मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडौं
२०७७ जेठ ८ बिहीबार १८:५८:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

१२ सुरक्षाकर्मीमा कोरोना संक्रमण : उच्च मनोबलका साथ अग्रभागमा

Read Time : > 1 मिनेट
रासस काठमाडौं
२०७७ जेठ ८ बिहीबार १८:५८:००

कोरोना भाइरस फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । संक्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

प्राप्त विवरणअनुसार मुलुकमा चार सय ५३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १२ जना सुरक्षाकर्मी छन् । उनीहरूको आइसोलेसनमा राखेर उपचार जारी छ । 

नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका चार र नेपाली सेनाका दुईजनामा कोरोना भाइरस देखिएको हो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

आमसमुदायसँग नियमित रूपमा जोडिन पुग्ने सुरक्षाकर्मीमा रोग देखियो भने नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ । त्यसतर्फ सचेत हुनुपर्ने आवश्यकता सम्बद्ध सुरक्षा अधिकारीहरूले औँल्याएका छन् । स्वास्थ्य परीक्षण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जत्तिकै जोखिम सुरक्षाकर्मीलाई पनि छ । तर, स्वास्थ्यकर्मीले झैँ व्यक्तिगत सुरक्षा सामग्री र आवश्यक सावधानी अपनाउन सकिरहेका छैनन् । 

मानिसको भिडभाड रोक्नुपर्ने भएकाले चाहेर पनि उनीहरूले सामाजिक दूरी कायम गर्न सक्दैनन् । कपडाकै मास्कमा सुरक्षा दिएर बस्नु परिरहेको छ । हाल उपलब्ध स्रोतसाधनबीच उच्च मनोबलका साथ सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाही संक्रमण फैलिन नदिन सतर्कता अपनाएर उच्च मनोबलका साथ प्रहरीले काम गरिरहेको बताउँछन् ।  संक्रमण फैलनबाट रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टाइनको  व्यवस्थापन गरेका छन् । घर बिदाबाट आएकालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य मापदण्डअनुसार परिचालन गर्ने गरिएको छ । 

प्रवक्ता शाहीका अनुसार काठमाडौंको कालिमाटी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा बुधबार संक्रमण देखिएपछि वृत्तलाई नै सिल गरेर स्वास्थ्य परीक्षण थालिएको छ । धनकुटा, बारामा एक–एक र कपिलवस्तुमा दुई प्रहरीमा संक्रमण देखिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल अग्रपङ्क्तिमा खटिने प्रहरीमा संक्रमण हुन सक्छ भन्ने पूर्वानुमान रहेकाले केहीमा लाग्नु स्वाभाविक भएकाले प्रहरी अझै सतर्कताका साथ हतोत्साही नभई कार्यस्थलमा खटिएको बताउँछन् । 


सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीका चार कर्मचारीमा समेत कोरोना संक्रमण भएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ उच्च जोखिम मोलेर मुलुकको शान्तिसुरक्षामा खटिएका सशस्त्र प्रहरीमा केहीलाई संक्रमण देखिए पनि मनोबल नघट्ने बताउँछन् । 

आवश्यक सुरक्षा मापदण्डअनुसार नै सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए । 

नेपाली सेनामा दुई अधिकृतलाई समेत कोरोना संक्रमण देखिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार विदेशमा थप एकजनालाई संक्रमण भएको छ । 

मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न होस् या अन्य घटना हुँदा आमनागरिकले पहिले सम्झने प्रहरीलाई हो । सामान्य भिडभाड, झै–झगडा, दुर्घटना चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपङ्क्तिमा हुन्छ । अर्को घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेना बसेको हुन्छ । अनुसन्धान विभागले आवश्यक सूचना संकलन गरेर सरकारलाई मुलुकमा आइपर्ने चुनौतीबारे सूचना दिइरहेको हुन्छ ।
 
हरेक विषयमा अग्रभागमा रहने सुरक्षाकर्मीसामु अहिलेको विषम परिस्थितिमा कोरोनाको संक्रमण रोकथाममा पनि अहं भूमिका हुन्छ । सरकारले आदेश जारी गरेको लकडाउन कार्यान्वयनमा सडकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ । 

नेपाली सेना स्वास्थ्योपचारलगायतका सरकारले तोकेका अन्य क्रियाकलापमा सहभागी भइरहेको छ । सीमा क्षेत्रमा हुने आवागमन रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय छन् । उनीहरूलाई सरकारले आवश्यक बिमाको समेत व्यवस्था गरेको छ ।