Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ जेठ ८ बिहीबार १०:४५:००
Read Time : > 1 मिनेट
विश्व

सामुद्रिक आँधीका कारण १६ जनाको मृत्यु

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ जेठ ८ बिहीबार १०:४५:००

बंगालको खाडीबाट आएको सामुद्रिक आँधीका कारण पूर्वी भारत र बंगलादेशका १६ जना मानिसको मृत्यु भएको छ ।समाचार एजेन्सी एएफपीका अनुसार यो आँधी दशकयताकै सबैभन्दा शक्तिशाली हो । 

बंगालको खाडीबाट उठेको यस आँधीका कारण भारतको पश्चिम बंगाल, ओडिसा र बंगलादेशमा तीव्र गतिमा हावा चल्नुका साथै भारी वर्षा भइरहेको सञ्चारमाध्यमले जनाएका छन् । 

आँधीका कारण सयौँ रूखहरू ढलेका छन्, हजारौँ घरहरू नष्ट भएका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । कोरोना भाइरसको महामारी चलिरहेको समयमा मानिसहरूलाई सुरक्षित स्थानमा सार्न थप चुनौती भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

समाचार एजेन्सी रोयटर्सका अनुसार एम्फन नाम दिएको यो आँधी एक सय ६५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा हावाको वेग चलेको र पाँच मिटरसम्म अग्ला सामुद्रिक छालहरू बंगालको तटीय क्षेत्रमा बजारिएको छ ।

पश्चिम बंगाल राज्यका दुई जिल्ला आँधीबाट धेरै प्रभावित भएका छन्, यी जिल्लाबीच सम्पर्क टुटेको छ । त्यहाँ अहिलेसम्म १० जनाको मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधीले बंगलादेशमा सुन्दरबन डेल्टास्थित मेनगुरवको जंगली क्षेत्रमा बढी क्षति पुऱ्याएको छ । बंगलादेशको मौसम विभाग प्रमुख समसुद्दिन अहमदका अनुसार दक्षिण पश्चिमी जिल्ला सातकिरामा एक सय ५१ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको थियो । 

त्यहाँका अधिकारीका अनुसार ३० लाख मानिसलाई सुरक्षित स्थानमा राखिएको छ । अधिकारी तथा सम्बन्धित व्यक्तिले आँधी प्रभावित मानिसको उद्धार र राहत वितरणमा सामाजिक दूरी कायम गर्न सकेका छैनन् । त्यहाँ पाँच वर्षीय बच्चासहित ६ जनाको मृत्यु भएको छ ।

राहत वितरण कार्यमा सहभागी एक व्यक्तिलाई पनि पानीले बगाएको छ । धेरै पशुचौपायलाई पनि पानीले बगाएको बताइएको छ । आँधीबाट कति क्षति भयो भनेर अझै अनुमान लगाउन सकिने अवस्था नरहेको त्यहाँ अधिकारीले बताएका छन् । 

बंगालको खाडीमा हरेक वर्षजसो आँधी आउँछ । यसबाट भारतका आन्ध्र प्रदेश, ओडिसा, पश्चिम बंगाल र बंगलादेश बढी प्रभावित हुन्छन् । सन् २००७ मा सिद्र आँधीका कारण बंगलादेशमा तीन हजार पाँच सयभन्दा बढीको मृत्यु भएको थियो । 

सन् १९९९ मा ओडिसामा आएको सुपर साइक्लोनबाट करिब १० हजार मानिसको मृत्यु भएको थियो । यस्तै, १९९० मा आएको आँधीका कारण एक लाख ३९ हजार मानिसको मृत्यु भएको थियो । सन् १९७० मा आँधी र बाढीका कारण पाँच लाखभन्दा बढीको मृत्यु भएको थियो ।