मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १० शनिबार १४:३७:००
Read Time : > 1 मिनेट
समाचार

बीस थान भरुवा बन्दुक बरामद

Read Time : > 1 मिनेट
२०७७ जेठ १० शनिबार १४:३७:००

डोल्पाको शे–फोक्सुन्डाे निकुञ्जको गस्ती टोलीले बीस थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामत गरेको छ ।

निकुञ्ज क्षेत्रभित्र हुने अवैध चोरी सिकारी रोक्न अप्रेसन नै चलाएर हातहतियार खोजी गर्न सुरु गरेपछि बीस थान भरुवा बन्दुक, एक थान नाल र तीन थान घोरलको छाला बेवारिसे रूपमा फालिएको अवस्थामा बरामद गरिएको हो ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने रुम, रसी र ठुलीभेरी नगरपालिकामा पर्ने परिला र रहबाट बीस थान भरुवा बन्दुक, एक थान नालसहित तीन थान घोरलको छाला बरामद गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगार्डमा राखिएको छ ।

निकुञ्जले पटकपटक चोरी सिकारीमा प्रयोग हुने भरुवा बन्दुकलगायतका हातहतियार बुझाउन विभिन्न माध्यमबाट सूचना जारी गर्दै आएपछि स्थानीयले पक्राउ पर्ने डरले घरदेखि टाढा लगेर बेवारिसे रूपमा बन्दुक फालेको हुन सक्ने अनुमान गरिएको छ । 

निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरूसहित भएर दश दिनसम्म अप्रेसन चलाएर हातहतियार खोजी सुरु गरिएको थियो ।

बेवारिसे फेला परेका भरुवा बन्दुक कसका हुन् भन्ने विषयमा अनुन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

धमाधम हतियार फेला पर्नुले निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बस्ने बासिन्दा नै चोरी सिकारीमा लाग्ने गरेको देखिएको शे–फोक्सुन्डाे निकुञ्जले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोवास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हातहतियार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिए ।

निकुञ्ज क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुहरूलगायत वन पैदावारको चोरी तस्करी रोक्नका लागि पछिल्लो समयमा निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मका सेना र निकुञ्जका कर्मचारीले गस्तीको मात्रा बढाएका छन् । 

देशकै गहनाको रूपमा रहेको शे–फोक्सुन्डाे निकुञ्जमा हुने चोरी तस्करी रोक्न सेनालाई नियमित गस्ती खटाइरहेको गुल्मपति लेखनाथ कटुवालले जानकारी दिए ।

दश दिनको अवधिमा ठूलो परिमाणमा भरुवा बन्दुक र संरक्षित वन्यजन्तुको छाला फेला पार्नु निकुञ्जका लागि ठूलो सफलताको कुरा भएको कटुवालको दाबी छ । 

शे–फोक्सुन्डाे निकुञ्जमा दुर्लभ वन्यजन्तु हिँउचितुवासमेत पाइने गर्दछ ।