१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ११ आइतबार १७:०८:००
Read Time : > 1 मिनेट
समाचार

कमला बाँध मर्मत नहुँदा सिराहाका दर्जन गाउँ बाढीको उच्च जोखिममा

Read Time : > 1 मिनेट
२०७७ जेठ ११ आइतबार १७:०८:००

गत वर्षको २८ असारमा कमला नदीमा आएको बाढीले सिराहा नगरपालिका–१७ पर्टेवाका दलित मुसहर समुदायकी विमलादेवी सदाको घर बगायो । घर बगाएपछि उनी आफ्ना सन्तानसहित छिमेकीको पक्की घरमा शरण लिन पुगिन् । त्यहाँ पाँच दिन बसेपछि बाढी केही कम हुँदै गयो र उनी फेरि घर बनाउन जुटिन् ।

सोही स्थानकी सन्तोलिया सदा पनि बाढीबाट विस्थापित भएर आश्रय लिन आफन्तको घर पुगिन् । बाढी कम भएपछि बालबालिकासहित गाउँ फर्किएर राहतमा पाएको त्रिपालको छानो हालेर ओत लाग्ने ठाउँ बनाइन् ।

गत वर्षको बाढी ठाउँ–ठाउँमा बाँध भत्काएर बस्तीमा पस्दा विमलादेवी र सन्तोलिया सदासहित सयौँ परिवार विस्थापित भए । जिल्लामा बाढीका कारण आठजनाको ज्यान गयो । बाढी प्रभावितले राहतमा केही चामल र त्रिपाल पाए ।

कमला नदीको पूर्वी बाँधसँगै जोडिएर रहेको पर्टेवा, मानपुर, रमौल, बसपिट्टा, सारस्वर, चतरी, इटारी प्रसाही, चिकना भोक्राहा, मरेवालगायतका गाउँ बाढीको उच्च जोखिममा छन् । जसका कारण वर्षा सुरु भएपछि उनीहरू सधैँ कुनै पनि वेला गाउँ डुबानमा पर्न सक्ने भयमा बस्न बाध्य छन् ।

बाढी रोक्न तत्कालका लागि बोरामा बालुवा भरेर राखियो, तर त्यसपछिको करिब ११ महिनाको अवधिमा पनि मर्मत हुन सकेको छैन । गत चैतदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण जिल्लाका अधिकांश निर्माण कार्य ठप्प भएका थिए । अहिले अन्य विकास निर्माण कार्य बिस्तारै सुचारु भए पनि कमला नदीको बाँध मर्मत कार्य भने सुरु हुन सकेको छैन ।

समयमै बाँध मर्मत नहुँदा यस वर्षको वर्षामा पनि बाढीले घरबारविहीन हुनुपर्ने अवस्था आउने सक्ने भय रहेको बसपिट्टाका दिनेश यादवले बताए । सिराहा नगरपालिका–१७ पर्टेवाका रामआशिष यादवले पनि यो वर्ष मनसुन सुरु हुनुभन्दा अगाडिबाटै वर्षा भइरहँदा बाढीको त्रास अझ बढेको बताए । विपन्नको पुनर्स्थापनामा सहयोग नभए पनि बाँध मर्मतमा भने तत्काल ध्यान दिन उनीहरूको माग छ ।

निरीक्षण गर्नेको लर्को, तर आश्वासन मात्र
कमला बाढीले पुऱ्याएको क्षतिको निरीक्षण गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रतिनिधिसभाका राज्यव्यवस्था समितिको टोली, संसद्को विकास समितिका सभापति कल्याणी ढुंगाना नेतृत्वको टोली आएको थियो । त्यस्तै पछिल्लोपटक भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले पनि कमला पुल र बाढीले डुबान हुने क्षेत्रको निरीक्षण गरेका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिसिल्नाले त जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमै राहत, पुनर्स्थापना र बाँध मर्मतमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै निरीक्षणमा आएका अन्यले पनि आ–आफ्नोतर्फबाट सक्दो पहल गर्ने आश्वासन दिएका थिए । तर, राहत र पुनर्स्थापनाको त कुरै छाडौँ बाँध मर्मतको काम पनि हुन सकेको छैन ।