मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज २ शनिबार
  • Saturday, 18 September, 2021
२०७७ जेठ ९ शुक्रबार ०५:१५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

गोदी पत्रकारिताले रन्थनिएको देश

Read Time : > 4 मिनेट
२०७७ जेठ ९ शुक्रबार ०५:१५:००

राष्ट्रका आगामी चुनौतीहरू संवेदनशील छन् र सिंगो देश एक ठाउँमा उभिएर त्यसको सामना गर्नु छ 

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत सरकारको चिसो प्रतिक्रियाले भन्दा भारतीय न्युज च्यानलहरूको भद्दा प्रतिक्रियाले नेपाली समाज उद्वेलित भएको छ । अहिलेसम्म भारतकै अल्पसंख्यक, संस्थापनविरोधी, दलित र आदिवासी अनि पाकिस्तान र चीनविरुद्ध भारतीय च्यानलहरूको रोमाञ्चक जेहाद देखेका नेपाली यसपटक त्यो तोप आफैँतिर फर्केपछि स्तब्ध भएका छन् ।

भारतीय च्यानलहरूलाई नेपालीले अलि नजिकबाट चिनेको ०७२ को भूकम्पताका हो । टिआरपीका सट्टेबाज भारतीय रिपोर्टरहरूले त्यो वेला नेपाललाई भूकम्पले भन्दा बढी अत्याए, त्यसैले ‘गो ब्याक इन्डियन मिडिया’ ह्यासट्याग चलाउनुपर्ने अवस्था आयो । पत्रकार महासंघ र प्रेस काउन्सिलका तत्कालीन अध्यक्षले संयुक्त विज्ञप्ति नै निकालेर भारतीय मिडियालाई आचारसंहिता सम्झाउन परेको थियो । अलि समझदार भारतीयहरूले हाम्रो ह्यासट्यागमा टिप्पणी पनि गरे, ‘जुन मिडियालाई तिमी नेपालीहरूले तीन दिन सहन सकेनौ, हामीले दिनका दिन कसरी सहेका छौँ होला ?’

अधिकांश भारतीय च्यानल तथ्य र तर्कको चिन्ता गर्दैैनन् । देशभित्र होस् वा बाहिर, कुनै मानक पूरा गर्दैनन् । ती आफैँ चोर जन्माउँछन्, आफैँ प्रहरी हुन्छन् र पक्राउ गर्छन् । आफैँ अदालत खडा गर्छन् र आफैँ फैसला सुनाउँछन् । 

नेपालका हकमा पनि तिनका केही स्थायी फैसला छन् । नेपाल चीनको पिछलग्गु भइसकेको छ । नेपाल दिल्लीको न्यानो काख छोडेर बेइजिङको कोक्रोमा झुला खेलिरहेको छ । पछिल्ला दिनमा त स्टुडियोहरू यसरी पेस हुन्छन् मानौँ काठमाडौंमा चिनियाँ सैनिकको परेड चलिरहेको छ र ती राति नै दशगजा पार गरेर दिल्ली हान्दै छन् । 

क्यामेराअघि उभिएपछि भारतीय प्रस्तोतामा त्यसै भूत चढ्छ । यौनशोषणको हरेक फरार आरोपी बाबा उनीहरूको नजरमा नेपालमै लुकेको हुन सक्छ । भागेकी हनीप्रित कौर पक्कै नेपालमा आउँछिन् । दिल्लीमा भेटिएका सात आतंकवादी पक्कै नेपालबाट छिरेका हुन् । र, नेपालको अर्थतन्त्र नै पाकिस्तानी आतंकवादी र नक्कली भारु भारत छिराएर चलेको छ ।

अलि अघि भारतीय तरकारीको विषादी परीक्षणको चर्चा के चल्यो, दिल्लीमा गजबका हेडिङ सुरु भए । हाम्रो सरकार छिटोछिटो विनम्र सफाइ दिएर विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटिसकेको थियो, तर भारतीय च्यानलहरू चिच्याइरहेका थिए, ‘नेपालले चीनको दबाबमा भारतीय कच्चा माल, फलफूल र तरकारीमा प्रतिबन्ध लगायो ।’ फेरि, कोरोना कहर भर्खर सुरु हुँदै थियो, तर स्टुडियोहरू कुर्लिरहेका थिए, ‘नेपालबाट सयौँ पाकिस्तानी संक्रमित भारत छिर्दै छन् ।’ 

