मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
मिलन पाण्डे काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार ०७:१४:००
दृष्टिकोण

लकडाउनपछि विद्यालय खोल्ने मोडेल 

मिलन पाण्डे काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार ०७:१४:००

विद्यार्थी र अभिभावक मानसिक रूपमा तयार नभएसम्म संक्रमण घटे पनि स्कुल खोल्न सकिँदैन 

इबोलाका कारण सन् २०१४–०१५ मा पश्चिम अफ्रिकी देशमा नौ महिनासम्म स्कुल बन्द भए । केहीलाई रेडियोमार्फत पढाउने प्रयास गरियो । तर, अधिकांश विद्यार्थीको पढाइ रोकियो । बिदा लम्बिएसँगै बाल यौन दुर्व्यवहारका घटना बढे । किशोरीमा अनिच्छित गर्भधारण बढ्यो । घरको आर्थिक अवस्था नाजुक भएसँगै विद्यार्थी श्रमिकका रूपमा कमाउन जान थाले । स्कुल खुलेपछि ‘ड्रपआउट’ निकै बढ्यो । विद्यार्थीको स्वास्थ्य, पौष्टिक आहार, सरसफाइका विषयमा इबोलापछि थप समस्या निम्तिएको थियो । सो वर्ष मात्र १० लाख बालबालिका खोपबाट वञ्चित भए ।

बन्दाबन्दी अनि असमानता : नर्वेको तथ्यांक विभागद्वारा हालै सार्वजनिक आकलनअनुसार विद्यालय बन्द भएका कारण प्रतिविद्यार्थी प्रतिदिन एक सय ७३ डलर क्षति भइरहेको छ । आज एउटा विद्यार्थीको पढाइको क्षति (यही अवस्थामा पनि आधा सिक्दै छन् भनेर मान्दा पनि)ले भविष्यमा कति कम कमाउनेछन् भन्ने हिसाब निकालिएको थियो । त्यसमा अहिले बालबालिकालाई हेर्नुपर्दा अभिभावकको उत्पादकत्वमा कमी आएको आँकडा पनि समावेश गरिएको थियो । यो अवस्थाले लामो समयसम्म सामाजिक, आर्थिक, राजनीतिक अनि मानसिक असर पर्नेछ ।

लकडाउन पूर्ण रूपमा खोल्न स्कुल खुलाउनु नै पहिलो सर्त हो । अभिभावक काममा जान विद्यार्थीलाई स्कुल पठाउन जरुरी हुन्छ । तसर्थ, लकडाउनसँगै स्कुल कसरी खोल्ने भन्ने बहस संसारभरि चलिरहेको छ । तर, नेपालको हकमा हामीले बिर्सन नहुने के छ भने पश्चिमा देशमा आमाबुबा दुवै काममा जान्छन्, हाम्रोमा एकजना काममा जाने परिवार धेरै छन् । तसर्थ, हामीकहाँ स्कुल बन्द हुँदा पश्चिमा देशमा जस्तो ठूलो प्रभाव पर्दैन, बरु असमानता भने बढ्नेछ । 

विद्यार्थी लामो ‘कोरोना बिदा’बाट फर्केपछि पनि स्कुलमा प्रार्थनासभा हुनेछैन, ढोकामा बसेका शिक्षकलाई विद्यार्थीले ‘शुभ प्रभात’ भन्ने माहोल हुनेछैन । विद्यार्थीले साथीसंगीसँग अंकमाल गर्न पाउनेछैनन् । अध्ययन भ्रमण लामै समय हुनेछैन ।

युनिसेफको हालैको एउटा प्रतिवेदनअनुसार लामो बन्दाबन्दीपछि धनी विद्यार्थीभन्दा गरिब तथा सीमान्तकृत विद्यार्थी स्कुल नफर्कने दर पाँच गुणा बढी हुने अनुमान छ । लामो समय स्कुल बन्द हुँदा विद्यार्थीमा शारीरिक अनि मानसिक असर पनि पर्ने देखिएको छ । फेरि यस्ता असरको दर पनि सीमान्तकृत विद्यार्थीमै बढी हुने हुँदा गरिब राष्ट्र थप प्रभावित हुनेछन् । 

