मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १० शनिबार ११:२१:००
Read Time : > 1 मिनेट
समाचार

अलपत्र औषधि उद्योग दुर्व्यसनी आश्रयस्थलमा परिणत

Read Time : > 1 मिनेट
२०७७ जेठ १० शनिबार ११:२१:००

तीनवटा ब्लकमा फैलिएका पाँच बिघा क्षेत्रफलमा दुई सय ५० भन्दा बढी कोठा रहेका भवन छन् । तर, ती भवन सबै जीर्ण बन्दै गएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका– ११ स्थित कर्जुनामा दुई दशकअघि सुवर्ण फर्मास्युटिकल्स नामक औषधि उद्योग निर्माण सुरु भएको थियो । तर, अहिलेसम्म पनि उद्योग सञ्चालनमा आउन सकेको छैन ।

उद्योगस्थलको रेखदेखका लागि चारजना सुरक्षागार्ड नियुक्त गरिएको थियो । तर, उद्योग सञ्चालनमा नआएपछि तीनजनाले जागिर छाडिसकेका छन् । अहिले सम्पूर्ण उद्योग परिसर कृष्णप्रसाद न्यौपानेको जिम्मा छ । उनले भने, ‘साँझ परेपछि दुर्व्यसनीहरू आउँछन् ।’

त्यसरी उद्योग परिसरमा नआउन आग्रह गर्दा कहिलेकाहीँ उनीहरूले निहुँ खोज्न थालेपछि न्यौपानेले एक हल हान्ने गोरु पालेका छन् । उनले भने, ‘हान्ने गोरु पालेपछि केही सहज भएको छ । उद्योग परिसरमा आउनेलाई गोरुले लखेट्न थालेको छ ।’

०५५ सालमा शेखर कोइरालाले उद्योगको शिलान्यास गरेका थिए । तर, त्यसपछि उनी उद्योग निर्माणस्थल परिसरमा कहिल्यै पनि नआएको स्थानीय गणेशप्रसाद ढकालले बताए । उनले भने, ‘गाउँमै औषधि उद्योग सञ्चालन हुने कुराले निकै उत्साहित भएका थियौँ, तर अहिले उद्योग सञ्चालनमा नआउँदा असुरक्षित महसुस गरिरहेका छौँ ।’ ढकालका अनुसार साँझ परेपछि केही उछृङ्खल युवाहरूले होहल्ला गर्ने तथा संरचानामा क्षति पुर्‍याउने गरेका छन् ।

किन रोकियो उद्योग निर्माण ?
भारतीय सरकारी औषधि कम्पनी एनटिसीको ३४ करोड तथा सुवर्ण फर्मास्युटिकल्स, साल्ट ट्रेडिङ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ११ करोड गरी कुल ४५ करोडको लगानीमा उद्योग निर्माण सुरु भएको थियो । तर, उद्योगका संरचनाहरू करिब सबै निर्माण भए पनि निर्माणको ठेक्का पाएको निर्माण कम्पनी तुण्डी कन्स्ट्रक्सनलाई लगानीकर्ताहरूले सबै रकम भुक्तानी दिन सकेनन् ।

रकम नपाएपछि निर्माण कम्पनीले अदालतमा मुद्दा हाल्यो र अदालतको आदेशबमोजिम कम्पनीले भुक्तानी पायो । तर, सुवर्ण फर्मास्युटिकल्स, साल्ट ट्रेडिङ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच लगानी हिस्साको विषयमा विवाद बढ्दै गयो । सोही विवादका कारण अहिलेसम्म उद्योग सञ्चालनमा नआएको स्थानीय अगुवा उद्धव सापकोटाले बताए ।

उद्योग सञ्चालनको तयारी गरिँदै
नेपाली लगानीकर्ताहरूले केही अगाडि उद्योग सञ्चालनका लागि बजेटको व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग अनुरोध गरेका थिए । प्रदेश सांसद राजकुमार ओझाले भने, ‘१२ करोड रुपैयाँ अपुग भएको भन्दै प्रदेश सरकारसँग माग गरेका थिए, तर प्रदेश सरकारले चासो दिए पनि लकडाउन भएका कारण काम अगाडि बढाउन नसकिएको हो ।’

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी तथा अन्य कर्मचारीलाई समेत बोलाएर सञ्चालनको तयारीबारे छलफल गरिएको उनले बताए । पछिल्लो समयमा उद्योग सञ्चालनको छलफल सुरु भएको र वर्तमान स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि उद्योग सञ्चालनमा आउने कुरामा स्थानीय केही आशावादी देखिएका छन् ।