एक लाख लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजेल बिक्री गर्दै आएका छौँ,’ उनले भने । रक्सौल डिपोनजिकै भएकाले सो कार्यालयले पेट्रोल, डिजेल त्यहीँबाट ल्याउने गरेको छ । अहिले रक्सौल डिपोबाट एक दिन बिराएर औसतमा एक सय ३० ट्यांकर पेट्रोल–डिजेल आयात हुने गरेको छ । 

बागमती प्रदेशमा माग न्यून
निगमको बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपो प्रमुख प्रदीप यादवका नियमित रूपमा कार्यालय खुलिरहेको छ । यहाँबाट दैनिक औसतमा एक लाख लिटर पेट्रोल र दुई लाख लिटर डिजेल वितरण भइरहेको छ । थानकोटले सामान्य अवस्थामा ६ लाख लिटर पेट्रोल र नाै लाख लिटर डिजेल वितरण गर्दै आएको थियो ।

‘माग जति आउँछ, त्यति नै दिने गरेका छौँ,’ यादवले भने, ‘डिपोबाट इन्धन वितरण गर्न कुनै समस्या छैन ।’ ट्यांकरहरूको आवतजावतले कोरोना संक्रमण फैलन सक्ने भन्दै स्थानीयले गुनासो गरिरहेका छन् । उनीहरूको गुनासो सम्बोधन गर्न दिनहुँ ट्यांकर आयात गर्न छाडेको यादवले बताए । ‘१५ दिनपछि आइतबार केही ट्यांकर मगाएर डिपोमा तेल खन्याएको छु । अहिलेसम्म मौज्दात तेल नै वितरण गरिरहेको थिएँ,’ उनले भने । यादवका अनुसार डिपोमा पेट्रोल, डिजेलको मौज्दात पर्याप्त छ ।

थानकोटमा डिपो सुधारको काम पनि तीव्र गतिमा अघि बढेको छ । यादवका अनुसार दुई सय ट्यांकर अटाउने नयाँ पार्किङ स्थल निर्माण र लोडिङ–अनलोडिङ क्षेत्रको सतह ढलान हुने क्रममा छ । 

गण्डकी प्रदेशले हप्तामा दुई दिन वितरण गर्दै
निगमको गण्डकी प्रदेश कार्यालय, पोखराले हप्तामा दुई दिन (सोमबार र बिहीबार) मात्र इन्धन वितरण गरिरहेको छ । कार्यालय प्रमुख पुस्कर कार्कीले माग धेरै घटेकाले दुई दिन मात्र कार्यालय खोलेर इन्धन वितरण गरेको बताए ।

‘यहाँ दैनिक एक लाख लिटर पेट्रोल र दुई लाख ६० हजार लिटर डिजेल खपत हुने गरेको थियो । अहिले हप्तामा दुई लाख ८० हजार लिटर पेट्रोल र १० लाख लिटर डिजेल खपतइरहेको छ,’ उनले भने । सोमबारका लागि सात ट्यांकर पेट्रोल र २६ ट्यांकर डिजेल वितरणका लागि तयारी अवस्थामा राखेको उनले बताए । मट्टीतेल भने सामान्य अवस्थामा एक ट्यांकर (२० हजार लिटर) खपत हुने गरेकोमा लकडाउन यता माग शून्य छ ।

पोखरामा आइओसीको रक्सौलबाट तेल लैजाने गरिएको छ । ‘पेट्रोल सबै रक्सौलबाट आउँछ । डिजेल ६० प्रतिशत रक्सौलबाटै आउने हो । ३० प्रतिशत अमलेखगन्जबाट पाइपको डिजेल आउने गर्छ,’ कार्यालय प्रमुख कार्कीले भने । पछिल्लो दिनमा म्याग्दी, पर्वत र बाग्लुङमा डिजेलको खपत बढेको उनले बताए । त्यहाँ जलविद्युत्गृह र बाटो निर्माणले तीव्रता पाएको छ भने खेतीका लागि सिँचाइ गर्न डिजेलको माग बढेको हो ।

पोखरा डिपोमा कुल क्षमताको पेट्रोल ९० प्रतिशत र डिजेल ९४ प्रतिशत मौज्दात छ । मट्टीतेल भने खपत नै नभएकाले ५० प्रतिशत मौज्दात गरेर राखिएको कार्कीले बताए ।

