मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ११ आइतबार १०:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

संविधान संशोधनमा जसपाले खोज्यो कांग्रेसको साथ 

Read Time : > 1 मिनेट
२०७७ जेठ ११ आइतबार १०:४३:००

नयाँ नक्सामा समेटिएका लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ भूगोललाई संविधानको अंग बनाउने गरी सरकारले संविधान संशोधनको तयारी गरेपछि जनता समाजवादी पार्टीले आफ्ना पुरानो मुद्दालाई पुनः सतहमा ल्याएको छ । नयाँ भूगोल समेटेर संविधान संशोधन गर्ने तयारीसँगै जनता पार्टीले नक्सा र संशोधनको आफ्नो मुद्दालाई प्याकेजमै टुंग्याउने गरी संशोधन गर्नुपर्ने भन्दै कांग्रेससँग छलफल गरेको छ ।

संविधान संशोधन आफूहरूको पुरानो मुद्दा भएको भन्दै जनता पार्टीका नेता महेन्द्र राय यादवले प्याकेजमा नै संविधान संशोधन गर्नुपर्ने गरी कांग्रेससँग छलफल गरेको जानकारी दिए । ‘हामीले पहिले संविधान संशोधन माग गरेअनुसार मतदान भए पनि एमालेले मत नदिँदा हाम्रो प्रस्ताव अस्वीकृत हुन पुगेको थियो,’ यादवले नयाँ पत्रिकासँग भने, ‘अहिले सरकारले नक्सा बनाएर संविधान संशोधन गर्न खोजेको छ । हाम्रो पनि पुरानो मुद्दा छ । सबै विषय प्याकेजमा नै गरौँ, यसमा सबैलाई सहज हुन्छ भन्ने मत हाम्रो हो । यसैले कांग्रेससँग छलफलमा जुटेका हौँ ।’ 

संविधान संशोधन गर्नका लागि संसद्मा नेकपाको मात्रै दुईतिहाइ पुग्दैन । कांग्रेस, तत्कालीन राजपा र संघीय समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टीमध्ये एक दलको समर्थन आवश्यक पर्छ । यसकारण कांग्रेसलाई संशोधनको मुद्दामा मनाउन सकिए आफ्ना संशोधनका केही मुद्दामा संशोधन हुन सक्ने बुझाइ पनि मधेसकेन्द्रित दलहरूमा देखिन्छ । 

जनता पार्टीका नेता केशव झा संशोधन आफूहरूका लागि प्रतिष्ठाको विषय बनेको भन्दै यसपटक पुनः प्रयास गरिएको बताउँछन् । ‘संशोधनको विषय संसद्मा अस्वीकृत भए पनि मुद्दा थाती छ । पहिलेदेखिको विषय भएकाले अहिले गर्दा अलिकति बल पुग्छ भनेर हामी आशावादी छौँ,’ झा भन्छन्, ‘यसअघि संशोधनको कुरा गर्दा अरू विषय पनि छन्, अरूसँगै एकैचोटि गरौँ भनेर प्रधानमन्त्रीले भन्दै आउनुभएको थियो । त्यसैले अहिले एउटा मात्र विषयमा संशोधन गर्नेभन्दा हाम्रो चासोलाई पनि सम्बोधन गरौँ भनेका हौँ ।’ गत निर्वाचन र त्योभन्दा अगाडिदेखि नै संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखेकाले जनतामा जवाफ दिन पनि संशोधनलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएका छन् । 

संविधान संशोधनमा सरकार अघि बढेसँगै नयाँ दल जनता समाजवादीका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, राजेन्द्र महतो, महेन्द्र राय यादव र अनिल झा कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेका थिए । देउवाले आइतबार पदाधिकारी बैठक बसेर संविधान संशोधनको विषयमा थप छलफल गर्ने आश्वासन दिएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सरकारले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि कांग्रेसले औपचारिक धारणा बाहिर ल्याएको छैन । आइतबार हुने बैठकमा यो विषयमा कांग्रेसले धारणा बनाउने तयारी गरेको छ । सरकारले सार्वजनिक गरेको नयाँ नक्साबारे कांंग्रेस र जनता पार्टीले संस्थागत धारणा बाहिर ल्याएका छैनन् ।