मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १० शनिबार १२:०१:००
Read Time : > 1 मिनेट
समाचार

प्रदेश १ मा क्वारेन्टाइनमा १५ हजार र उपचार केन्द्रमा आठ सय ५० बेड थप गरिने 

सुनसरीको चतराधामस्थित सिद्धबाबाको आश्रममा पनि उपचार केन्द्र

Read Time : > 1 मिनेट
२०७७ जेठ १० शनिबार १२:०१:००

प्रदेश १ मा कोरोना संक्रमितकाे संख्या  बढ्न थालेपछि क्वारेन्टाइनमा १५ हजार र उपचार केन्द्रमा आठ सय ५० बेड थप गरिने भएको छ ।

प्रदेश सरकारको क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले कोभिड–१९ को रोकथाम र उपचारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन क्वारेन्टाइन र उपचार केन्द्रमा बेड संख्या थप्ने निर्णय गरेकाे हो । समितिको निर्णयअनुसार कोसी कोभिड अस्पताल विराटनगरमा एक सय, झापामा दुई सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा दुई सय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन सय बेड थपिनेछ ।

त्यसैगरी कृष्णदास आश्रम बराह क्षेत्रमा दुई सय र नेपाली सेना इटहरीमा ५० गरी थप आठ सय ५० बेड कोभिड–१९ को नियन्त्रण, उपचार व्यवस्थाका लागि उपचार केन्द्र थप गरिने भएको छ ।

यस्तै भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको व्यवस्थापनका लागि १० स्थानमा रहेका ११ सय तीनवटा बेड अपुग हुने भएपछि थप १५ सय बेड क्वारेन्टाइनमा थप गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईका अनुसार होल्डिङ एरियामा बनाइएका क्वारेन्टाइनमा इलाममा दुई हजार, झापामा चार हजार, मोरङमा पाँच हजार र सुनसरी जिल्लामा चार हजार बेड तयार हुँदै छन् ।

४० हजारभन्दा बढीको पिसिआर परीक्षण हुने
कोरोना भाइरसको संक्रमण बढेपछि प्रदेश १ मा ४० हजारभन्दा बढी नागरिकको पिसिआर परीक्षण गर्ने तयारी भएको छ । मुख्यमन्त्री राईको नेतृत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले प्रदेशमा ४० हजारभन्दा बढीको पिसिआर परीक्षण गर्ने तयारी गरेको हो ।

भारतबाट स्वदेश फर्कने नेपाली नागरिक र प्रदेशभित्र कोभिड–१९ संक्रमित पहिचानका लागि परीक्षणको दायरा बढाउन लागिएको मुख्यमन्त्री राईले जानकारी दिए । हालसम्म प्रदेश १ मा चार हजार एक सयजनाको पिसिआर परीक्षण भइसकेको छ ।

स्वाब परीक्षणका लागि जिल्ला वर्गीकरण  
बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजनाअनुसार स्वाब परीक्षणका लागि जिल्लाको वर्गीकरण गरेको छ । कार्ययोजनाअनुसार उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा जिल्ला वर्गीकरण गरेको हो ।

उच्च जोखिम क्षेत्रमा एक प्रतिशत, जोखिम क्षेत्रमा शून्य दशमलव ७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको शून्य दशमलव ५ प्रतिशत नागरिकको कोरोना परीक्षण गरिनेछ ।