१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
श्रवण थापा सर्लाही
२०७७ जेठ १० शनिबार १४:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भारतबाट फर्किएका १३ जनामा काेराेना संक्रमण पुष्टि, सर्लाहीकाे एउटै टाेलका १५ संक्रमित

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ जेठ १० शनिबार १४:२४:००

सर्लाहीमा थप १३ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ। शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको ३२ जना नयाँ संक्रमितको विवरणमा सर्लाहीका मात्रै १३ जना छन्। 

उनीहरू गोडैता र कविलासीका भएका विज्ञप्तिमा जनाइएको छ। उनीहरू सबै दुई साताको बीचमा भारतबाट फर्किएका नागरिक भएको स्थानीय प्रशासनले जनाएको छ।

शनिबार पुष्टि भएकासँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ। शनिबार पुष्टि भएका १३ मध्ये १२ जनाको गोडैता नगरपालिका र एकजनाको कविलासी नगरपालिका ठेगाना उल्लेख भएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।
 
जिसीका अनुसार कविलासी नगरपालिकाका एक पुरुष र गोडैता नगरपालिकाका १२ गरी जम्मा १३ जना संक्रमित फेला परेका हुन्। उनीहरू सबै विगत दुई साताको बीचमा भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू रहेकाे प्रजिअ जिसीले बताए।
 
गोडैताका सबै संक्रमितको स्वाब नगरपालिकामै संकलन गरेर काठमाडौं पठाइएको थियो। कविलासीका एकजनाको स्वाब भने काठमाडौंबाटै संकलन गरिएको हो। 

भारतबाट नेपाल आउँदै गरेका उनको टेम्पो दुर्घटनामा परेर खुट्टा भाँचिएको थियो। खुट्टा भाँचिएपछि उनलाई क्वारेन्टाइनमा नराखी सीमा क्षेत्रबाटै उपचारका लागि काठमाडौं लगिएको थियो।
 
शनिबार संक्रमण पुष्टि भएकाहरू बम्बई, बेंग्लाेर, गुजरात, हरियाणालगायत स्थानबाट लुकीछिपी नेपाल आएका पाइएको गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले जानकारी दिए। 

‘अहिलेसम्म भारतबाट लुकीछिपी आएका एक सय ६४ जनालाई नगरपालिकाको क्वारेन्टाइनमा राखेका छौँ,’ उनले भने, ‘अझै सीमा क्षेत्रमा डेढ–दुई सय नेपाली स्वदेश छिर्ने तयारीमा छन्। तीमध्ये धेरैमा कोरोना संक्रमण देखिने सम्भावना छ।’
 
सर्लाहीमा एकै गाउँका १५ जनामा संक्रमण देखिएको छ। गोडैता नगरपालिकाकाे एउटै गाउँका १५ जना संक्रमित भएका स्थानीय प्रशासनले जनाएको छ। शुक्रबारको परीक्षण रिपाेर्टमा नाैजना संक्रमित थिए। शनिबार सोही गाउँका ६ जनामा संक्रमण पुष्टि भएको हो।
 
शनिबार कोरोना संक्रमण पुष्टि भएका सबै क्वारेन्टाइनमा बसेका छन्। उनीहरू भारतबाट घर नगएकाले संक्रमण फैलिने डर नभएको स्थानीय प्रशासनको दाबी छ। 

शुक्रबार संक्रमण पुष्टि भएका १५ जनालाई प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। शनिबार फेला परेका १३ जनालाई कहाँ व्यवस्थापन गर्ने भनेर छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए। हिजो र आज रिपाेर्ट आएका सबैको स्वाब गत मंगलबार नै संकलन गरेर परीक्षणका लागि टेकु पठाइएको थियो।

काेराेना पुष्टि भनिएका एकजनाबारे अन्याेल 

यसैबीच शुक्रबार स्वास्थ्य मन्त्रालयले सर्लाहीमा १५ जना कोरोना संक्रमित फेला परेको विवरण सार्वजनिक गरे पनि जिल्लामा १४ जना मात्र फेला परेका स्थानीय प्रशासनले जनाएको छ। 

मन्त्रालयले पुष्टि गरेकाे थप एकजनाको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। शुक्रबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रामनगर गाउँपालिकाका एक र गोडैता नगरपालिकाका १४ उल्लेख थियो। 

तर, खोजी गर्दा गोडैतामा १३ जना मात्र संक्रमित भेटिएका छन्। यसले गर्दा जिल्लामा कोरोना संक्रमितको संख्या ३२ हो कि ३३ भन्नेमा समेत अन्योल सिर्जना भएको छ।
 
मन्त्रालयले विज्ञप्ति जारी गर्दा नै त्रुटि गरेको हो वा होइन भन्ने विषयमा बुझ्ने काम भइरहेको प्रजिअ जिसीले बताए। मंगलबार मात्र बागमती र हरिवन नगरपालिकामा फेला परेका दुईजना कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएका ४० जनाको थ्रोट स्वाब परीक्षणका लागि टेकु पठाइएको छ। त्यसको रिपोर्ट आउन बाँकी छ।