मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ७ बुधबार ०६:३७:००
Read Time : > 2 मिनेट
खेलकुद

रूप फेर्दै रंगशाला

Read Time : > 2 मिनेट
२०७७ जेठ ७ बुधबार ०६:३७:००

वरिपरिका सडक सुनसान छन्, विगतजस्तो मानिसको गतिविधि पनि छैन । दशरथ रंगशालामा भने कामदारहरू मैदानको दुबोमा मलजल गर्न व्यस्त छन् । र, मैदानका खाल्डो परेका भागमा माटो भरिरहेको देखिन्छन् । दशरथ रंगशालामा कामदारको व्यस्तता पहिलेभन्दा बढेको छ । दैनिक ५–६ जना कामदार मैदानमा खटिएका छन् । घाँस उखेल्ने, दुबो हुर्काउने र मैदानलाई थप ‘लेबलिङ’ गरिरहेका छन् ।

नेपालमा तत्काल खेल गतिविधि पुरानै लयमा फर्किने संकेत छैन । त्यसैले, धेरै खेल गतिविधि हुने त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मर्मत–सम्भारमा जुटेका छन् राखेप र एन्फा ।

कोभिड–१९ को महामारीका कारण संसारभर खेल गतिविधि ठप्प छ । गत शनिबारदेखि जर्मनीले दर्शकविहीन रंगशालामा शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगा सुरु गरेको छ । चीनपछि खेल गतिविधि सुरु गर्ने पहिलो मुलुक बनेको छ जर्मनी । नेपालमा तत्काल खेल गतिविधि पुरानै लयमा फर्किने संकेत छैन । धेरै खेल गतिविधि हुने त्रिपुरेश्वरस्थित दशरथ रंगशालाले यही वेला आफ्नो रूप फेर्ने अवसर पाएको छ ।

१२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त दशरथ रंगशाला १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि गत मंसिर अन्तिम सातादेखि सञ्चालनमा आएको थियो । नयाँ सिन्थेटिक ट्र्याक र साधारण प्यारापिटमा समेत छानोको व्यवस्थासहित जिर्णोद्धार गरिएको थियो । सागको उद्घाटन र समापन सोही रंगशालामा भएको थियो । र, एथलेटिक्सतर्फको प्रतिस्पर्धा त्यही नयाँ सिन्थेटिक ट्रयाकले धानेको थियो ।

त्यसपछि गत ३ फागुनमा ‘सहिद स्मारक ए डिभिजन लिग’को अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गरेयता रंगशालामा कुनै प्रतियोगिता आयोजना भएका छैनन् । यो अवधिमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालाको थप मर्मतलाई निरन्तरता दिएको छ । घरेलु खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसर पनि लकडाउनयता सुनसान छ । राखेपाका कार्यालयले घेरिएको दशरथ रंगशालाभित्र भने मैदानको काम धमाधम भइरहेको छ ।

कोभिड–१९ को महामारी नफैलिएको भए नेपालले यो अवधिमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२३ को एएफसी एसियाकपअन्तर्गतको छनोट प्रतियोगितामा ताइवान, जोर्डन र अस्टे«लियासँग दशरथ रंगशालामै प्रतिस्पर्धा गर्नुपर्ने थियो । नेपालले ताइवानसँग १३ चैत, अस्ट्रेलियासँग १८ चैत र जोर्डनसँग २२ जेठमा दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

अवस्था सहज भएपछि नेपालले यी तीनवटै प्रतिस्पर्धा दशरथ रंगशालामै आयोजना गर्नु पर्नेछ । त्यसका लागि पनि मैदानको तयारी आवश्यक भएको एन्फाका प्रवक्ता किरण राई बताउँछन् । भन्छन्, ‘काम गर्दा हामीले भौतिक दूरीमा एकदमै ध्यान दिएका छौँ ।’

...

दशरथ रंगशालापछि नेपालको अर्काे महत्वपूर्ण खेलकुद ‘भेन्यु’ हो, त्रिवि क्रिकेट मैदान । गत २२–२९ माघमा नेपाल, अमेरिका र ओमानको सहभागितामा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको शृंखला आयोजना भएपछि एक दिवसीय मैदानको मान्यता पाएको त्रिवि मैदानमा पनि नियमित काम भइरहेको छ ।

यहाँ पनि भौतिक दूरी कायम गर्दै कामदार व्यस्त छन् । देशको एक मात्र एक दिवसीय मान्यताप्राप्त यो मैदानलाई वर्षैभरि खेल्नयोग्य बनाइराख्नुपर्ने चुनौती नेपाल क्रिकेट एसोसिएसन (क्यान)सँग छ ।

दैनिक ५-६ जना कामदार मैदानमा खटिएका छन् । घाँस उखेल्ने, दुबो हुर्काउने र मैदानलाई थप ‘लेबलिङ’ गरिरहेका छन् ।

वर्षायाम सुरु भएपछि यत्तिकै पनि मैदानमा घाँस पलाएर झाडी बन्छ । त्यसैले, लकडाउनकै समयमा ग्राउन्ड स्टाफहरूलाई सक्रिय बनाएर मैदानको घाँस काट्न, आउडफिल्डमा आवश्यकतानुसार पाल हाल्न र पिचको रेखदेख अगाडि बढाइएको छ ।

त्रवि मैदानमा तत्कालका लागि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिका तय भएको थिएन । तर, प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि २६ चैतदेखि ४ वैशाखको मिति तय भएको थियो । पुरुषतर्फको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति २० वैशाखदेखि १५ जेठसम्मका लागि तय थियो ।

यस्तै, विद्यालयस्तरीय छात्रा राष्ट्रिय क्रिकेट प्रतियोगिता (टी २०) २८ वैशाखदेखि १० जेठभित्र सक्ने तालिका थियो । सोही मितिमा छात्रतर्फको पनि प्रतियोगिता सक्ने लक्ष्य थियो । १८-३० जेठमा यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी पनि थियो ।

ती सबैका लागि प्रदेशस्तरमा पनि छनोट प्रतियोगिता सञ्चालन हुन्थे । ‘महिलातर्फको प्रधानमन्त्री कपका लागि त धेरै जिल्लाले छनोटसमेत खेलाइसकेका थिए,’ क्यानका सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘ती प्रतियोगिता अगाडि बढाउन सम्भव नभएकाले मैदानको मर्मत–सम्भारलाई अगाडि बढाएका हौं ।’

तस्बिर : ज्ञानेन्द्र कार्की / नयाँ पत्रिका