मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ८ बिहीबार १४:५५:००
Read Time : > 2 मिनेट
अर्थ

कोरोना संकटले गुल्मेलीमा कृषि मोह बढायो, वर्षौंसम्म बाँझो रहेका जग्गा प्रयोगमा आउन थाले

Read Time : > 2 मिनेट
२०७७ जेठ ८ बिहीबार १४:५५:००

गुल्मी धुर्कोट गाउँपालिका– २ पिपलधारा शुफ्लकी ३५ वर्षीया विष्णु विकको दैनिकी बदलिएको छ । उनलाई अचेल सिकर्मी–डकर्मी बहुउद्देश्यीय सहकारी संस्थाले काम दिएको छ । 

विक दैनिक खाडल खन्ने, झाडी सफाइ गर्ने काममा व्यस्त छिन् । उक्त काम गरेबापत नास्ता खाएर दैनिक चार सय कमाइ पनि भएको छ । 

सहकारीमार्फत उनीजस्तै दैनिक ४० देखि डेढ सयसम्मले काम पाएका छन् । कोरोना संक्रमणको कारण लकडाउन बढ्दै जाँदा खाद्यसंकट आउने विज्ञहरूले चेतावनी दिएका छन् । 

विदेशमा कम्पनीहरू बन्द भएपछि वैदेशिक रोजगारीमा गएकाहरू पनि घर फर्किंदै छन् । जसका कारण स्थानीय तहहरूले कृषि कर्म उत्पादनलाई प्राथमिकता दिन थालेका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिकाले लकडाउन बढ्दै गएपछि बाँझो जग्गामा खेती गर्ने व्यक्ति र सहकारीलाई अनुदानको व्यवस्था गरेपछि पिपलधाराका युवा सहकारी नै गठन गरेर सामूहिक कृषि खेतीतर्फ लागेका छन् । 

उनीहरूले विगत १० वर्षदेखि बाँझो रहेको दुई सय ६० रोपनी जग्गामा सुन्तला र कागती खेतीसँगै भैँसी र बाख्रा फर्म सञ्चालन गर्ने योजना बनाएका छन् । 

अहिले झाडी फाँडेर खाडल खन्ने, खोर निर्माण गर्नेलगायतका काम भएको सहकारीका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले जानकारी दिए ।

१५ वर्षका लागि निःशुल्क जग्गा
सहकारीले १५ वर्षलाई जग्गा भाडामा लिएको छ । कुल १७ जना जग्गाधनीले १५ वर्षसम्म निःशुल्क जग्गा सहकारीलाई उपलब्ध गराएका छन् । 

१५ वर्षसम्मको भोगाधिकारपछि जग्गाधनीलाई सहकारीले जग्गा फिर्ता गर्नेछ । दुई सय ६० रोपनी जग्गालाई तीन भाग अर्थात् तीन प्लटमा वर्गीकरण गरिएको छ । 

जसमध्ये दुई सय रोपनीमा ६ हजार कागती लगाउने, ३० रोपनी जग्गामा तरकारी र मसलेदार खेती लगाइने सहकारी अध्यक्ष विश्वकर्माले बताए । 

बाँकी ३० रोपनी जग्गामा ओखर खेती, गोठ तथा खोर निर्माण गरेर अहिलेलाई पाँच भैँसी र ६० बाख्रा व्यावसायिक रूपमा पाल्न सुरु गरिएको छ । 

उनले आगामी दिनमा फर्ममा १० भैँसी र एक सय बाख्रा पुऱ्याउने लक्ष्य रहेको बताए । 

कफी र नगदेबालीमा जोड
मुसिकोट नगरपालिका– ५ आँपचौरमा बाँझो जग्गा खनेर २० हजार कफीका बिरुवा लगाउने योजना अगाडि बढाइएको छ । 

जसका लागि अहिले बाँझो जग्गामा झाडी सफाइको काम भइरहेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । 

मालिका गाउँपालिका– ६ अर्जैमा ३२ रोपनी बाँझो जग्गा खनेर नगदेबाली लगाउने योजना अगाडि बढाइएको छ । 

अर्जैस्थित रानीपोखरी कृषि बहुउद्देश्यीय सहकारी संस्थाले जग्गा १५ वर्ष भाडामा लिएर प्याज, लसुन, कागती, हलेदोलगायतका नगदेबाली लगाउने योजना बनाएको छ । 

साथै अर्जेमा नै थप एक २० रोपनी जग्गामा कागती खेती गर्नको लागि दुई हजार आठ सय खाडल तयार पारिएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

स्थानीय तहद्वारा बाँझो जग्गा उपयोगमा प्रोत्साहन
धुर्कोट गाउँपालिकाले बाँझो जग्गामा सुन्तला, कागतीलगायतका अन्य फलफूल खेती गरेबापत प्रतिरोपनी तीन हजार र अन्नबाली तथा तरकारी वा मसलेदार खेती गरेमा प्रतिरोपनी चार हजार अनुदान उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए । 

मालिका गाउँपालिकाले कृषि कार्य गर्नेहरूका लागि प्रतिक्लस्टर ७२ हजारका दरले अनुदनको व्यवस्था गरेको छ । 

त्यस्तै बिउ, कम्पोष्ट मल गाउँपालिकाले निःशुल्क प्रदान गर्ने र अर्को वर्षबाट बिरुवा हेरचाहका लागि प्रतिबिरुवा एक सय रुपैयाँ अनुदान प्रदान गर्ने गाउँपालिकाका प्रमुख रितबहादुर थापाले जानकारी दिए । 

मुसिकोट नगरपालिकाले जग्गा भाडामा लिएर कृषि खेती गर्नेहरूका लागि जग्गा भाडामा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । 

कृषि औजार, हातेट्याक्टर, सानो मिल, बिउ, बिरुवालगायतका सामग्रीमा ५० प्रतिशत अनुदान प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।