भैरहवामा बिस्तारै माग बढ्दै
निगमको ५ नम्बर प्रादेशिक कार्यालय, भैरहवामा पछिल्लो एक हप्तादेखि इन्धनको माग बढ्न थालेको छ । कलकारखानाहरू सञ्चालन हुन थालेको तथा सवारीसाधनको उपस्थिति पनि बढ्न थालेकाले माग बढेको हो । कार्यालय प्रमुख सुरज साहका अनुसार एक दिन बिराएर इन्धन वितरण भइरहेको छ । ‘हप्तामा तीन दिन इन्धन बाँड्दै छौँ । वितरण भएको दिन पेट्रोल दुई लाख ३० हजार र डिजेल १२ लाख ५० हजार लिटर जाने गरेको छ,’ साहले भने, ‘सामान्य अवस्थामा दैनिक दुई लाख लिटर पेट्रोल र नाै लाख ५० हजार लिटर डिजेल खपत हुने गरेको थियो ।’

भैरहवामा आइओसीको बेतालपुर डिपोबाट प्रत्येक दिन पेट्रोल आठ ट्यांकर र डिजेल १०–१५ ट्यांकर आयात हुने गरेको छ । भैरहवामा ९९ प्रतिशत डिजेल अमलेखगन्ज डिपोबाट जाने गरेको छ ।

नेपालगन्जबाट कर्णाली प्रदेशसम्म वितरण
नेपालगन्ज डिपोले लकडाउनका वेला दाङस्थित शाखा कार्यालय र कर्णाली प्रदेश कार्यालय, सुर्खेतको कार्य क्षेत्रमा पनि इन्धन वितरण गरिरहेको छ । नेपालगन्ज डिपो प्रमुख नवविनोद पोख्रेलका अनुसार ११ जिल्लामा अहिले तीन ट्यांकर पेट्रोल र ३० ट्यांकर डिजेल खपत भइरहेको छ । ‘सामान्य अवस्थामा सात–आठ ट्यांकर पेट्रोल र ४० ट्यांकर डिजेल खपत हुन्थ्यो,’ पोख्रेलले भने । 
माग घटेकाले हप्तामा तीन दिन (आइतबार, मंगलबार र बिहीबार) इन्धन बिक्री हुँदै आएको उनले बताए । नेपालगन्जमा आइओसीको गोण्डा डिपोबाट इन्धन आयात हुने गरेको छ । पोख्रेलका अनुसार अहिले दैनिक ५–६ ट्यांकर पेट्रोल र २५ ट्यांकर डिजेल आयात हुने गरेको छ । नेपालगन्जको डिपोमा पनि इन्धन मौज्दात पर्याप्त रहेको उनले बताए ।

डिपोमा हवाई इन्धन दुई लाख ३३ हजार लिटर, डिजेल १६ लाख ४० हजार लिटर, पेट्रोल एक लाख ८५ हजार लिटर र मट्टीतेल ८० हजार लिटर मौज्दात छ । सुर्खेतमा करिब ७० हजार लिटर हवाई इन्धन मौज्दात छ ।

धनगढीमा नियमित आपूर्ति
निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले नियमित रूपमा इन्धन वितरण गरिरहेको छ । कार्यालय प्रमुख सर्पराज शर्माका अनुसार दिन बिराएर हप्तामा तीन दिन डिपो खुल्ने गरेको छ । ‘दिन बिराएर पेट्रोल एक लाख लिटर र डिजेल चार लाख लिटर वितरण भइरहेको छ,’ शर्माले भने, ‘सामान्य अवस्थामा दैनिक एक लाख लिटर पेट्रोल र ६ लाख लिटर डिजेल खपत हुने गरेको थियो ।’
उनका अनुसार अहिले माग ५० प्रतिशत घटेको छ । सडक निर्माण कार्य भइरहेकाले मट्टीतेल हप्तामा २० हजार लिटर बिक्री हुने गरेको छ । धनगढीले आइओसीको बन्थरा डिपोबाट तेल ल्याउने गरेको छ । ‘बन्थराबाट दैनिक पाँच ट्यांकर पेट्रोल र २५ ट्यांकर डिजेल आउने गरेको छ,’ उनले भने । धनगढीमा कुल क्षमताको ९० प्रतिशत इन्धन मौज्दात रहेको शर्माले बताए ।