अहिले संसारका डेढ सयभन्दा बढी देशका स्कुल बन्द छन् । युनिसेफका अनुसार ७२ प्रतिशतसम्म विद्यार्थीको पढाइ रोकिएको छ । पाकिस्तानमा १५ जुलाईसम्म स्कुल बन्द छन् । इटालीसहित केही युरोपेली देशले सेप्टेम्बरसम्म स्कुल बन्द गरिसकेका छन् । जापानमा सुरक्षासहित हप्ता वा पन्ध्र दिनमा एक दिनजस्तो खोलिएको छ । भारतमा स्कुल बन्द छन् । चीन, दक्षिण कोरियामा स्कुल खुल्न थाले । इजरायल, नर्वे, ताइवानलगायत देश संक्रमणको संख्या घटेसँगै स्कुल खोल्ने रणनीतिमा छन् । विश्व नै स्कुल खोल्ने कि नखोल्ने भनेर छलफल गरिरहेका वेलामा डेनमार्क भने स्कुल खोल्ने देशमध्ये अग्रस्थानमा छ । आइसल्यान्ड र स्विडेनले प्रारम्भिक विद्यालय बन्द नै गरेनन् । हामीले यी देशको तयारी अनि अवस्था हेरेर हाम्रो देशका लागि कुन तरिका अपनाउने भन्ने तयारी गर्न अब ढिला गर्न हुँदैन ।

अब कसरी खोल्ने स्कुल ? : विद्यार्थी, शिक्षक अनि उनीहरूको परिवारको सुरक्षामा कुनै सम्झौता नगरी स्कुल खोल्नुपर्छ । अहिले ‘भर्चुअल’ कक्षाले एक हदसम्म टेवा पुर्‍याएको त छ, तर यसरी सबै विद्यार्थीलाई पढाउन सकिन्न । सबैलाई शिक्षामा पहुँच पुर्‍याउन स्कुल नै खोल्न आवश्यक छ । सुरक्षित सञ्चालन, कमजोर विद्यार्थीसम्म पुग्ने रणनीतिजस्ता तयारीविना स्कुल खोल्न सकिँदैन । 

शिक्षा मन्त्रालय र स्थानीय तहले अब स्कुल कहिले अनि कसरी खोल्ने भन्नेबारे ठोस योजना बनाउन जरुरी छ । मन्त्रालयले निर्देशिका जारी गर्नुपर्छ, अनि आफ्नो क्षेत्रको अवस्थाअनुरूप स्थानीय तहले आफ्नै मोडेल बनाउनुपर्छ । विद्यालय, शिक्षक अनि अभिभावकबीच थप समन्वय आवश्यक रहन्छ । प्रभावकारी समन्वयका लागि विद्यालयले विस्तृत निर्देशका बनाएर विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षित गर्न जरुरी छ ।

अहिले देशका सबै स्कुल खोल्ने एउटै चाबी छैन । कसरी खोल्ने भन्ने रणनीति स्थानीय क्षेत्रको संक्रमणको अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्था आदिले निर्धारण गर्नेछ । खोल्दा पनि विद्यार्थी स्कुल फर्कन सजिलो हुनेछैन । चीनमा सम्पूर्ण सुरक्षासहित स्कुल खोलिँदा पनि ३९ प्रतिशत मात्र विद्यार्थी पढ्न आए । फ्रान्सले ऐच्छिक उपस्थिति भन्दै स्कुल खोलेको छ । सरकारले स्कुल खोल्दा पनि विद्यार्थी आएनन् भने तिनका निम्ति छुटेका पाठ कसरी परिपूर्ति गर्ने भन्ने बन्दोबस्त मिलाउन थप योजना जरुरी छ । 

स्कुल पनि खोल्नका लागि खोल्ने होइन । सिकाइलाई थप मजबुत बनाउन, समतामूलक बनाउन, हालको परिस्थितिसँग जुध्न अनि अबका दिनमा आउँदै गरेका चुनौतीसँग सामना गर्न सिकाउन स्कुल तयार रहनुपर्छ । मापदण्डअनुरूप जब स्कुल खोल्ने तयारी हुन्छ, हामीले नीतिगत, आर्थिक, व्यवस्थापन, पाठ्यक्रम, विद्यार्थीसम्म पुग्ने रणनीति, सुरक्षा वा सावधानीजस्ता विषयमा सही नीति अनि रणनीति आवश्यक पर्छ । स्कुल खोल्नका निम्ति यी चारवटा तहमा तयारी आवश्यक छ ।

