१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ८ बिहीबार २१:५३:००
Read Time : < 1 मिनेट
समाचार

अत्याधुनिक बन्दै रसुवागढी नाका, चीनले दियो उपकरण

Read Time : < 1 मिनेट
२०७७ जेठ ८ बिहीबार २१:५३:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीलाई प्रविधिमैत्री तथा अत्याधुनिक बनाइने भएको छ । नाका व्यवस्थापन गर्न चीनले प्रविधिसम्बन्धी आवश्यक सामग्री प्रदान गरेसँगै रसुवागढी नाका प्रविधिमैत्री तथा अत्याधुनिक बनाइने भएको हो ।

बिहीबार नेपाल र चीनको सिमाना रसुवागढीमा चीनको स्वशासित क्षेत्रअन्तर्गत तिब्बतको जिलोङ काउन्टी प्रशासनले सीमानाकामा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई सुरक्षा जाँचका लागि आवश्यक उपकरण प्रदान गरेको हो । करिब एक करोड रुपैपाँबराबरका सामग्री प्रदान गरेको भण्डारीले बताए ।

चीनले सीमानाकामा भन्सार र सुरक्षा जाँचका लागि ब्यागेज स्क्यानर मेसिन एक सेट, सीमानाकामा सुरक्षा जाँचका लागि वाक थ्रु गेट एक सेट, सीमा क्षेत्र र जिल्लामा सुरक्षा जाँचका लागि मेटल डिटेक्टर पाँच सेट र स्वास्थ्य जाँचका लागि आरडिटी किट १५ सयवटा प्रदान गरेको छ । उक्त सामग्री सीमा सुरक्षा जाँच र कोरोना भाइरस जाँचमा उपयोगी हुने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

उक्त प्रविधि जडान भएसँगै नाकामा अवैध गतिविधि रोक्न सहयोग पुग्ने भण्डारीले बताए । यद्यपि उक्त उपकरण तत्काल भने जडान नहुने बताइएको छ । प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘लकडाउन खुकुलो भयो र नाका सञ्चालन हुने भयो भने उक्त सामग्री जडान गर्छौं ।’ यसअघि नाकामा उपकरण नहुँदा हातले छामेको भरमा जाँच हुँदै आएको थियो ।