लोकतन्त्रमा मिडियाको लिखित कर्तव्य केही हुँदैन, तर दायित्व अवश्य हुन्छन् । तर, भारतीय टेलिभिजन मिडिया यसको अपवाद हो । टिआरपी नै यसको मूल्य हो, मान्यता हो र धर्म हो । भारतीयहरू नै भन्छन्, ‘अब समाचारबाट रिपोर्टरहरू हराइसकेका छन्, केवल प्रोड्युसर बाँकी छन् । एकताका च्यानलहरूमा प्रकट हुने निर्मल बाबा पानीपुरीको झोल पिलाएर क्यान्सर ‘निको’ पार्थे । त्यसैले त रविश कुमार भन्दै आएका छन्– नाली भनेको यही मिडिया हो जसले झुटा समाचार गलत इतिहासबाट देश होइन, भिड जगाइरहेको छ ।

भारतीय मिडियाले पाठ नपढाए पनि हामीलाई थाहा छ– भारत नेपालभन्दा २२ गुणा ठूलो छ । भारतको सात हजार किलोमिटर समुद्री सीमा छ, हाम्रो शून्य । हाम्रो कुल जनसंख्याभन्दा भारतको वार्षिक जन्मदर नै धेरै छ । भारतसँग संसारमै तेस्रो ठूलो चलायमान सेना छ । के यो सब कारणले आफ्नो भूमिमाथि हाम्रो दाबी अनुचित हुन्छ ?
 

अहिले नक्सा–युद्ध कसले सुरु गरेको हो ? भारतले । नेपाली भूमिमा तामझामपूर्वक सडक बनाएर र अझ सेनापतिलाई बोल्न लगाएर नेपाललाई उत्तेजित कसले बनायो ? भारतले । ५८ वर्षदेखि अरूको भूमिमा को बसेको छ ? भारत । तर, अब अन्याय कसले गर्‍यो ? नेपालले ! भारतीय च्यानलहरूलाई इतिहासका दस्तावेजहरूसँग केही सरोकार छैन । पाकिस्तान र चीनसँग नयाँ लफडा केही नभएको, जेएनयू सुतेको र कास्मिर दबेको यो शून्यकालमा ती नेपालतिर खनिएका छन्, टिआरपीका लागि ।

भारतीय मिडियाले पाठ नपढाए पनि हामीलार्ई थाहा छ– भारत नेपालभन्दा २२ गुणा ठूलो छ । भारतको सात हजार किलोमिटर समुद्री सीमा छ, हाम्रो शून्य । हाम्रो कुल जनसंख्याभन्दा भारतको वार्षिक जन्मदर नै धेरै छ । भारतसँग संसारमै तेस्रो ठूलो चलायमान सेना छ । के यो सब कारणले आफ्नो भूमिमाथि हाम्रो दाबी अनुचित हुन्छ ?

अभिनेत्री मनीषा कोइरालाले राष्ट्रको पक्षमा एउटा ट्विट के गरिन्, भारतीय न्युज च्यानल दुःशासन भएर चीरहरणमा उत्रिए । च्यानलहरूको दाबी छ– भारत नभए नेपाल के खान्छ ? तिनलाई तथ्यांकहरूसँग केही सरोकार छैन । भारतबाट नेपाल आउनेभन्दा नेपालबाट भारत जाने रेमिट्यान्स झन्डै चार गुणा बढी छ । सन् २०१९ मा नेपालबाट भारत गएको रेमिट्यान्स चार खर्ब ७० अर्ब छ भने भारतबाट जम्मा एक खर्ब ३८ अर्ब भित्रिएको छ । तर, च्यानलहरू दरबानहरूको तलबबाट नेपाल चलेको छ भन्ने ठान्छन् । अर्कातिर नेपाल भारतको सबैभन्दा ठूलो १० व्यापारिक साझेदारमध्ये एक हो । गत आर्थिक वर्षमा मात्रै नेपालले भारतबाट नौ खर्ब १८ अर्बको सामान किनेको थियो जब कि भारतले ६३ अर्ब । 

