१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १० शनिबार १५:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नयाँ नक्सा उपहार लिएर भिआइपी निवास पुगिन् मन्त्री अर्याल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १० शनिबार १५:१५:००

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेताहरूको निवासमै पुगेर लिम्पियाधुरासम्मको नेपालको अद्यावधिक नयाँ नक्सा उपहार दिएकी छिन् ।

मन्त्रालयले तयार पारेको फ्रेममा राखिएको नक्सा उपहार प्रदान गर्न शनिबार मन्त्री अर्याल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालयका नेताहरूको निवास पुगेकी थिइन् ।

त्यस्तै, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी  श्रेष्ठ र महासचिव विष्णु पौडेललाई पनि शनिबार निवासमै पुगरे मन्त्री अर्यालले नक्सा उपहार दिएको उनका स्वकीय सचिव बुद्ध घर्तीले जानकारी दिए । 

नयाँ नक्सा उपहारस्वरूप बाँड्न मन्त्री अर्यालसँगै मन्त्रालय र नापी विभागका उच्च अधिकारीहरूसमेत नेकपाका नेताहरूको निवास पुगेका थिए ।

त्यस्तै, मन्त्री अर्यालले शुक्रबार राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसहित प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि नक्सा हस्तान्तरण गरेकी थिइन् ।

त्यस्तै, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई समेत नयाँ नक्सा हस्तान्तरण गरिएको थियो । 

गत ५ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो । 

मन्त्रिपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रूपमा नक्सा सार्वजनिक गरेको थियो । 

त्यही नक्सा शुक्रबार राजपत्रमा समेत प्रकाशित भइसकेको छ । 

सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयले निसान छाप सच्याउनका लागि संघीय संसदमा शुक्रबारै संविधान संशोधन प्रस्तावसमेत दर्ता गराएको छ । 

‘सबै ठाउँमा पुरानो नक्सा विस्थापित भइसकेको छ, अब सबैतिर नयाँ नक्सा राख्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले उहाँले पार्टी नेताहरूलाई निवासमै भेटेर नयाँ नक्सा उपहार दिनुभएको हो,’ मन्त्री अर्यालका स्वकीय सचिव बुद्ध घर्तीले भने ।