मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ९ शुक्रबार २२:१२:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउन लम्बिँदै गए पेट्रोल पम्पका ५० प्रतिशत कर्मचारी कटौती हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ९ शुक्रबार २२:१२:००

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिँदै जाँदा पेट्रोलियम पदार्थको बिक्रीमा ठूलो गिरावट आएकाले ५० प्रतिशत कर्मचारी कटौती गर्नुपर्ने स्थिति आएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।

‘एकातिर पम्पमा तेल बिक्री हुन सकेको छैन । अर्कोतिर भएका कर्मचारी पनि पम्पसम्म आउन सकेका छैनन्,’ अध्यक्ष प्रधानले भने, ‘सरकारले यो क्षेत्रलाई अत्यावश्यक सूचीमा राखे पनि कर्मचारीलाई कामका लागि पम्प आउन पास नदिँदा समस्या भएको छ ।’ धेरै कर्मचारीलाई अहिलेसम्म कामविहीन अवस्थामा घरमै राखेर पनि पम्प व्यवसायीले तलब, सुविधा दिइरहेको भन्दै उनले अबका दिनमा गाह्रो हुने बताए ।

देशभरका पम्पमा करिब सात हजार पाँच सय कर्मचारी छन् । ‘एउटा पम्पमा औसतमा पाँचजना कर्मचारी छन् । अबका दिनका कटौती गरेर लेखा प्रमुख र पम्पमा तेल भर्न दुईजना कर्मचारी मात्र राख्न सक्ने स्थिति रहेको अध्यक्ष प्रधानले बताए । पेट्रोलियम क्षेत्रमा मजदुर कटौती भए तत्काल युवा बेरोजगारीको स्थिति देखापर्नेछ किनभने पम्पमा काम गर्ने सबै कर्मचारी युवा उमेरका छन् ।

पम्प व्यवसायीले आगामी दिनमा अन्डरट्यांकीमा न्यून मात्रामा मौज्दात राख्न पनि अपिल गरेका छन् । शुक्रबार भिडियो कन्फ्रेन्समार्फत पम्प व्यवसायीको बैठक बसेर न्यून मौज्दात राखेर काम गर्ने सहमति भएको महासचिव विश्व अर्यालले बताए । उनले पम्पबाट उधारो तेल वितरण बन्द गर्ने विषयमा पनि छलफल भएको बताए । एसोसिएसनले अति कम कर्मचारीबाट इन्धन वितरण गर्न, अति आवश्यकबाहेकका खर्च कटौती गर्न र स्थानीय निकायसँगको समन्वयमा इन्धन वितरण प्रभावकारी बनाउन पनि सबै व्यवसायीलाई आग्रह गरेको छ ।

देशभरका करिब एक हजार पाँच सय पेट्रोल पम्पबाट सामान्य अवस्थामा दैनिक औसतमा १३ दशमलव ३३ लाख लिटर पेट्रोल र ३७ लाख लिटर डिजेल खपत हुने गरेको थियो । तर, लकडाउन सुरु भएको एक महिनासम्म करिब १० प्रतिशत मात्र इन्धन बिक्री भएको थियो । अहिले लकडाउन केही खुकुलो बन्दै सवारीसाधनको प्रयोग बढेको र तराईमा खेतीका कारण डिजेलको माग बढेकाले ३० प्रतिशतसम्म खपत भइरहेको एसोसिएसनका अध्यक्ष प्रधानले बताए ।