१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ जेठ ११ आइतबार ०७:१४:००
Read Time : > 2 मिनेट
नयाँCity

व्यस्त एम्बुलेन्सचालक

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ जेठ ११ आइतबार ०७:१४:००

वीर अस्पतालका एम्बुलेन्स इन्चार्ज राजु महर्जन लकडाउनयता बेफुर्सदिला छन् । सामाजिक जीवनका अरू धेरै क्षेत्र फुर्सदमा रहँदा एम्बुलेन्सचालकहरूको दैनिकी भने अति व्यस्त बनेको छ । लकडाउनका कारण बस, ट्याक्सीलगायत सार्वजनिक सवारीसाधन चलेका छैनन् । सामान्य बिरामीले पनि अस्पताल पुग्न एम्बुलेन्स बोलाउनुको विकल्प छैन । ‘त्यसैले, हामीलाई आराम गर्ने फुर्सद छैन,’ महर्जन भन्छन् ।

वीर अस्पतालका एम्बुलेन्सचालकहरूले बिरामी मात्र होइन, अस्पतालका कर्मचारीलाई पनि घर पुर्‍याउनुपर्छ । त्यसैले, अस्पतालले एम्बुलेन्सचालकहरूको ड्युटीलाई तीन सिफ्टमा विभाजन गरेको छ । बिहान आठदेखि दिउँसो तीन बजे, तीन बजेदेखि मध्यरात र साँझ सातदेखि बिहान सात बजेसम्म । तीनवटै सिफ्टमा तीन–तीनजना चालक छन् ।

सिन्धुपाल्चोक चौताराका सन्तोष श्रेष्ठ एक स्थानीय पोलिक्लिनिकका एक मात्र एम्बुलेन्सचालक हुन् । पालो दिने कोही नभएकाले उनी दिनरात व्यस्त छन् । उनका अनुसार प्रसुती, झाडापखाला, हातखुट्टा भाँचिएको, ज्वरो आएकोजस्ता बिरामी बढी छन् अहिले । सामान्य बिरामीलाई त चौतारासम्म पु¥याए पुग्छ । गम्भीर बिरामीलाई भने धुलिखेल तथा काठमाडौं त्रिवि शिक्षण र वीर अस्पतालसम्म पुर्‍याउनुपर्छ उनले ।

समाजका धेरै क्षेत्र फुर्सदमा रहँदा एम्बुलेन्सचालकहरूको दैनिकी भने अति व्यस्त बनेको छ । लकडाउनका कारण सार्वजनिक सवारीसाधन नचलेकाले सामान्य बिरामीले पनि अस्पताल पुग्न एम्बुलेन्स नै प्रयोग गरिरहेका छन् ।

गुल्मी सदरमुकाम कुश्माका एम्बुलेन्सचालक यज्ञकुमार ज्ञवालीलाई जिल्लाका एक युवकको कोरोना संक्रमणबाट भएको मृत्युले केही समय विचलित बनायो । कारण– उनी ती युवकको गाउँसम्म यसबीचमा धेरैपटक आउजाउ गरेका थिए । तर, सुरक्षाका पर्याप्त उपाय अपनाएकाले उनी ढुक्क बने । ‘अहिले भिडियो एक्सरे मात्रा गर्नुपर्ने र हिँड्न सक्ने बिरामीलाई पनि सेवा दिनु परिरहेको छ,’ उनी भन्छन् ।

संयुक्त एम्बुलेन्स संघ नेपाल, गुल्मीमा आबद्ध उनी अहिले तीन–चार दिनमा एकपटक घर पुग्न पाउँछन् । आफ्नो सुरक्षाका लागि मास्क, स्यानिटाइजरलगायत सामग्रीको व्यवस्थापन आफैँले गर्ने गरेका छन् । एक महिनायता संघले एम्बुलेन्सहरूलाई डिस्इन्फेक्ट गर्दै आएको छ । चालक बस्ने भागलाई पार्टेसन पनि गरेको छ । ‘त्यसैले हामी बिरामीको प्रत्यक्ष सम्पर्कमा रहँदैनौँ,’ ज्ञवाली भन्छन् ।

भक्तपुर अस्पतालले कोभिड–१९ को लक्षण देखिएका बिरामीका लागि छु्ट्टै एम्बुलेन्सचालक तैनाथ गरेको छ । अस्पतालका एम्बुलेन्स इन्चार्ज सीताराम कोजूले अहिलेको जस्तो परिस्थिति जीवनमै भोगेका थिएनन् । उनी कोभिड–१९ का बिरामीका लागि तैनाथ छैनन् । तर, मिर्गौला, मुटुलगायत दीर्घरोग तथा गर्भवतीलाई पनि अस्पताल पुर्‍याउन उनलाई भ्याइनभ्याइ छ । यतिवेलाको व्यस्ततालाई उनले कर्तव्यसँगै पुण्य पनि ठानेका छन् ।

नेपाल एम्बुलेन्स सेवाले काठमाडौं उपत्यकामा कोभिड–१९ कै बिरामीलाई लक्षित गरेर पाँचवटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । एम्बुलेन्स कर्मचारीलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता एम्बुलेन्सचालकहरू घर जान पाएका छैनन् । संक्रमितको सम्पर्कमा आएर काम गनुपर्ने भएकाले एम्बुलेन्स कर्मचारीलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको उक्त संस्थाका इमर्जेन्सी मेडिकल टेक्निसियन दीपकराज पाण्डे बताउँछन् । उक्त संस्थाले चालकसँगै हरेक एम्बुलेन्समा मेडिकल टेक्निसियन पनि खटाउने गरेको छ । त्यसैले, मेडिकल टेक्निसियनहरू पनि क्वारेन्टाइनमै बसेर काम गरिरहेका छन् ।

‘दिनरात खटिँदा पनि काम भ्याउन गाह्रो पर्छ । तर, परिवार र समाजको साथ भएकाले मनोबल उच्च छ।

बिरामी लिन जाँदा र पुर्‍याएर आएपछि गाडीलाई अलग्गै राखेर डिस्इन्फेक्ट गर्छौँ,’ उनी भन्छन्, ‘बिरामीको सम्पर्कमा जाँदा पिपिई लगाउँछौँ, फर्केपछि त्यसलाई सावधानीपूर्वक डिस्पोज गर्छौँ ।’ संस्थाले कोभिड–१९ का बिरामीको सम्पर्कमा जाने चालक र प्राविधिक कर्मचारीलाई डिल्लीबजारस्थित पद्मकन्या विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राख्दै आएको छ ।

सोही संस्थाका एम्बुलेन्सचालक हुन्, विकास राउत । उनको व्यस्तता यति बढेको छ कि बिरामीलाई घर–अस्पताल ओहोरदोहोर गराउँदा गराउँदै कहिलेकाहीँ त दिनभर खाना खान पनि भ्याउँदैनन् । ‘दिनरात खटिँदा पनि काम भ्याउन गाह्रो पर्छ,’ उनी भन्छन्, ‘बाहिर खाना खान रेस्टुराँहरू बन्द छन्, घर जान सकिँदैन । चाउचाउ उमालेर खाँदै पनि दौडिनुपर्छ ।’

पिपिई सकिएको समयमा मास्क र पन्जाकै भरमा पनि बिरामीलाई अस्पताल पु¥याउनुपर्दा भने उनलाई अलि जोखिमपूर्ण लाग्छ । भन्छन्, ‘तर, परिवार र समाजको साथ भएकाले मनोबल उच्च छ ।’