मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ जेठ ७ बुधबार १०:३४:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

अमेरिका र युरोपका बालबालिकामा कोरोना भाइरसकाे गम्भीर तथा दुर्लभ लक्षण

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ जेठ ७ बुधबार १०:३४:००

अमेरिका र बेलायतका केही बालबालिकामा कोरोना भाइरससँग सम्बन्धित एक गम्भीर र दुर्लभ लक्षण देखिएकाे स्वास्थ्य अधिकारीले बताएका छन् । केही बालबालिकामा यसले गम्भीर असर पनि पारेको छ । उनीहरूलाई आइसियूमै राखेर उपचार पनि गर्नुपर्ने अवस्था आएको छ । 

बेलायतमा अहिलेसम्म एक सयभन्दा बढी बालबालिकामा यस्तो लक्षण देखिएको छ । अध्ययनअनुसार युरोपका अन्य देशमा पनि बालबालिकामा यो लक्षण देखिन थालेको छ । 

कोरोना भाइरसको संक्रमण भएका बालबालिकामा संक्रमणको केही सातापछि कावासाकी रोगसँग मिल्ने लक्षण देखिएको बताइएको छ । कावासाकी रोगबाट बालबालिकाको रक्तकोशिका फुल्ने, शरीरभर राता खटिरा देखिन्छ । बच्चालाई उच्च ज्वरो आउने र आँखा रातो हुने पनि गर्छ । 

कोरोना भाइरसको प्रकोप फैलिएपछि बेलायतमा बालबालिकामा यस्तो लक्षण देखिएको थियो । दुर्लभ लक्षणबाट बालबालिका प्रभावित हुन थालेपछि अप्रिलमा बेलायतको नेसनल हेल्थ सर्भिसका डाक्टरलाई यो खतरनाक लक्षणबारे पत्ता लगाउन भनिएको थियो । त्यतिवेलासम्म लन्डनमा आठजना बच्चा बिरामी भइसकेका थिए । उनीहरूमध्ये १४ वर्षका एक बालकको मृत्यु पनि भएको थियो । 

मुख्य लक्षण

यी सबै बालबालिका लन्डनको एभेलिना चिल्ड्रेन्स हस्पिटलमा भर्ना गरिएको थियो र सबैमा लगभग एकै किसिमको लक्षण देखिएको थियो । लक्षण– उच्च ज्वरो, शरीरमा रातो खटिरा, आँखा रातो, शरीर सुन्निने र दुख्ने आदि थिए ।

बालबालिकामा फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी कुनै लक्षण थिएन, तैपनि यीमध्ये सातजनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकहरू यो कावासाकी डिजिज सक सिन्ड्रोम (केडिएसएस) सँग मिल्दोजुल्दोे एक ‘नयाँ लक्षण’ भएको बताउँछन् । 

केडिएसएस विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई देखिने रोग हो । यसले बालबालिकाको शरीरमा खटिरा आउने, घाँटीको ग्रन्थी सुन्निने, ओठ सुक्खा हुने र फुट्नेजस्ता लक्षण देखिन्छ । तर, यो नयाँ लक्षणले १४ देखि १६ वर्षका बालबालिकालाई असर गरिरहेको छ । 

कोरोना भाइरससँग सम्बन्ध 

इम्पेरियल कलेज लन्डनका पेडियाट्रिक इन्फेक्सियस डिजिज एन्ड इम्युनोलोजीका क्लिनिकल प्रोफेसर डाक्टर लिज विटेकर भन्छन्, ‘यो कोरोना महामारीको समयमा देखिएकाले यससँग सम्बन्धित रहेको हामी विश्वास गर्छौं ।’ 

उनका अनुसार कोरोना संक्रमण फैलिएको ३/४ सातापछि बच्चामा यस किसिमको लक्षण देखिन सुरु गरेको हो । यसकारण यो लक्षण कोरोना संक्रमण भएपछि देखिइरहेको छ । यो नयाँ लक्षणको सम्बन्ध कोभिड–१९ को संक्रमणपछि शरीरमा उत्पन्न हुने एन्टिबडीसँग सम्बन्धित छ । 

रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थका प्रमुख प्रोफेसर रसेल वाइनरले यस्ता लक्षण देखिएका बालबालिका उपचारपछि निको भइरहेको बताए । उनी भन्छन्, ‘तर पनि यो सिन्ड्रोम ‘निकै दुर्लभ’ हो ।’

कोरोना भाइरसबाट विश्वभर नै बालबालिका कम प्रभावित छन् । कुल संक्रमितमध्ये एक–दुई प्रतिशत मात्र बालबालिका रहेका छन् ।  बालबालिकामा देखिएको यो नयाँ लक्षणबारे अझ धेरै अध्ययन गर्न बाँकी छ । यो लक्षण पछिल्ला तीन–चार सातादेखि देखिइरहेको छ । 

सामान्यतया कोरोना भाइरसबाट संक्रमित भएको ६ सातापछि बालबालिकामा यी लक्षण देखिन्छन् । यही कारण पनि कोरोना भाइरस फैलिएको केही सातापछि यस्ता लक्षण देखिएको हुन सक्छ । 

बेलायतबाहेक अमेरिका, स्पेन, इटाली, फ्रान्स र नेदरल्यान्डका बालबालिकामा पनि यस किसिमको लक्षण देखिएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोका अनुसार कम्तीमा १५ अमेरिकी राज्यमा यो दुर्लभ लक्षण देखिएको छ । 

न्युयोर्कमा ८२ बालबालिकामा यस्तो लक्षण देखिएको छ, यीमध्ये ५३ बालबालिकामा कोभिड-१९ को एन्टिबडी पाइएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले यसै साता सबै अस्पतालमा एक अलर्ट जारी गर्दै बालबालिकामा देखिएको यस किसिमको लक्षणबारे जानकारी गराउन भनेको छ । 

इटालीमा पनि यस दुर्लभ लक्षणबाट १० बालबालिका प्रभावित भएको तथ्य सार्वजनिक गरिएको थियो । यी सबै बच्चा उपचारपछि निको भएका छन् । यी सबै बालबालिकाको उमेर सात वर्षको थियो । १० मध्ये आठ बालबालिकामा कोरोना भाइरस संक्रमणपछि हुने एन्टिबडी पोजेटिभ थियो । 

बेलायती स्वास्थ्य विशेषज्ञहरूले यस्तो लक्षण बालबालिकामा मात्र नभएर वयस्क मानिसमा पनि देखिन सक्ने बताएका छन् । बेलायत, अमेरिका र अन्य युरोपेली देशका विशेषज्ञको एक टोलीले यसबारे अहिले अध्ययन गरिरहेकाे छ । उनीहरूले यसलाई ‘पेडियाट्रिक इन्फ्लेमेटरी मल्टिसिस्टम सिन्ड्रोम’ नाम दिएका छन् । 

(एजेन्सीकाे सहयाेगमा)

तस्बिर : बिबिसी डटकमबाट