१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ८ बिहीबार २०:१५:००
Read Time : > 1 मिनेट
अर्थ

थानकोट डिपोमा इन्धनका दुई सय ट्यांकर अटाउने नयाँ पार्किङ बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ८ बिहीबार २०:१५:००

नेपाल आयल निगमको बागमती प्रदेश कार्यालय, थानकोटमा तेल बोकेका ट्यांकरलाई पार्किङ गर्न नयाँ पार्किङ निर्माण सुरु भएको छ । डिपोको पूर्वी भागमा खाली रहेको ३९ रोपनी जग्गामा पार्किङ निर्माणको काम अघि बढेको हो ।

थानकोट डिपो प्रमुख प्रदीप यादवले पार्किङ निर्माणका लागि टेन्डर भइसकेको जानकारी दिए । ‘आगामी असारसम्ममा नयाँ पार्किङ तयार भइसक्छ,’ उनले भने । नयाँ पार्किङ बनेपछि तेल बोकेर आएका र पालो कुरेर बसेका ट्यांकरलाई बाटोको छेउमा राख्नुपर्ने स्थितिको अन्त्य हुनेछ । पर्याप्त पार्किङको अभावमा अहिले थानकोट डिपोको अगाडि बाटोको छेउमा ट्यांकर राख्नुपर्ने बाध्यता छ ।

सकडमा ट्यांकर राख्दा स्थानीय बासिन्दाले बारम्बार गुनासो गर्दै आएका छन् । ‘स्थानीयको गुनासोसमेत चाँडै सम्बोधन हुनेछ,’ यादवले भने । डिपोअगाडिको चार रोपनी जग्गा साँघुरो भएकाले पार्किङमा समस्या हुँदै आएको छ । 

अहिले पार्किङ बन्दै गरेको जग्गा १० वर्षअघि दिगम्बर झा महाप्रबन्धक भएका वेला खरिद गरिएको थियो । यो अवधिसम्म पार्किङको समस्या भाग्दै आए पनि कसैले सो जग्गा उपयोग गर्न ध्यान दिएका थिएनन् ।

त्यसैगरी डिपोपरिसरको लोड–अनलोड गर्ने ठाउँमा समेत ढलानका लागि काम अघि बढेको छ । लोडिङ सेडमा ढलान नहुँदा वर्षामा हिलो हुने, हिउँदमा धुलो उड्ने समस्या हुँदै आएको छ ।

‘सो क्षेत्रमा समेत ढलान गरेपछि डिपो सुधारको काममा धेरै सफलता मिल्नेछ,’ यादवले भने । नयाँ पार्किङ स्थलको काम सकिएपछि पुरानो पार्किङ स्थलको जग्गामा अत्याधुनिक तालिम केन्द्र निर्माण गर्ने योजना रहेको उनले बताए । निगमसँग अहिले एउटा पनि तालिम केन्द्र छैन । जसकारण कुनै विषयको तालिम लिनुपऱ्यो भने इन्डियन आयल कर्पोरेसनले बोलाएको भारतको विभिन्न ठाउँमा जानुपर्ने बाध्यता छ ।

यसैबीच लकडाउनको वेला कोरोना भाइरस नियन्त्रणका लागि थानकोट डिपोले ट्यांकर प्रवेश गर्ने ठाउँमा ‘डिसइन्फेटिङ टनेल’ निर्माण गरेको छ । त्यहाँ ५ सेकेन्ड ट्यांकर रोकेर निर्मलीकरण स्प्रे छर्ने र डिपोमा प्रवेश दिइने गरेको यादवले बताए । त्यसैगरी डिपोमा प्रवेश गर्ने व्यक्तिका लागि पनि डिसइन्फेटिङ गेट बनाइएको छ । त्यहाँबाट प्रवेश गर्दा निर्मलीकरण गर्ने स्पे हालेर मात्र मानिसहरू डिपो प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ ।

डिपोभित्र काम गर्ने कर्मचारी तथा इन्धनको कारोबारका लागि आउने व्यवसायी तथा चालकका लागि स्यानिटाइजर, मास्क, पन्जा, थर्मलगनलगायतको व्यवस्था गरिएको छ । त्यस्तै, आयल निगमले देशभरका डिपो र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, तेल ढुवानी गर्ने ट्यांकरचालक र सम्बद्ध व्यवसायीको कोराेना परीक्षण सुरु गरेको छ । टेकुस्थित स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा सुरु भएको परीक्षणमा बिहीबार केन्द्रीय कार्यालय र थानकोट डिपोका कर्मचारीको परीक्षण भएको थियो ।