मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ९ शुक्रबार २१:३०:००
Read Time : > 1 मिनेट
अर्थ

अर्थतन्त्र जोगाउन राष्ट्र बैंकले मौद्रिक उपकरण जारी गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ९ शुक्रबार २१:३०:००

कोरोना असरले खस्कँदै गएको वित्तीय बजारलाई सुधारको बाटोमा लैजान राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण जारी गर्ने भएको छ ।

ऋणको ब्याजदर २ प्रतिशत बिन्दुले घटाउन निर्देशन दिइसकेको राष्ट्र बैंकले आगामी दिनमा ब्याजको पुँजीकरण, ऋण वृद्धि गर्नेलगायतका विभिन्न उपकरण प्रयोग गर्ने भएको हो । कोरोनाको असरबाट जोगिन वित्तीय एवं लेखा क्षेत्रले गर्नुपर्ने पहलका विषयमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले शुक्रबार आयोजना गरेको ‘अन्तर्राष्ट्रिय वेविनार’मा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय उपकरण प्रयोग गरेर असहज परिस्थितिमा सहजीकरण गरिने बताएका हुन् ।

गभर्नर अधिकारीले संकटपछि व्यवसाय सुचारु गर्न असाध्यै कठिन हुने भएकाले ऋणीलाई सहुलियतको आवश्यकता पर्नेसमेत बताए । उनले व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने उल्लेख गरे । अन्तर्राष्ट्रिय र आन्तरिक श्रम बजार साँघुरिँदै गएको र यसको प्रभाव नेपालमा समेत परिसकेकाले अनौपचारिक क्षेत्रका ४४ लाख जनशक्ति बेरोजगार हुने स्थिति रहेको अधिकारीको भनाइ थियो ।

आइक्यानले आयोजना गरेको ‘रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सियल रिपोर्टिङ : पोस्ट कोभिड–१९ प्यान्डेमिक’ नामक अन्तर्राष्ट्रिय वेविनारमा आइफ्याकका अध्यक्ष डा. इन कि जुले कोरोनाको वास्तविक प्रभावको अझै पहिचान नभएकाले यसका मापदण्डमा परिवर्तनका विषयमा पनि यकिन हुन नसक्ने बताए ।

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले कोरोना महामारीले औद्योगिक एवं व्यावसायिक गतिविधि शिथिल भएको भन्दै ठूलो सहयोगको आवश्यकता रहेको बताए । त्यस्तै साफाका अध्यक्ष जिया अल मुस्तफा अवानले संकटको समयमा स्रोतको व्यवस्थापन असाध्यै जटिल हुने धारणा राखेका थिए । इंग्ल्यान्ड र वेल्सक चार्टर्ड एकाउन्टेन्टकी अध्यक्ष फिओना विकिल्सनले स्वास्थ्य संकट हुँदै अहिले विश्व आर्थिक संकटमा परेको बताइन् ।

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोनाले विश्व अर्थतन्त्रमा नराम्रो असर परेको भन्दै कतिपय उद्योग प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको बताए । ‘धेरैले रोजगारी गुमाउने अवस्था आएको छ,’ उनले भने, ‘साना तथा मझौला उद्योगहरू पर्याप्त पुँजीको अभावबाट गुज्रने र त्यहाँ कार्यरत श्रमिक अझै जोखिममा पर्ने देखिन्छ ।’ अर्थतन्त्र बचाउन र भविष्यमा पुनरुत्थान गर्न चार्टर्ड एकाउन्टेन्टको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।