मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ११ आइतबार १८:०२:००
Read Time : > 1 मिनेट
समाचार

कर्णालीको बजेट अधिवेशन सुरु, जनअपेक्षाअनुसार सरकारले काम नगरेको आरोप

Read Time : > 1 मिनेट
२०७७ जेठ ११ आइतबार १८:०२:००

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको दुई महिनापछि बजेट अधिवेशन सुरु भएको हो । काेरोना संक्रमणको त्रासले देश लकडाउन भएपछि  हिउँदे अधिवेशन सूचना टाँसेर अन्त्य गरिएको थियो ।  

सांसदहरूले स्यानिटाइजर प्रयोग गरी मास्क र पन्जा लगाएका थिए । प्रदेश सभामा दूरी कायम गरी कुर्सी र माइकको व्यवस्थापन गरिएको छ । बजेट ल्याउनुअघि संसदमा सरकारले नीति तथा कार्यक्रम पेस गर्नुपर्नेछ ।

त्यस्तै सरकारले आगामी वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत गर्नेछ भने १ असारमा बजेट पेस गर्नेछ । अधिवेशनको पहिलो दिन प्रदेश सभाका सत्तारुढ दल नेकपाका नेता यामलाल कँडेल, प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही र राप्रपाकी सांसद सोशिला शाहीले धारणा राखेका छन् । 

नेकपा दलका नेता यामलाल कँडेलले प्रदेश सरकार जनअपेक्षाअनुसार चल्न नसकेको आरोप लगाएका छन् । सरकारले योजनाविना जथाभावी बजेट बाँड्नु राम्रो नभएको उनको भनाइ छ । 

कोरोना संक्रमण रोक्न कर्णालीका क्वारेन्टाइनमा सुविधाहरू थप्नुपर्ने र उपचारका लागि व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । ‘जनता आफैँले क्वारेन्टाइन बनाएर त्यसको सुरक्षा गर्न सजिलो रहेनछ,’ उनले भने, ‘क्वारेनटाइन बनाएर मात्र भएन प्रयोगमा ल्याउनुपऱ्यो  ।’ सरकारले निर्माण गरेका क्वारेन्टाइनमा को बसेका छन् ? कसका लागि बनाइएको हो ?’ कँडेलको प्रश्न थियो । 

प्रदेश सभामा प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले सरकारले जनआकांक्षाअनुरूप काम गर्न नसकेको बताए । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले प्रभावकारी योजना बनाउन नसकेको आरोप लगाए । 

देश लकडाउन भएका वेला कर्णाली सरकारमा मन्त्रीहरू हेलिकोप्टर चार्टर्ड गरी जिल्लामा गएको भन्दै शाहीले आक्रोश पोखे । ‘लकडाउन वेला मन्त्रीहरूले लाखौँ खर्चेर जिल्लामा जानुपर्ने आवश्यकता किन पऱ्यो ?’ उनको प्रश्न थियो । 

सरकारले चालू आर्थिक वर्षमा पनि अपेक्षाकृत काम गर्न नसकेर लाचारी प्रकट गरेको बताए । आर्थिक वर्ष सकिन लाग्दा पनि सरकारको विकास खर्च आठ प्रतिशत मात्र हुनु प्रदेशकै लाजमर्दो भएको उनको भनाइ छ । सरकार अनियमितता, भ्रष्टाचार र बेतिथिलाई प्रवर्द्धन गरिरहेको उनको आरोप छ । ‘सरकारले विकास होइन भ्रष्टाचार बढाइरहेको छ,’ उनले भने, ‘वर्षभरि काम गर्न नसक्ने सरकारले पछिल्लो समयमा कोरोनाको कारण देखाएर जनता र सदनमाथि घात गर्दै छ ।’ 

राप्रपाकी सोशिला शाहीले राष्ट्रियता र काेरोना महामारीसँग जुध्न सबै दलहरू एक ठाउँमा आउनुको विकल्प नरहेको बताइन् । कर्णाली सरकार गठनका २६ महिना बितिसक्दा पनि जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको उनको आरोप छ । उनले सरकारका राम्रा कामको समर्थन र गलत कामको विरोध जारी रहने बताइन् । 

नयाँ नक्सा प्रकाशनप्रति धन्यवाद 
कर्णाली प्रदेश सभामा सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेसले संघीय सरकारले लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा प्रकाशन गरेकोप्रति धन्यवाद ज्ञापन गरेका छन् । आइतबारदेखि सुरु भएको कर्णाली प्रदेश सभा बैठकमा दलीय अधारमा धारणा राख्दै सत्तारुढ नेकपाका नेता यामलाल कँडेल र विपक्षी नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले नयाँ नक्सा प्रकाशनले भारतले गरेको अतिक्रमित भूमि फिर्ता ल्याउन सहज हुने बताए ।