१) हतार नगर्ने : अहिले स्कुल लागेन भनेर शिक्षक अनि विद्यार्थीले चिन्ता गर्न जरुरी छैन । विद्यार्थीले परिस्थितिबाटै पनि सिक्दै छन् । अहिले स्वास्थ्य र सुरक्षा नै पहिलो प्राथमिकता हो । १९१८–१९१९ को स्पेनिस फ्लु, १९५७–५८ को एसियन फ्लु अनि २००९ को स्वाइन फ्लुका वेलामा पनि स्कुल बन्द गरिँदा रोग फैलिन कम भएको थियो । अध्ययनलाई आधार मान्दा यस्ता वेलामा स्कुल बन्द गरिँदा २९ देखि ३७ प्रतिशतसम्म रोग फैलिनबाट रोकिन्छ ।

सरकारको ठोस योजना अनि तयारीविना फाट्टफुट्ट अनलाइन कक्षा सञ्चालित त छन्, तर प्रभावकारी हुन सकेका छैनन् । दूर–शिक्षाका निम्ति पूर्वाधार अनि स्पष्ट नीति छैन । संक्रमणकालीन अवस्थामा पनि कसरी पठनपाठन गर्ने अनि भोलि स्कुल खोल्दै गर्दा आवश्यक पर्ने नीति, रणनीति अनि पूर्वाधार कसरी तयार गर्ने भन्ने तयारीमा जुट्नुपर्ने वेला शिक्षा मन्त्रालय गहिरो निद्रामा छ । विद्यार्थी र अभिभावक मानसिक रूपमा तयार नभएसम्म स्कुल खोल्न सकिँदैन, मानसिक रूपमा तयार गराउने जिम्मा सरकारकै हो । 

२) पूर्वतयारी नीति र रणनीति : सरकारले प्रत्येक स्कुल खोल्नुअघि गर्नुपर्ने तयारी अनि खोलेपछि गर्ने तयारीबारे विद्यालयमार्फत शिक्षक र कर्मचारीलाई तालिम दिन जरुरी छ । संक्रमण दर कम भएका क्षेत्रबाट स्कुल खोल्न सुरु गर्नुपर्छ । कक्षा पनि साताको केही दिन अनि दिनको केही समय खोल्ने नीति अवलम्बन गरिनुपर्छ । शारीरिक दूरीको पालना गर्न एउटा कक्षाका विद्यार्थीलाई कक्षा हेरेर दुई वा चार भागमा बाँड्न सकिन्छ । आवश्यक परे खुला चौरमै पनि कक्षा सञ्चालन गर्न सकिन्छ । रोलनम्बरअनुसार एक दिन बिराएर कक्षा सञ्चालन गर्न सकिन्छ । जोखिमपूर्ण क्षेत्रका स्कुल खोल्न हुँदैन । अब देशभरिका विद्यार्थी एकैदिन एकै तरिकाले स्कुल जान हाललाई सम्भव छैन । 

सरकारको नीति शिक्षक, विद्यार्थी अनि अभिभावकमुखी हुन जरुरी छ । जुन घाउ व्यवसाय र जागिरमा लागेको छ, स्कुलको शुल्क अब अभिभावकले तिर्न सकेनन् भने के हुन्छ ? शिक्षकका लागि कस्तो राहत प्याकेज आउँछ ? स्कुल सञ्चालन गर्न थप जनशक्ति कहाँबाट आउँछ ? चुनौती सानो छैन । यदि एकजना पनि विद्यार्थी बिरामी भए के गर्ने भन्ने स्पष्टता अनि तयारीविना स्कुल खोल्न सकिँदैन । 

संक्रमण दर कम भएका क्षेत्रबाट स्कुल खोल्न सुरु गरी साताको केही दिन र केही समय कक्षा सञ्चालन गरिनुपर्छ । शारीरिक दूरीको पालना गर्न एउटा कक्षाका विद्यार्थीलाई कक्षा हेरेर दुई वा चार भागमा बाँडी रोलनम्बरअनुसार एक दिन बिराएर कक्षा सञ्चालन गर्न सकिन्छ ।

डेनमार्ककै अभ्यास हेर्ने हो भने स्कुलभित्र अभिभावकलाई प्रवेश दिइएको छैन । शिक्षक तथा कर्मचारी ‘स्टाफ रुम’मा भेला हुन पाउँदैनन् । घन्टैपिच्छे विद्यार्थीलाई हात धुन लगाइन्छ । विद्यार्थी स–सानो समूहमा मात्र खेलमैदानमा पस्छन् । एक–अर्कालाई छोइने फुटबलजस्ता खेल खेल्न दिइएको छैन । यति तयारी गर्दा पनि त्यहीँका अभिभावक फेसबुकमा ग्रुप बनाएर ‘अर्थतन्त्र जोगाउन बच्चाको कुर्बानी दिएको’मा विरोध गर्दै छन् । फेरि कोरोना पूरै हराएपछि स्कुल खोलौँला भनेर बाँसुरी बजाएर मात्र बसे सरकारको ठूलो शैक्षिक अपराध ठहरिनेछ ।

