१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ९ शुक्रबार १५:५७:००
Read Time : > 1 मिनेट
समाचार

भारतबाट फर्किएका नागरिकले भरिए दैलेखका सबै क्वारेन्टाइन

Read Time : > 1 मिनेट
२०७७ जेठ ९ शुक्रबार १५:५७:००

दैलेखका विभिन्न पालिकाका आठ सय ५० जना व्यक्ति एकै दिन छिमेकी मुलुक भारतबाट आएपछि जिल्लाभरि बनेका आठ सय ६१ क्वारेन्टाइन भरिएका छन् ।

स्थान अभावले क्वारेन्टाइनमा सामाजिक दूरी कायम हुन सकेको छैन । एक सय क्षमताको क्वारेन्टाइनमा चार सयजनासम्म बसेका छन् । 

महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले पालिकामा मात्रै तीन सयभन्दा बढी व्यक्ति भारतबाट आइसकेको बताए । पालिकाले निर्माण गरेका क्वारेन्टाइन भरिएको र थप आउने सूचना आएकाले राख्ने ठाउँको जोहो गर्न पालिकाले नसक्ने अवस्था आएको शाहीको भनाइ छ । 

दैलेखका ५० प्रतिशत क्वारेन्टाइनमा मापदण्ड पुगेकाे छैन
जिल्लाभर अहिलेसम्म आठ सय ६१ क्वारेन्टाइन निर्माण गरिएको छ । सरस्वती मावि तर्ताङमा २० शय्याको आइसोलेसन अस्पताल निर्माण गरिएको छ । अहिले निर्माण भएको अस्पतालमा आठबिस नगरपालिकाका एकजना संक्रमित युवाको उपचार भइरहेको छ । 

सदरमुकाम दैलेख बजार, दुल्लु नगरपालिका, आठबिसलगायत कतिपय स्थानमा निर्माण भएका क्वारेन्टाइन मापदण्डअनुसार निर्माण गरिएको भए पनि ५० प्रतिशत बढी क्वारेन्टाइन मापदण्डअनुसार बनेका छैनन् ।  

अधिकांश क्वारेन्टाइनमा मापदण्ड नपुगे पनि भारतबाट दैलेख आउनेको संख्या एक्कासि बढेपछि सुरक्षित राख्न प्रयोग गर्नुपरेको स्वास्थ्य कार्यालय दैलेखका डा. निरञ्जन पन्तले आह्वान गरेका छन् । 

लकडाउनको अवधिभर भारतबाट दुई हजार सात सयभन्दा बढी मानिस दैलेख आएका छन् । अझै हजारौँ व्यक्ति दैलेख आउने खबर आएको स्थानीय निकायहरूले बताएका छन् । 

भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब संकलनमा फिल्डमै पुगेका स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले अधिकांश क्वारेन्टाइनमा मापदण्ड नपुगेको बताए । उनले भने, ‘क्वारेन्टाइनमा शौचालय, खानेपानी अभाव छ । सामाजिक दूरी कायम छैन । एकैठाउँबाट आएको भन्दै टाँसिएरै बसेका छन् । यसले गर्दा चुनैती थपिएको छ ।’

भारतमा अलपत्र परेका व्यक्तिको उद्धार सुरु भएसँगै दैलेखमा चुनौती बढ्दै गएको छ । दैलेखको पश्चिम क्षेत्रमा रहेका दुल्लु नगरपालिका, आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र महावु गाउँपालिकाबाट करिश ४० प्रतिशत जनसंख्या कामको खोजीमा भारत गएको अनुमान छ । 

दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले त्यहाँबाट मात्र करिब १० हजार नागरिक भारत गएको बताए । ‘अहिले फर्किने क्रम बढेको छ,’ उनले भने, ‘स्थानीय तहलाई कसरी थाम्ने भन्ने चुनाैती थपिएको छ ।’

विदेशबाट २७ सयभन्दा बढी जिल्ला भित्रिए, स्वाब परीक्षण दुई सय ५१ जनाको
दैलेखमा शुक्रबार बिहानसम्म दुई हजार ७ सयभन्दा बढी मानिस भारतबाट जिल्ला प्रवेश गरिसकेका छन् । अहिलेसम्म स्वाब परिक्षण भने दुई सय ५१ जनाको मात्र गरिएको छ । ऱ्यापिड टेस्ट मार्फत आठ सय ७२ जनाको स्वास्थ्य जाँच गरिएको छ ।