मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जेफ्री डी साच
२०७७ जेठ ९ शुक्रबार ०६:११:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

ट्रम्पको स्वैरकल्पनाले सबैलाई डुबाउने खतरा

Read Time : > 2 मिनेट
जेफ्री डी साच
२०७७ जेठ ९ शुक्रबार ०६:११:००

ट्रम्पको स्वैरकल्पनामा बाहेक महामारीमा अर्थतन्त्र उकास्ने र जनस्वास्थ्य कायम राख्ने काम अन्त कहीँ पनि एकसाथ सम्भव हुँदैन

अर्थतन्त्र र स्वास्थ्य सुरक्षा सँगसँगै लैजाने राष्ट्रपति ट्रम्पको नीतिले आर्थिक मन्दी र हजारौँको मृत्यु एकैपटक निम्त्याएको छ । वास्तवमा ट्रम्पको स्वैरकल्पनामा बाहेक महामारीमा अर्थतन्त्र उकास्ने र जनस्वास्थ्य कायम राख्ने काम अन्त कहीँ पनि एकसाथ सम्भव हुँदैन । महामारीमा नागरिकले सुरक्षित महसुस नगरेसम्म तिनीहरू स्वाभाविक जीवनमा फर्कन्नन् । अपरिपक्व रूपमा बजार खुलाउँदा महामारी झन् व्यापक हुन्छ । ट्रम्प अमेरिकालाई झन् ठूलो आर्थिक क्षतितिर कुदाउँदै छन् । स्वैरकल्पनाले जादुमा विश्वास गर्छ, ट्रम्प भाइरस केही होइन, अप्रिलपछि आफैँ जान्छ भन्दै थिए । मार्चमा पनि हाम्रो नियन्त्रणमा छ, हामीसँग टन्नै परीक्षण सामग्री छन् भन्दै खोक्दै थिए । सरकार गम्भीर हुँदा महामारी नियन्त्रण हुन्छ । अस्ट्रेलिया, चीन, न्युजिल्यान्डजस्ता मुलुकमा प्रत्येक १० लाखमा १० भन्दा कम मृत्युदर छ भने अमेरिकामा यो दर दुई सय ७१ छ । 

अमेरिकामा कोभिड–१९ मृत्युदर उच्च छ, तर यसको जिम्मेवारीबाट पन्छिन परीक्षण थिएन भने एउटाको पनि मृत्यु नहुने कुतर्क ट्रम्प गर्छन् । ट्रम्पको शैलीले अर्थतन्त्र पनि जोगाउँदैन । राज्य खुल्छन्, भाइरस र मृत्यु झन् फैलन्छ । उनको आर्थिक स्वैरकल्पनाले काम गर्दैन, उपभोक्ताले तत्काल किन्न थाल्दैनन् । ठेकेदारले अहिल्यै भवन बनाउँदैनन् । बरु केही ट्रम्पका अनुयायी भने होहल्ला मच्चाउँदै भिडभाड गर्छन् र भाइरस साटासाट गर्छन् । 

अप्रिलमा २०.५ मिलियनले रोजगारी गुमाएका छन् र धेरैजसो तत्काल काममा फर्कंदैनन् । भाइरस निरन्तर फैलनुले यसो गर्नबाट रोक्छ । निर्माण क्षेत्रको काममा पनि तत्कालै फर्कने सम्भावना छैन । भौतिक रूपमा उपस्थित हुनुपर्ने कतिपय कामलाई इ–कमर्सले विस्थापन गर्नेछ । धेरै कम्पनीले आफ्नो कार्यक्षमता खुम्च्याउनेछन् । यी विविध कारणले आगामी वर्षमा आर्थिक गतिविधिमा मन्दी आउनेछ । अहिले पेट्रोलियम पदार्थको व्यापार ठप्प छ, यसको मूल्यमा ठूलो ह्रास आएको छ । जबसम्म महामारी पूर्ण नियन्त्रणमा आउँदैन तबसम्म पर्यटन पनि फस्टाउनेछैन ।

देशको वर्तमान अवस्थामा सुधारका लागि हामीलाई नयाँ प्रशासन, कंग्रेस र नयाँ दृष्टिकोण चाहिन्छ, ट्रम्पको स्वैरकल्पनाले सबलाई डुबाउँछ 
 