३) पूर्वाधार र व्यवस्थापन : विद्यार्थी र शिक्षक÷कर्मचारीको ज्वरो जाँच्ने, मास्क लगाउने, सरसफाइमा कडा निर्देशनसहित सांघाईका स्कुल तीन महिनापछि खुले । स्थिति हेर्दा विद्यार्थी स्कुल जाँदै थिए वा अस्पताल, छुट्याउन गाह्रो थियो । कक्षाकोठाका भित्ता कोरोनाबाट कसरी बच्ने भन्ने उपदेशबाट रंगिएका थिए । क्यान्टिन सिसाले बारिएका थिए । कक्षाकोठामा वेलावेलामा कीटनाशक प्रयोग गरिएको थियो । क्याफे र कक्षामा समेत विद्यार्थीलाई दुई मिटर दूरीमा राखिएको थियो । स्कुलमा यत्रतत्र मास्क, साबुन, स्यानिटाइजर देखिन्थे ।

एउटा कार्यक्रममा स्कुल खोल्ने बहस गर्दा एकजना आमाको प्रश्न सम्झन्छु– ‘मेरो छोरालाई त केही नहोला, ऊ युवा छ, तर उसले उसको कान्छो छोरा, जो किड्नीको बिरामी छ, उसलाई कोरोना सारिदियो भने के हुन्छ ?’ यस्ता चिन्ता आज हरेक आमाबुबाको मनमा उब्जेको छ । तसर्थ, स्पष्ट रूपमा स्कुलमा सरसफाइ, हात धुने व्यवस्था, सुरक्षित साधनबारे चेतना तथा खानामा स्पष्ट मापदण्ड चाहिन्छ ।

स्कुल खोल्दा प्राथमिकता निर्धारण गरी सुरुमा अनलाइनबाट पढाउन गाह्रो हुने तल्लो कक्षाका विद्यार्थीका निम्ति अनि १२ कक्षाका विद्यार्थीका लागि कक्षा सुचारु गर्न सकिन्छ । साना विद्यालय जाँदा अभिभावक काममा फर्कन सजिलो हुन्छ । अर्को उपाय भनेको आधा विद्यार्थी कक्षाबाट अनि आधा घरबाट पढ्न सक्छन् । अर्को दिन उल्ट्याएर आधालाई घरबाट अनि बाँकी आधालाई स्कुल ल्याएर पढाउन सकिन्छ । अनि, जो स्कुल आउन असुरक्षित महसुस गरिरहेका छन्, उनीहरू त्यही कक्षामा अनलाइनमार्फत जोडिन सक्छन् । त्यति मात्र होइन, स्कुल जाँदा पनि बसमा दूरीलगायतका सुरक्षाका उपाय कायम गरिनुपर्छ । अब बस आधा खाली चलाउनुपर्नेछ । वा, विद्यार्थीलाई अभिभावकले नै छोड्ने/लिन आउने नीति अवलम्बन गरिनुपर्छ । स्कुलका भुइँमा सामाजिक दूरीका निम्ति घेराहरू बनाउन जरुरी छ । पाठ्यक्रम परिवर्तन अनि परिमार्जन गर्न जरुरी छ । ‘ह्यापिनेस क्लास’ सञ्चालन गरेर तनाव व्यवस्थापन गर्न सिकाउन जरुरी छ । नयाँ शैक्षिक क्यालेन्डर जारी गरिनुपर्छ । चीनमा गरिएका दुइटा अध्ययनले कोभिड–१९ अन्य फ्लुको तुलनामा बालबालिकालाई धेरै नसर्ने पाइएको छ । बालबालिकामा ६० वर्षमाथिकालाई भन्दा दुई हजार गुना कम खतरनाक हुने पाइएको थियो । तैपनि, अहिले नै निष्कर्ष निकाल्न हतार हुनेछ ।

