मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अजित अधिकारी काठमाडौं
२०७७ जेठ ७ बुधबार २२:२२:००
Read Time : > 1 मिनेट
अर्थ

अमलेखगन्ज डिपो बन्द गर्न स्थानीयको दबाब, सिडिओ र प्रहरीको हस्तक्षेपपछि सुचारु

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ जेठ ७ बुधबार २२:२२:००

काठमाडौं उपत्यकालगायत देशभरका धेरै इन्धन खपत हुने क्षेत्रमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको आयल निगमको बारा अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय बन्द गर्न स्थानीयले दबाब दिएका छन् ।

लकडाउन सुरु भएको एक महिनापछिदेखि नै विभिन्न माध्यमबाट अमलेखगन्ज डिपो बन्द गर्न स्थानीयले दबाब दिँदै आएका थिए । मंगलबार साँझ भने करिब ३० जना स्थानीय आएर डिपो तुरुन्त बन्द गर्न दबाब दिएको २ नम्बर प्रादेशिक कार्यालय प्रमुख भरत रेग्मीले बताए । ‘डिपोमा तेल लोड–अनलोडको काम भइरहेकाेमा स्थानीय २०–३० जना आएर डिपोको काम बन्द गर्नुपऱ्यो भन्नुभयो,’ रेग्मीले भने ।

डिपोमा हप्तामा करिब पाँच सय ट्यांकर आउने–जाने भइरहँदा कोरोना भाइरस सर्ने जोखिम रहेको दाबी गर्दै स्थानीयले बन्द गर्न दबाब दिएका हुन् । अमलेखगन्ज डिपोबाट काठमाडौं उपत्यकासहित झापा, विराटनगर, पोखरा, भैरहवा र नेपालगन्जसम्म इन्धन आपूर्ति हुने गरेको छ । सो डिपोमा मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आइरहेका कारण भारतबाट तेल बोकेर आउने ट्यांकरको संख्यासमेत न्यून छ ।

सो डिपो अहिले हप्तामा पाँच दिन सञ्चालन हुँदै आएको छ । त्यहाँबाट हप्तामा विराटनगर करिब दुई सय, भैरहवा एक सय ५०, पोखरा ३० देखि ४० र काठमाडौंको थानकोटमा ६० देखि ७० ट्यांकर पेट्रोल तथा डिजेल ढुवानी भइरहेको छ । ‘स्थानीयले मंगलबार साँझ आएर हामीले बन्द गर्नु भनेका थियौँ, किन डिपो खोलेको भनेर धम्क्याए,’ रेग्मीले भने, ‘अत्यावश्क सेवा भएकाले बन्द गर्न मिल्दैन । बरु सुरक्षाका थप उपाय अपनाएर सञ्चालन गर्ने विषयमा ध्यान दिन्छौँ भन्दा उहाँहरू मान्नुभएन ।’

रेग्मीले डिपो बन्द गर्दा देशभरको इन्धन प्रणालीमा असर पर्ने भन्दै स्थानीयलाई विस्तृतमा जानकारी दिए पनि स्थानीयले अडान नछाडेपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरीलाई समस्याबारे अवगत गराएका थिए । त्यसपछि अत्यावश्यक सेवामा रहेकाले अमलेखगन्ज डिपोले सुरक्षाका सबै उपाय अपनाएर इन्धन ढुवानी सुचारु गर्ने र स्थानीयले कुनै अवरोध नगर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

बाराका एसपी कृष्ण पंगेनीले इन्धन डिपो बन्द गर्न स्थानीयले अवरोध गरे पनि अहिले समस्या समाधान भइसकेको बताए । ‘इन्धनजस्तो अत्यावश्यक वस्तुमा कुनै पनि हालतमा अवरोध हुन दिँदैनौँ,’ एसपी पंगेनीले भने, ‘स्थानीयले हप्तामा तीन दिनसम्म सुचारु गर्न दिने भनेका रहेछन् । त्यसो गर्न नसकिने भएकाले भिडभाड कम गरेर, डिपोभित्रै लोड–अनलोडको सबै काम सकी इन्धन ढुवानी सहज रूपले गर्ने वातावरण बनाएका छौँ ।’

एक महिनाअघि वीरगन्जमा कोरोना संक्रमित भेटिएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीसँगको छलफलमा उच्च सतर्कता अपनाएर डिपो सञ्चालन गर्ने सहमति भएको थियो । त्यतिखेर स्थानीयले वीरगन्जबाट आउने ट्यांकर जितपुर–सिमरा नगरपालिकामा भित्रिन नदिनेसम्मका धम्की दिएपछि जनप्रतिनिधि र प्रहरीको पहलमा डिपो सञ्चालनको वातावरण बनाइएको थियो ।

अमलेखगन्ज डिपोमा उच्च सुरक्षा सतर्कता
डिपो प्रमुख रेग्मीका अनुसार १९ वैशाखदेखि भारतमा पेट्रोल लिन ट्यांकर गएका छैनन् । त्यस्तै डिजेल पाइपबाटै आउने भएकाले ट्यांकर पठाउनुपर्दैन । डिपोमा तेल लिन आउने ट्यांकर स्यानिटाइज गर्न गेट बनाइएको छ । उनले भने, ‘प्रत्येक ट्यांकर डिसइन्फेक्टिङ स्प्रे गरेर मात्र डिपोभित्र छिर्ने व्यवस्था मिलाइएको छ ।’

डिपोभित्र ट्यांकर मात्र नभई आवात–जावत गर्ने मानिसका लागि पनि अलग्गै गेट बनाइएको छ । त्यहाँ स्यानिटाइज भएपछि मात्र भित्र पस्न पाउने व्यवस्था मिलाइएको छ । डिपोभित्र स्यानिटाइजर, मास्क, थर्मल गन, पन्जालगायतको प्रयोगलाई अनिवार्य गरिएको छ । तेल लोड–अनलोडमा काम गर्ने प्राविधिकहरूलाई पिपिईसमेत उपलब्ध गराइएको रेग्मीले बताए ।