मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
कञ्चन न्यौपाने काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार ०७:१६:००
नयाँCity

लकडाउनमा चराको चिरबिर

कञ्चन न्यौपाने काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार ०७:१६:००

११ चैतमा देशव्यापी लकडाउन घोषणा हुँदा वसन्त ऋतु दोस्रो सातामा थियो । रूख बुट्यानले पालुवा हाल्दै थिए । चराचुरुंगीको बच्चा कोरल्ने समय पनि सुरु हुँदै थियो । 

लकडाउन लम्बिँदै गएर वसन्तपछि गृष्म ऋतुको आगमन भइसकेको छ । र, सहरी इलाकामा पनि चराचुरुंगीको चिरबिर सुन्न थालिएको छ । पक्षीविद्हरूका अनुसार नेपालका ८० प्रतिशत रैथाने चराले चल्ला कोरल्ने समय हो वसन्त ऋतु ।

काठमाडौंआसपास पाइने जुरेली, भंगेरा, धोबिनी, दुई प्र्रकारका काग, मैना, गौँथली, तोपचरा र चिलले यहीवेला चल्ला कोरल्छन् । कोइली, मुरलीलगायत चरा भने भारत, श्रीलंका र दक्षिणपूर्वी एसियाबाट वसन्तमा यहाँ आउँछन् र चल्ला कोरल्छन् ।

‘तनाव घटाउन चराको आवाज र गतिविधिले एक प्रकारको थेरापीको काम गर्छ, जसलाई ‘बर्ड थेरापी’ पनि भनिन्छ । चराको आवाज आफैँमा प्राकृतिक संगीत हो, जसले हाम्रो दिमागलाई फ्रेस बनाउँछ ।’

‘कति चराले चल्ला कोरलिसके भने कति कोरल्ने क्रममा छन्,’ पक्षीविद् सोम जिसी भन्छन्, ‘चराले आफ्ना बचेरालाई सम्पर्कमा राख्न यसवेला अन्य समयभन्दा धेरै संवाद गर्छन् । घर–घरमा चराको आवाज गुञ्जिनुको कारण पनि यही हो ।’

लकडाउनका कारण गाडीको चर्को आवाज छैन, सहरी क्षेत्रमा अहिले । आन्तरिक–बाह्य सबै उडान बन्द भएकाले जहाजको आवाज पनि आउँदैन । मानिसको भिडभाड र कोलाहल पनि नहुँदा चराचुरुंगीलाई खुलेर संवाद गर्ने अवसर अहिलेको वातावरणले दिएको पक्षीविद् डा. हेमसागर बराल बताउँछन् । ‘लकडाउनले चराचुरुंगीलाई भने लाभदायक वातावरण दियो,’ डा. बराल भन्छन्, ‘तिनले आफ्नो संख्या बढाउने राम्रो मौका पाए यतिवेला ।’

उनका अनुसार प्रजननका लागि गुँडमा बस्दा चराहरूले शान्त वातावरण खोज्छन् । ‘चारवटा फुल लिएर जुरेली ओथारो बसेको छ भने चारवटै चल्ला हुर्किने सम्भावना छ यो समयमा,’ उनी भन्छन्, ‘चराको संख्यामा वृद्धि हुनु सकारात्मक पाटो हो ।’

कोभिड–१९ को त्रासबीच लागू गरिएको लकडाउनमा त चराको उपस्थिति झनै महत्वपूर्ण भएको डा. बराल बताउँछन् । ‘तनाव घटाउन चराको आवाज र गतिविधिले एक प्रकारको थेरापीको काम गर्छ, जसलाई ‘बर्ड थेरापी’ पनि भनिन्छ,’ उनी भन्छन्, ‘चराको आवाज आफैँमा प्राकृतिक संगीत हो, जसले हाम्रो दिमागलाई फ्रेस बनाउँछ ।’

पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे यसअघि गाडी र जहाजको आवाजमा हराउने पक्षीको चिरबिर अहिलेको शान्त वातावरणमा प्रस्ट सुनिएको बताउँछन् । आफ्नो चरन क्षेत्रमा मानिसको आगमन नहुँदाको लाभ चराचुरुंगीले उठाइरहेको उनको बुझाइ छ ।

‘खेतबारीमा पनि खासै काम भएको छैन । बालीमा प्रयोग हुने कीटनाशक औषधिको प्रयोग पनि कम छ,’ उनी भन्छन्, ‘त्यसैले कीटनाशक औषधि खाएर चराचुरुंगी मर्ने सम्भावना पनि यतिवेला कम भएको छ । कोलाहल कम भएकाले चरालाई गुँड बनाउन पनि सहज भएको छ ।’

मानवीय उपस्थिति कम हुनुको बेफाइदा पनि बेहोरिरहेका छन् चराचुरुंगीले । घिमिरेका अनुसार मन्दिरआसपासमा भक्तजनले दिने चारोमा निर्भर परेवालगायत पक्षीले आहारा खोज्न अन्यत्रै उड्नु परिरहेको छ । ‘चराचुरुंगीमा ठाउँअनुसार लकडाउनको असर छ,’ पक्षीविद् जिसी भन्छन्, ‘सहरी इलाकामा चरालाई शान्ति भएसँगै गाउँ–घरतिर सिकारको जोखिम पनि बढ्दो छ ।’

डा. बराल भने चराचुरुंगी मानिसले दिने चारोमै सीमित नरहने बताउँछन् । ‘यतिवेला बाहिर पनि चराका लागि प्रशस्त खानेकुरा छ,’ उनी भन्छन्, ‘तर, यही कुरा जाडोयाममा हुँदैनथ्यो । किनकि, जाडो मौसममा चराका आहारा किरा, फट्यांग्रा र फलफूल पनि कम हुन्छन् ।’ उनका अनुसार चराले बालीनालीमा आउने हानिकारक किरा, फट्यांग्रा खाइदिन्छन् । ‘त्यसैले त चरालाई किसानको साथी पनि भनिन्छ,’ उनी भन्छन् ।

तस्बिर : दिपेन्द्र ढुंगाना / नयाँ पत्रिका