४) सावधानी, सहयोग र सुरक्षा : जर्मन भाइरसविद् क्रिस्टियन ड्रोस्टेन तथा उनको टोलीले गरेको अर्को अध्ययनले भने फरक नतिजा ल्याएको छ । लक्षण नदेखिए पनि संक्रमित बालबालिकाको अध्ययन गर्दा ठूलाको जस्तै भाइरसको संक्रमण फैलिएको थियो । उनीहरूको निष्कर्ष थियो, स्कुल खोलिए स्कुल संक्रमणको नयाँ हब बन्नेछ । स्कुल खोल्न व्यावहारिक रूपमा सजिलो भने हुनेछैन । बालबालिकालाई यो नछोऊ, यो नगर भनेर हेरचाह गर्न सजिलो छैन, तर अब संसारसँग विकल्प पनि त छैन । अबको शिक्षाको प्रारम्भिक पाठ्यक्रम भनेको नै कोभिड–१९ बाट कसरी समाजलाई बचाउने अनि आफ्नो समुदायलाई सुरक्षित राख्ने भन्ने नै हुनेछ । साथै, शिक्षक अनि विद्यार्थीको मानसिक स्वास्थ्यबारे पनि विद्यालयले निश्चित नीति तथा कार्यक्रम ल्याउन सक्नुपर्छ । आवश्यक रहँदा मानसिक परामर्शको तयारी पनि स्कुलमै गरिन जरुरी छ ।

विद्यार्थीमा लक्षण देखिए स्कुल बन्द गरेर परीक्षण गरिहाल्ने बन्दोबस्त मिलाउनुपर्छ । संक्रमण घटे वा बढेसँगै स्कुल खुल्ने अनि बन्द हुने भइरहनेछन् । अबको शिक्षा प्रणालीले शिक्षामा आवश्यक तर हामीले अहिलेसम्म अभ्यास नगरेको संयन्त्रको समेत माग गर्छ । शिक्षक अनि विद्यार्थीलाई सहयोग गर्ने, निगरानी गर्ने अनि सुरक्षा अवस्था अनुगमन गर्ने छुट्टै संयन्त्रसमेत अब आवश्यक छ । सरकारले शिक्षकलाई समेत सुरक्षित बनाउने स्पष्ट रणनीति बनाएर प्रत्याभूति नदिलाएसम्म स्कुल खुल्न सक्दैनन् । स्कुलमा आउन नसकेका विद्यार्थीलाई शिक्षक आफैँले सम्पर्क गर्नुपर्ने हुन्छ । अबको शिक्षामा आत्मीयता, माया, प्रेम, समानुभूति झल्किन जरुरी छ । मधुमेह, मुटुरोग आदिबाट ग्रसित शिक्षकले घरबाटै अनलाइनमा पढाउन सक्ने सुविधा पाउनुपर्छ । 

निष्कर्ष : युद्ध, भोकमरी, प्राकृतिक प्रकोपमा पनि स्कुल तुरुन्तै खोल्न प्रयत्न गरिएको हुन्छ । तर, स्कुल खोल्न सजिलो छैन । छिटो खोल्दा विद्यार्थीको स्वास्थ्य र सुरक्षाको चिन्ता हुन्छ भने ढिलो गर्दा विद्यार्थीको वृत्तिविकासको । हालको तयारी हेर्दा दसैँअगाडि स्कुल पूर्ण रूपमा सञ्चालन हुने देखिँदैन । अनि, स्कुल खुलेपछि पनि जब विद्यार्थी लामो ‘कोरोना बिदा’बाट फर्कनेछन्, स्कुलमा मूल सभा ( एसेम्बली) हुनेछैन, ढोकामा बसेका शिक्षकलाई विद्यार्थीले ‘शुभ प्रभात’ भन्ने माहोल हुनेछैन । विद्यार्थीले साथीसंगीसँग अंकमाल गर्न पाउनेछैनन् । अध्ययन भ्रमण लामै समय हुनेछैन । हाम्रो दैनिकीमा आएको परिवर्तन अब कक्षाकोठामा पनि देखिनेछ । तर, परिवर्तनले अगाडिको बाटो रोज्छ वा पछाडिको, त्यो हाम्रै नेतृत्वको हातमा छ । 

स्पेनिस फ्लु होस् वा इबोला, महामारीले प्रभावित देशलाई तिनको कमजोरी देखाइदिएको छ । यो महामारीले पनि हाम्रो स्वास्थ्य अनि शिक्षा प्रणालीमा आमूल सुधार्नुपर्ने देखाइदिएको छ । युरोपले स्पेनिस फ्लुपछि स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याएको थियो । अफ्रिकी देशहरूले इबोलापछि शिक्षामा बजेट बढाएका थिए । के हामी पनि कोरोनाको रातपछि शिक्षामा सुनौलो बिहानीको अपेक्षा गर्न सक्छौँ ? चुनौतीहरू शक्तिशाली अवसर बनेर उभिएका छन् । 

(पाण्डे विवेकशील नेपाली दलका अध्यक्ष हुन्)