मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनिष खड्का रुकुम पश्चिम
२०७७ जेठ ९ शुक्रबार २०:३६:००
Read Time : > 1 मिनेट
समाचार

रुकुम पश्चिमका एक सय २९ विपन्नले घर पाउने 

Read Time : > 1 मिनेट
मनिष खड्का रुकुम पश्चिम
२०७७ जेठ ९ शुक्रबार २०:३६:००

रुकुम पश्चिमका एक सय २९ विपन्न परिवारले नयाँ घर पाउने भएका छन् । जनता आवास कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले जिल्लाका एक सय २९ विपन्न परिवारका लागि घर बनाउने भएको हो ।

चालू आर्थिक वर्षको असार मसान्तभित्रै जिल्लाका ६ वटै स्थानीय तहका आफन्तको शरणमा बसिरहेका, छाप्रो बनाएर बसिरहेका र घर जीर्ण भई उच्च जोखिममा रहेका तथा घर निर्माण गर्ने क्षमता नभएका विपन्न, दलित तथा सीमान्तकृत समुदायका परिवारले नयाँ घर पाउने भएका हुन् । जनता आवास कार्यक्रम समन्वय समितिले जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका गरी एक सय २९ परिवारलाई नयाँ घरका लागि छनाेट गरेको हो ।

घर नभएका तथा निकै जोखिमपूर्ण अवस्थामा रहेका र आफैँले घर बनाउन नसक्ने परिवार नयाँ घरका लागि छनाेट भएको निर्वाचन क्षेत्र नं. २ का जनता आवास कार्यक्रम समन्वय समितिका संयोजक एवं प्रदेश सभा सदस्य गोपाल शर्मा ‘अनल’ले जानकारी दिए । उनका अनुसार छनाेटमा परेका प्रत्येक परिवारका लागि दुई कोठाका घर निर्माण हुने छन् । शौचालय भने सम्बन्धित परिवारले नै अनिवार्य रूपमा निर्माण गर्नुपर्नेछ ।

घर निर्माणका लागि प्रत्येक परिवारलाई तीन लाख पाँच हजार रुपैयाँ प्राप्त हुने प्रदेश सभा सदस्य शर्माले बताए । दुईभन्दा बढी कोठा भएको घरसमेत निर्माण गर्न सकिने भए पनि थप खर्च भने सम्बन्धित परिवारले नै व्यहोर्नुपर्ने पनि उनले स्पष्ट पारे । निर्वाचन क्षेत्र नं. १ का आठबिसकोट नगरपालिकामा २८, बाँफीकोट गाउँपालिकामा १८ र मुसिकोट नगरपालिकामा १८ गरी ६४ वटा घर निर्माण हुनेछन् ।

त्यस्तै क्षेत्र नं. २ को चौरजहारी नगरपालिकामा २८, सानीभेरी गाउँपालिकामा १९ र त्रिवेणी गाउँपालिकामा १८ गरी ६५ वटा घर बन्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले जानकारी दिए । उनले घर निर्माणको सम्झौताको जिम्मा स्थानीय तहलाई दिइएको र सम्झौता हुने क्रम सुरु भइसकेको बताए ।