जलविद्युतको ‘हब’ मानिएको लमजुङका निर्माणाधीन जलविद्युत् आयोजनाहरूको काम ठप्प भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सबैजसो आयोजनामा निर्माण सामग्री अभाव भएको छ । निर्माण सामग्री अभाव र कामदारहरू नहुँदा निर्माण कार्य रोकिएको प्रवर्द्धकहरूले बताएका छन् । सिमेन्ट, बालुवा, छड अन्य जिल्लाबाट ल्याउनुपर्ने र आयोजनामा जडान हुने उपकरण भारत तथा चीनबाट ल्याउनुपर्नेमा ढुवानी हुन नसक्दा आयोजनाको काम रोकिएको हो ।
मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडा र ७ भुलभुले भएर बग्ने ङादीखोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकिएको छ । आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भने, ‘तर, लकडाउनपछि निर्माण सामग्री अभावका कारण आयोजनाको काम अघि बढेकोे छैन ।’
दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाका सञ्चालक अर्जुन गौतमले हेडवर्क्सको काम सुरु गरिए पनि निर्माण सामग्री अभावले रोकिएको बताए । ‘आयोजनाको ७० प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘तर, लकडाउनले आयोजनाको काम प्रभावित भएसँगै निर्माण कार्य एक वर्ष पछाडि धकेलिने देखिएको छ ।’ असारपछि खोलामा पानीको सतह बढ्ने भएकाले हेडवर्क्सको काम अब मंसिर–पुसमा मात्र गर्न सकिने उनले बताए ।
दोर्दीखोलामै निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । लकडाउनकै अवधिमा बाँधको सिभिल संरचनाको काम सकिए पनि पावरहाउस र प्रसारण लाइनको काम भने अगाडि बढ्न नसकेको सञ्चालक राजेन्द्र वस्तीले बताए । ०७६ चैत ३० बाट विद्युत् उत्पादन गर्ने योजना रहे पनि निर्माण सामग्री अभावले आयोजना पूरा हुन नसकेको उनले बताए । तत्काल सामान ढुवानी गर्न सकिए असारसम्ममा निर्माण सकिने उनको भनाइ छ ।
दोर्दीखोलामै निर्माणाधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको काम पनि लकडाउनका कारण रोकिएको छ । आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालका अनुसार असार मसान्तसम्ममा आयोजनाको निर्माण सक्ने योजना रहे पनि लकडाउनले आयोजनाको काम प्रभावित भएको हो । यी मुख्य आयोजनासँगै जिल्लामा निर्माणाधीन अन्य आयोजना पनि लकडाउनका कारण निर्माण सामग्री र कामदार अभावका कारण ठप्प छन् ।