यसले पनि ठूलो संख्यामा रोजगारी कटौती गरेको छ । ट्रम्पसँग अर्को एउटा चाल छ, त्यो हो अमेरिकी कम्पनीलाई चीनबाट घर फर्काउने र यहीँ उत्पादन तथा वितरण गर्न लगाउने । तर, यो पनि अर्को एउटा स्वैरकल्पना हो । चीनस्थित अमेरिकी कम्पनीका लागि नयाँ मापदण्ड निर्धारण गर्दै ट्रम्पले चीनमाथि गरेको प्रहारले उल्टो अत्याधुनिक अमेरिकी कम्पनीको वृद्धि र व्यापारमै असर पारिरहेको छ । अहिले पार्टपुर्जा तथा फाइभ जीलगायत चिप्स निर्माणमा चीनले प्रतिस्पर्धा गरिरहेको छ ।

फेरि चीनले बोइङको सट्टा एसरबस खरिद गर्दै छ । ७३७ म्याक्सको कमजोरीसँगै महामारीपहिल्यै बोइङ संकटमा परेको थियो । महामारी नियन्त्रणमा असफलतासँगै ट्रम्प चीनविरुद्ध आरोपमा उत्रँदा बोइङको हालत झन् बिग्रँदो छ । चीनलाई आरोप साँधेको भोलिपल्ट बोइङको सेयर दुई प्रतिशतले झरेको थियो भने मार्च २०१९ यता ७० प्रतिशतले गिरावट आइसकेको छ । 

यसमा कुनै शंका छैन, ट्रम्पले आफ्नो पारिवारिकलगायत डुब्न लागेका कम्पनी बचाउने कोसिस गर्नेछन् । पेट्रोलियम क्षेत्रलाई बचाउने प्रयास गर्नेछन्, आफ्ना नातेदार र आसेपासेका कम्पनी जोगाउन लागिपर्नेछन् । उनले ढाँट्नेछन्, तथ्यांक लुकाउनेछन्, अरूमाथि दोष थुपार्नेछन् र अझ धराशायी बनाउनेछन् । तर, नयाँ मन्दीबाट जोगिन हामीले अरू तीन कदम चाल्नुपर्छ । पहिलो त हामीले तत्कालै परीक्षण, खोज र क्वारेन्टाइनको दायरा फराकिलो बनाउँदै महामारीलाई नियन्त्रणमा ल्याउनुपर्छ । यसलाई ट्रम्पले बेवास्ता गर्दै आएका छन् । दोस्रो, हामीले चीनलगायत मुलुकसँग मिलेर विश्वकै महामारीविरुद्ध लड्नुपर्छ ताकि अन्तर्राष्ट्रिय व्यापार, पारवहन र भ्रमण पुनस्र्थापित गर्न सकियोस् । तेस्रो, पुरातन होइन, नयाँ ढंगका औद्योगिक र सेवामूलक व्यवसायमा जोड दिनुपर्छ ।

अब पेट्रोलियम पदार्थको फन्डाले केही सुधार आउनेछैन । अमेरिकी कम्पनीले सौर्य तथा वायु ऊर्जा, अत्याधुनिक ब्याट्री तथा विद्युतीय यातायात सामग्री र हार्डवेयर तथा सफ्टवेयरजस्ता सामग्री निर्माणमा जोड दिनुपर्छ । न्यूनतम शुल्कमा शिक्षा र स्वास्थ्यको प्रबन्ध गर्नुपर्छ । नयाँ ढंगका रोजगारी सिर्जनुपर्छ । सुझबुझसहित कदम चालेमा हामीले स्वच्छ वातावरणयुक्त अत्याधुनिक कम्पनीमा स्वास्थ्य र शिक्षाको सुविधासहित उचित पारिश्रमिकमा काम गर्ने वातावरण बनाउन सक्छौँ । तर, यो सबका लागि हामीलाई नयाँ प्रशासन तथा कंग्रेस र नयाँ दृष्टिकोण चाहिन्छ । ट्रम्पको स्वैरकल्पनाले सबलाई डुबाउँछ । तर हेरौँ, नयाँ बिहानी उदाउँदै छ ।

(साच सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट, कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा निर्देशक हुन्) - सिएनएनबाट