मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ जेठ ६ मंगलबार २१:२३:००
Read Time : < 1 मिनेट
समाचार

कर्णाली प्रदेश सरकारको दाबी - कोरोना समुदायस्तरमा फैलिएको छैन

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ जेठ ६ मंगलबार २१:२३:००

कर्णाली प्रदेश सरकारले प्रदेशमा कोरोना समुदायस्तरमा नफैलिएको दाबी गरेको छ ।  सोमबार दैलेखको आठबिस नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश सरकारको यस्तो दाबी आएको हो । यसअघि कर्णाली प्रदेशमा कोरोना संक्रमित देखिएका थिएनन् । 

कर्णाली प्रदेशमा संक्रमण फैलन नदिने उद्देश्यका साथ रोकथाम तथा नियन्त्रणमा उच्च सतर्कतासहित काम गरिरहेको अवस्थामा पनि एकजनामा कोरोना संक्रमण देखिएको सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्तिमा संक्रमण देखिएको छ,’ उनले भने, ‘व्यक्ति समुदायमा प्रवेश गरिनसकेको अवस्था रहेका कारण यस घटनाबाट भयभीत एवं त्रसित नहुन आग्रह गर्दछु ।’

थप संक्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न संक्रमित व्यक्ति, निजका परिवारजन तथा समग्र कर्णालीवासी सचेत हुन जरुरी रहेको रावलले बताए । उनले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरटी पिसिआर मेसिनसहितको प्रयोगशाला स्थापना गरिएको र दक्ष जनशक्तिद्वारा विश्वसनीय रूपमा परीक्षण हुने बताए ।

प्रदेशमा भित्रिने नागरिकलाई प्रदेश सीमानाकामै अनिवार्य रूपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडिटी टेस्ट गरेपछि सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको मन्त्री रावलले बताए ।

सम्बन्धित स्थानीय तहले अनिवार्य रूपमा क्वारेन्टाइनमा राखेकाहरूलाई पनि क्वारेन्टाइन अवधि पूरा भएपछि अनिवार्य आरटी पिसिआर विधिद्वारा स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार परीक्षण रिपोर्ट प्राप्त भएपछि पनि संक्रमण नदेखिएकालाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टाइनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको छ ।