मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ जेठ ९ शुक्रबार २१:११:००
Read Time : < 1 मिनेट
समाचार

अर्धचेत सुत्केरीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ जेठ ९ शुक्रबार २१:११:००

संखुवासभा सरदमुकाम खाँदबारीबाट एक सुत्केरी महिलालाई थप उपचारका लागि हेलिकोप्टरबाट शुक्रबार काठमाडौं लगिएको छ ।

उपचारका लागि जिल्ला अस्पताल खाँदबारीमा भर्ना भए पनि बेहोस भएपछि खाँदबारी नगरपालिका– ६ पाङ्ठा घर भएकी ३२ वर्षीया गंगा कार्कीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह लगिएको हो ।

गत ४ जेठमा प्रसव पीडाले  च्यापेपछि जिल्ला अस्पताल खाँदबारी आएकी उनलाई भिडियो एक्सरे गर्दा बच्चा उल्टो बसेको पाइएपछि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो । जिल्ला अस्पताल खाँदबारीका मेडिकल सुपरिटेन्डेन्ट डा. सुन्दरश्याम झाले भने, ‘नोबेल अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालिएपछि दुई हप्ता अस्पतालमै बस्नुपर्ने भनिए पनि खर्च धान्न नसक्ने भन्दै बिहीबार बेलुकी घर आइपुगेका रहेछन् ।’

सुत्केरी कार्कीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको उनले बताए । मेसु झाले भने, ‘उनको शरीरमा रगतको मात्रा अत्यन्तै कम रहेको र अन्य पनि विभिन्न समस्या रहेको तथा अर्धचेत अवस्थामा रहेकाले थप उपचारका लागि काठमाडौं लगिएको हो ।’ कार्कीलाई जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यको पहलमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो ।

संखुवासभाबाट सुत्केरीको उपचार हुन नसकेको भन्दै हेलिकोप्टरबाट उद्धार गरिएको यो पहिलो घटना हो ।