मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १० शनिबार १६:५९:००
Read Time : < 1 मिनेट
समाचार

मुटुको उपचार गर्न गएकी महिलामा काेराेना संक्रमण

डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित ६६ जनाको स्वाब संकलन

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार १६:५९:००

हेटौँडा उपमहानगरपालिका–४ की ५४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि ६६ जनाको स्वाब संकलन गरिएको छ । ६ दिनअघि हेटौँडा अस्पतालमा मुटुको उपचारका लागि पुगेकी ती महिलामा शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारमा संलग्न चिकित्सक, नर्स र अस्पतालमा कार्यरत कर्मचारी स्वास्थ्यकर्मीलगायतको स्वाब संकलन गरिएको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पतालले हालसम्म एक सय ५० स्वास्थ्यकर्मी कर्मचारीमध्ये ६६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाएको छ । बाँकीको पनि स्वाब संकलन गरिने भएको छ । स्वाब संकलनसँगै संक्रमितको नियमित सम्पर्कमा रहेका २० जना चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको कोरोना युनिटका प्रमुख डा.हरि खड्काले जानकारी दिए । 

हेटौँडा अस्पतालमा संक्रमित महिलाको मुटुसम्बन्धी उपचार सम्भव नभएपछि उनलाई काठमाडौंस्थित शिक्षण अस्पताल रिफर गरिएको थियो । आफ्नो परिवारसहित काठमाडौंमा उपचार गराइरहेकी संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । काठमाडौंमा उनको उपचारमा संलग्न चिकित्सक, सम्पर्कमा रहेका तथा घरपरिवारका व्यक्तिको पिसिआर परीक्षण गर्ने तयारी गरिएको छ ।

मन्त्रालयले गलत ठेगाना उल्लेख गर्दा त्रास

शुक्रबार साँझ ८ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संक्रमित महिलाको ठेगाना हेटौँडा–३ उल्लेख गरिएको थियो । मन्त्रालयले उल्लेख गरेको ठेगानाअनुसार हेटौँडा–३ पूर्व–पश्चिम राजमार्गअन्तर्गत बसामाडी क्षेत्र पर्छ । तर, उनको निवास हेटौँडा–४ हुप्रचौरआसपास हो ।

मन्त्रालयले गलत ठेगाना उल्लेख गर्दा हेटौँडा–३ का बासिन्दा त्रसित भएका थिए । शनिबार बिहान संक्रमित महिलाको वास्तविक ठेगाना पत्ता लागेको थियो । मन्त्रालयले नै गलत ठेगाना उल्लेख गरेका कारण कन्ट्याक्ट ट्रेसिङमा समेत अन्योल भएको स्वास्थ्यकर्मीको भनाइ छ । यसअघि पनि मन्त्रालयले पर्सानिवासी संक्रमितको ठेगाना मकवानपुर उल्लेख गर्दा जिल्लामा अन्योल सिर्जना भएको थियो ।