मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १० शनिबार ०९:०८:००
Read Time : > 2 मिनेट
समाचार

नागरिकको मन जित्दै गुल्मी अस्पताल 

Read Time : > 2 मिनेट
२०७७ जेठ १० शनिबार ०९:०८:००

मालिका गाउँपालिका-५ छापहिलेका ८२ वर्षीय मानबहादुर घर्ती दुई महिनादेखि पेट दुख्ने समस्याले पीडित थिए । गाउँमै घरेलु उपचारबाहेक अरू गरेनन् । समस्या झन् बल्झिँदै गएपछि गुल्मी अस्पताल तम्घास आए । स्वास्थ्य परीक्षणको क्रममा चिकित्सकहरूले हर्निया भएको पत्ता लगाए । समस्या समाधानका लागि शल्यक्रियाबाहेक अन्य विकल्प थिएन । तर, घर्तीको उमेर घर्किएकाले शल्यक्रिया गर्न धेरै जोखिमपूर्ण थियो । पेट दुखाइको पीडा सहन नसकेर घर्तीले शल्यक्रिया गर्ने निधो गरे । 

गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यासहितको चिकित्सकको टोलीले उनको हर्नियाको सफल शल्यक्रिया गऱ्यो । हर्नियाको समस्याले पीडित घर्ती उपचारपछि अहिले आराम गरिरहेका छन् । ‘शल्यक्रिया राम्रो भयो, बुढेसकालमा सजिलोसँग बाँच्ने आस पलाएको छ,’ उनले भने, ‘स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’  घर्तीको ७५ प्रतिशत छुटमा स्वास्थ्योपचार भएको अस्पतालले जनाएको छ ।

रेसुंगा नगरपालिका– २ बागमारेकी सुशीला श्रेष्ठ पनि अण्डबाहिनी नलीको शल्यक्रिया गरेर घरमा आराम गरिरहेकी छिन् । अचानक पेट दुखेपछि वैशाख अन्तिम साता श्रेष्ठ गुल्मी अस्पताल भर्ना भइन् । स्वास्थ्य परीक्षणको क्रममा अण्डबाहिनी नली फुटेको पत्ता लागेपछि शल्यक्रिया गर्न परिवार सहमत भए । डाक्टर उत्तम पच्यालगायतको टोलीले श्रेष्ठको अण्डबाहिनी नलीको सफल शल्यक्रिया गऱ्यो । 

केही महिलामा गर्भधारणपछि गर्भ अमाशयमा नगएर अण्डबाहिनी नलीमै विकसित हुने गर्दछ । जसलाई मेडिकल भाषामा ‘एक्टपिक प्रेग्नन्सी’ भन्ने गरिन्छ । बिस्तारै गर्भ विकसित भएपछि अण्डबाहिनी नली फुट्ने र अत्यधिक रगत बगेर आमाको ज्यान जान सक्ने खतरा हुने भएकाले समयमै उपचार गर्नुको विकल्प नभएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।

शल्यक्रियापछि एकपटक फलोअपसमेत भएकाले अहिले सुशीलाको अवस्था राम्रो भएको उनका श्रीमान् बालकृष्ण श्रेष्ठले जानकारी दिए । यो आर्थिक वर्षमा श्रेष्ठको जस्तै समस्या भएका तीनजना महिलाको सफल शल्यक्रिया गरिएको गुल्मी अस्पतालका सूचना अधिकारी काशीराम विकले बताए ।

अस्पतालप्रति आमनागरिकको विश्वास बढ्दै

गुल्मी अस्पताल तम्घासमा अहिले विभिन्न रोग र प्रसूतिका जटिल शल्यक्रिया भइरहेका छन् । केही वर्ष पहिले रेफर सेन्टरजस्तै रहेको गुल्मी अस्पतालले आफूलाई अब्बल बनाउँदै लगेका कारण अस्पतालप्रति आमनागरिकको विश्वास बढ्दै गएको छ ।

मुसिकोट नगरपालिका- २ की शोभा महत पहिलो सन्तान जन्माउन जिल्लाबाहिर गइन् । पहिलो सन्तान पनि शल्यक्रियामार्फत जन्मियाे । अहिले दोस्रो सन्तानका लागि गुल्मी अस्पतालमै प्रसूति गराउने निर्णय गरिन् । गत आइतबार डाक्टर उत्तम पच्यासहितको चिकित्सकको टोलीले जटिल शल्यक्रिया गरेपछि छोरा जन्मिएको महतले बताइन् । 

नेकपाका नेता हिरा एसीले पहिलो सन्तानका लागि श्रीमतीलाई लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याएर प्रसूति गराए । पहिले प्रभास पुगेका एसी अहिले भने गुल्मी अस्पतालमै आए । जटिल शल्यक्रियामार्फत छोरी जन्मिइन् । उनले अस्पताल प्रमुख डाक्टर उत्तम पच्या र उनको टोलीको सक्रियताको कारण अस्पतालको सेवा प्रवाह प्रभावकारी भएकाले आफूहरूजस्तै थुप्रैको गुल्मी अस्पतालप्रति आकर्षण बढ्दै गएको बताए । ‘अस्पतालको स्वास्थ्योपचार र अन्य सेवा प्रवाहबाट प्रभावित भएकै कारण मैले पनि श्रीमतीको प्रसूति गराएँ,’ उनले भने, ‘अहिले गाउँबाट पाल्पा-बुटवल भनेर हिँडेकाहरू पनि एकपटक गुल्मी अस्पताल पसेको पाएका छौँ ।’ 

डाक्टर उत्तम पच्या नेतृत्वको टोलीले अहिले अण्डबाहिनी नली, हाइड्रोसिल, हर्निया, एपेन्डिक्स तथा जटिल प्रसूतिको धमाधम शल्यक्रिया गरिरहेकाे छ । लकडाउनको समयमा मात्रै पनि सामान्य अवस्थामा प्रसूति नभएका २८ जना गर्भवतीको शल्यक्रियामार्फत प्रसुति गराएको अस्पतालको अन्तरंग शाखा प्रमुख सीता कार्कीले बताइन् । यो आर्थिक वर्षमा गुल्मी अस्पतालबाट पाँच सय आठ गर्भवती आमा प्रसूति भएका छन् ।

गुल्मी अस्पताल तम्घासका प्रमुख उत्तम पच्याले आफूसँगै कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, समिति, जनप्रतिनिधि, दल तथा सबै माध्यमबाट सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूको कारण अस्पताललाई अहिलेको अवस्थामा ल्याउन सकिएको बताए । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गुल्मी र अर्घाखाँचीका नागरिकबीच अस्पतालले कमाएको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताए ।