मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ ११ आइतबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार

सामूहिक भावनाका साथ उच्च मनोबलमा काम गर्न सशस्त्र महानिरीक्षक खनालको निर्देशन

Read Time : < 1 मिनेट
२०७७ जेठ ११ आइतबार १९:११:००

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक भावनाका साथ उच्च मनोबलमा काम गर्न निर्देशन दिएका छन् । हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न लगाइदिएपछि मातहत अधिकृतहरूलाई उनले समयसापेक्ष परिवर्तन र परिमार्जन गर्दै मुलुक र जनताको हितमा हरसमय कार्य गर्न  निर्देशन दिएका हुन् ।  

नेतृत्व तहले राष्ट्र, जनता र संगठनको हितमा कार्य गरेको भन्दै खनालले आफूले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरेँ भनेर सोच्नुपर्ने बताए । राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च राख्ने कार्यमा कमान्डरहरू थप जिम्मेवार हुनुपर्ने बताउँदै उनले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मुलुक र जनतालाई फाइदा पुग्ने उल्लेख गरे । 

प्रत्येक राष्ट्रसेवक कर्मचारीहरू इमानदार र कर्तव्यनिष्ठ भई देश र आमनागरिकको सेवा, सुरक्षा सहयोग तथा उद्धारमा अविचलित भई अहोरात्र खटिन उनको जोड थियो । 

कार्यक्रममा खनालले नेपाल सरकारबाट प्राप्त निर्देशनअनुसार दुई सय २१ वटा बोर्डर आउट पोस्ट एक वर्षभित्र स्थापना गर्ने लक्ष्यअनुरूप हालसम्म एक सय २३ ठाउँमा स्थापना भइसकेको र यसबीचमा उत्तरतर्फ दुईवटा बेर्डर आउटपोस्ट स्थापना गर्न सफल भएको जानकारीसमेत दिए ।