गाउँलेको कुटाइबाट एकको मृत्यु, ६ बेपत्ता
गएराति (शनिबार राति) रुकुम पश्चिम चौरजहारी नगरपालिका– ८ सोतीमा गाउँलेको कुटाइबाट भेरी नगरपालिका– ४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।
नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका डिएपी किशोर श्रेष्ठले जानकारी दिए ।
घटनामा संलग्न भएको आरोपमा १२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।
नवराज र सोतीकी सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो ।
सुष्माकै आग्रहमा नवराजले १९ जना युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।
युवाहरू आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँलेले युवाहरूलाई कुटपिट गर्दा नवराजको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
गाउँलेहरूले लखेट्दा अन्य ६ जना बेपत्ता रहेको उनले बताए ।
सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।
उजुरीपछि दुवै समूहबीचमा छलफलसमेत भएको थियो ।