१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ८ बिहीबार १८:३०:००
Read Time : > 1 मिनेट
समाचार

स्वअध्ययनका लागि घरघरमै पाठ्यपुस्तक पुर्‍याउँदै बाग्लुङका सामुदायिक विद्यालय

Read Time : > 1 मिनेट
२०७७ जेठ ८ बिहीबार १८:३०:००

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिँदै गएर विद्यालय तत्काल खुल्ने सम्भावना नभएपछि बाग्लुङका सामुदायिक विद्यालयले घरघरमै पाठ्यपुस्तक पुर्‍याउन थालेका छन् ।

गत ५ चैतमै विद्यालयको वार्षिक परीक्षा सकाएर बिदामा रहेका विद्यार्थी अहिले घरमै छन् । तत्काल नियमित कक्षा सञ्चालनको सम्भावना नरहेकाले जिल्लाका केही सामुदायिक विद्यालयले स्वअध्ययनका लागि विद्यार्थीको घरघरमै पाठ्यपुस्तक पुर्‍याउन थालेका हुन् ।

बाग्लुङ नगरपालिका–१३ पैयुँपाटास्थित जनमत माध्यमिक विद्यालयले सबै कक्षाका विद्यार्थीका लागि अभिभावकमार्फत घरघरमै पाठ्यपुस्तक पुर्‍याएको छ । ‘हामीले वैशाखको दोेस्रो साता सबै तहको नतिजा प्रकाशन गऱ्याैँ,’ विद्यालयका प्रधानाध्यापक पर्शुराम रिजालले भने, ‘विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरू तथा अभिभावक र विद्यार्थीले तत्काल घरमै स्वअध्ययन गर्ने भनेपछि विद्यालयको तर्फबाट नयाँ पाठ्यपुस्तक खरिद गरी घरघरमै पुऱ्याएका छौँ ।’

विद्यालयले हालसम्म करिब एक सय ५० विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक वितरण गरिसकेको छ । विद्यालयले लकडाउनको अवधि अझै बढ्दै गए समय–समयमा घरमै पुगेर विद्यार्थीलाई गृहकार्य दिने र उनीहरूको ध्यान पढाइमै केन्द्रित गराउने योजनासमेत बनाएको छ । अभिभावक मीना अधिकारीले विद्यालयको कदम सराहनीय भएको भन्दै यस्तो अभियानले विद्यार्थीलाई पढाइमै ध्यान केन्द्रित गर्न सहयोग पुग्ने बताइन् । 

जैमिनी नगरपालिकाका– ६ अर्जेवास्थित जनशिक्षित माविका शिक्षक गोविन्द चालिसेले नतिजा प्रकाशन गरिएसँगै विद्यार्थीलाई माथिल्लो कक्षामा अध्ययन गरेका विद्यार्थीबाट पाठ्यपुस्तक उपलब्ध गराएर स्वअध्ययन गर्न लगाइएको बताए । बाग्लुङ नगरपालिकाका शिक्षा अधिकृत गौरव रानाले शैक्षिक कार्यक्रमको सम्पूर्ण अधिकार सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई दिइएको बताए ।

वर्कबुक छाप्दै स्थानीय तह
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्यायले जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुऱ्याउन पुस्तक व्यवसायीसँग समन्वय गरेर आवश्यक पहल थालिएको बताए । उनका अनुसार मानव सेवा विकास केन्द्रले ४५ दिने वर्कबुक तयार गरेको छ ।

त्यो वर्कबुक बरेङ गाउँपालिकाले छापेर आफ्नो पालिकाको सबै विद्यालयमा पठाइसकेको छ । उनले अन्य पालिकालाई पनि वर्कबुक वितरण गर्न आग्रह गरिएको बताए । बाग्लुङमा पाँच सय २५ सामुदायिक विद्यालय र ६४ संस्थागत विद्यालय रहेका छन् ।