मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
केदार दाहाल काठमाडाैं
२०७७ जेठ ११ आइतबार ०४:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

राजधानीमा कोभिड उपचार गर्ने ६ अस्पताल, तर भर्ना नपाएर संक्रमित सात घन्टा पाटन अस्पतालको पार्किङमा

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७७ जेठ ११ आइतबार ०४:४३:००

सरकारले कोभिड क्लिनिक भनेर तोकेका अस्पताल मात्रै काठमाडौं उपत्यकामा ६ वटा छन् । तर, शनिबार एक संक्रमितले अस्पतालमा भर्ना नपाएर सात घन्टा एम्बुलेन्समै बिताउनुपर्‍यो । दिउँसो ३ बजे एम्बुलेन्समा पाटन अस्पताल पुगेका ती संक्रमितलाई राति १० बजे बल्ल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको छ । 

  • पाटन अस्पतालको पार्किङमा बिरामीसहित कुरिरहेको एम्बुलेन्स

सर्लाही घर भएका ती संक्रमित एक साताअघि भारतको महाराष्ट्रबाट फर्किएका थिए । नेपाल प्रवेश गरेपछि टेम्पोमा घर जानेवेला सप्तरीमा उनी दुर्घटनामा परे र खुट्टा भाँचियो । उपचारका लागि काठमाडौं आएका उनी कुलेश्वरस्थित राजधानी अस्पतालमा भर्ना भएका थिए । शल्यक्रिया गर्नुअघि अस्पतालले गरेको स्वास्थ्य जाँचमा उनमा कोरोना पोजेटिभ देखियो । त्यसपछि राजधानी अस्पतालले उनको शल्यक्रिया नगरी शनिबार दिउँसो पाटन अस्पताल रेफर गरेको थियो । 

एम्बुलेन्समा पाटन पुगेका उनीसँगै दुईजना कुरुवा पनि थिए । अस्पताल प्रशासनले बेड खाली नभएको भन्दै बाहिरै कुर्न आग्रह गरेपछि बिरामी सात घन्टा अस्पतालको पार्किङमा एम्बुलेन्सभित्र बस्न बाध्य भए । राति १० बजे मात्रै पाटन अस्पतालले बिरामीलाई केएमसी अस्पतालमा रेफर गर्‍यो । 

सरकारले काठमाडौं उपत्यकामा कोरोनाको उपचारका लागि पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र, सशस्त्र प्रहरी अस्पताल, काठमाडौं मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । यी अस्पतालमा एक सय ८७ आइसोलेसन बेड छन् । 

राजधानी अस्पतालले समन्वय नगरी संक्रमितलाई पठाउँदा घन्टौँ एम्बुलेन्समै बस्नुपरेको स्पष्टीकरण पाटन अस्पतालले दिएको छ । ‘उताबाट समन्वय नै नगरी पठायो । हामीकहाँ आइसोलेसन बेड ६ वटा मात्रै छन्, ती सबै भरिएका कारण संक्रमितलाई तत्काल भर्ना गर्न सकिएन,’ अस्पतालका निर्देशक डा. विष्णु शर्माले भने । 

शर्माका अनुसार त्यसबीचमा बिरामीलाई राख्न अन्य अस्पतालसँग सम्पर्क गरिएको थियो । तर, सम्पर्क गरिएका अधिकांश अस्पतालले लिन आनाकानी गरे । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले ‘हड्डी फ्याक्चर केस’ नलिने बतायो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले शल्यक्रियासम्बन्धी सेवा नभएकाले भर्ना गर्न नसकिने जानकारी गरायो । 

सरकारले इन्जुरी भएका कोरोना संक्रमित बिरामीका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । पाटन अस्पतालले त्यहाँ पनि सम्पर्क गरेको थियो । तर, शिक्षण अस्पतालले भर्नाका लागि आवश्यक तयारी नभएको भन्दै लिन नमानेको पाटन अस्पताल स्रोतले बतायो । 

केही सीप नलागेपछि पाटन अस्पतालले एम्बुलेन्समै कुरिरहेका संक्रमितबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको थियो । मन्त्रालयको पहलमा राति १० बजे उनलाई केएमसीमा पठाइयो । मन्त्रालयले बनाएको इन्सिडेन्ट कमान्ड कन्ट्रोल (आइसिएस) संयोजक डा. गुणराज लोहनीले संक्रमितलाई केएमसी पठाइएको बताए । कलेजकी प्रिन्सिपल डा. चन्दा कार्कीले पनि मन्त्रालयले सम्पर्क गरेर कोरोना संक्रमित बिरामी पठाएको बताइन् । 

दुई कुरुवा पनि सात घन्टा एम्बुलेन्समै
संक्रमितसँगै दुई कुरुवा पनि सात घन्टासम्म एम्बुलेन्समै बस्न बाध्य भएका छन् । अस्पतालको लापरबाहीले उनीहरू पनि जोखिममा परेको एम्बुलेन्सचालकले बताए । ‘मैले त पिपिई लगाएको छु, खोल्न मिल्दैन । पानीसमेत नखाई बसेको छु, तर कुरुवाहरू मास्क पनि पुरानो देखिने लगाएर बस्नुभएको थियो,’ उनले भने, ‘अहिले थोरै संक्रमित देखिएका वेला त अस्पतालहरूको हालत यस्तो छ भने भोलि केही हजार संक्रमित देखिँदा के हुने हो ?’ एम्बुलेन्सचाकलले भने ।