भारतीय न्युज च्यानलहरू कहिले सपेराको नाच देखाउँछन्, कहिले युधिष्ठिर स्वर्ग गएको ‘लाइभ’ देखाउँछन् । तीबाट तथ्यपूर्ण, सन्तुलित र आलोचनात्मक समाचारको अपेक्षा गर्नु नै हाम्रो मूर्खता हो । पाकिस्तानसँग सानो तनाव सुरु हुनुपर्छ, ती परमाणु आक्रमणबाट जोगिन कसरी भर्‍याङमुनि लुक्नुपर्छ भनेर देखाउँछन् । आफ्नै देशभित्र पनि ती मित्र होइन, शत्रु खोजिरहेका भेटिन्छन् । तिनको राडारमा अल्पसंख्यक, दलित, आदिवासी र गरिब कहीँ छैनन्, किनकि तिनको न्यायको पक्षमा बोल्दा टिआरपी बढ्दैन । 

खासमा भारतीय न्युज च्यानलहरू पत्रकारिताबाहेक सबै गर्छन् । अलि खुला सोच राख्ने आफ्नै छोरोको उमेरको एउटा प्रगतिशील युवालाई ‘देशद्रोही’ करार गर्दा कुनै एंकरको स्वर काँप्दैन, किनकि त्यसले सत्ता खुसी हुन्छ र कमाइ बढ्छ । पाकिस्तानप्रति घृणा र चीनप्रति कुण्ठा त उनीहरू खुला प्रदर्शन गर्छन् । पछिल्लो दिनमा त्यही कुण्ठा नेपाल शीर्षकमा पोखिएको छ । 

यता हाम्रा शासकहरू लायक हुन्थे भने हामीलाई नयाँ नक्सा जरुरी नै हुने थिएन । आधा शताब्दीदेखि आफ्नो भूमिमा विदेशी अतिक्रमण स्वीकार्य हुने थिएन । हाम्रै प्रधानमन्त्री केही दिनअघिसम्म ‘नक्सा त प्रेसमा छाप्न सकिन्छ, भूमि फर्काउने ठूलो कुरा हो’ भनिरहेका थिए । भूमिसुधारमन्त्रीकै स्वर पनि लड्पडाइरहेको थियो । तर, दिल्लीको नांगो प्रदर्शनले देशलाई नक्सा जारी गर्ने ठाउँमा पुर्‍याइछाड्यो । एउटा सम्प्रभु देशले आफ्नो वास्तविक भूमि समेटेर नक्सा जारी गर्‍यो । 

तर, भारतीय च्यानलहरूले अविवेकी, उन्मादपूर्ण र हेपाहा प्रस्तुतिले क्षुब्ध नेपाली अहिले आफ्नै मिडियालाई गाली गरिरहेका छन् । यता नेपालको व्यावसायिक मिडियाका आफ्नै दुःख छन् । सरकारका लागि हामी अछुत हौँ । केही भन्नै परे प्रधानमन्त्रीजी सरकारी मिडिया जम्मा गरेर आधाजसो समय व्यवसायी मिडियालाई कटाक्ष गर्नुहुन्छ । राष्ट्रका आगामी चुनौतीहरू संवेदनशील छन् र सिंगो देश एक ठाउँमा उभिएर त्यसको सामना गर्नु छ । हाम्रा दस्तावेजहरूलाई स्थापित गर्नु छ र भूमि फिर्ता अनि अन्तर्राष्ट्रिय स्वीकार्यताको पेचिलो लडाइँ लड्नु छ । तर, भक्तहरूको एउटा झुन्डले अहिल्यैदेखि राष्ट्रवादको प्रमाणपत्र बाँड्न सुरु गरेको छ, मानौँ नयाँ नक्सा कुनै एक व्यक्तिको निजी साहस हो र त्यही अवतारले देशको रक्षा एक्लै गर्न सक्छ । 

भारतीय च्यानलहरूले नेपालमा एउटा लडाइँ जितेका छन् । उनीहरूका अत्याचारबाट तिल्मिलाएको नेपाली दर्शकको एउटा हिस्सा ‘यो शैली गलत हो’ भनिरहेको छैन, नेपाली मिडियालाई पनि त्यस्तै बन्न दबाब बढाइरहेको छ । तर, के हामी पनि घृणा र उन्मादको यही विवेकहीन आँधीमा मिसिन सक्छौँ ?