मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ जेठ ६ मंगलबार २०:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

लुकीछिपी भारतबाट आएका थिए झापाका कोरोना संक्रमित

Read Time : < 1 मिनेट
२०७७ जेठ ६ मंगलबार २०:२२:००

झापामा नाैजना कोरोना संक्रमित थपिएका छन् । झापाको कचनाकवलस्थित पथरीया माविको क्वारेन्टाइनमा बसेका थप नाैजना युवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूको कोसी कोभिड अस्पताल विराटनगरमा स्वाब परीक्षण भएको थियो ।

यसअघि सोमबार सोही क्वारेन्टाइनमा बसेका २३ वर्षीय युवकमा कोरोना देखिएको थियो । संक्रमित सबै १८ देखि २५ वर्ष उमेर समूहका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या १२ पुगेको छ । यसअघि संक्रमित बाह्रदही र दमकका दुईजना उपचारपछि घर फर्किसकेका छन् ।

उनीसहित ११ जनाको टोली गत शनिबार भारतको मुबाईबाट दिल्ली हुँदै लुकीछिपी कचनाकवल नाकाबाट नेपाल प्रवेश गरेका हुन् । उनीहरू १० जना कचनाकवलस्थित एकै टोलका हुन् । रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि हिँड्दै स्वदेश फर्किएका थिए ।

मकैबारीबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सीधै ट्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरीया माविमा रहेको क्वारेन्टाइनमा राखिएको कचनाकवल गाउँपालिकाको क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष विजय राजवंशीले बताए । संक्रमित १० जनालाई नै कोसी कोभिड अस्पताल विराटनगर पठाइएको छ ।

गाउँपालिका  नै सिल गर्ने तयारी
भारतसँग सीमा जोडिएको कचनाकवलमा एकैपटक १० जनामा संक्रमण देखिएपछि गाउँपालिका नै सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार बुधबार बैठक बसेर गाउँ नै सिल गरिनेछ । ‘हामी १ देखि ५ नम्बर वडा मात्र सिल गरौँ भन्ने पक्षमा छौँ । तर, गाउँपालिकाका अध्यक्षज्यूलगायत सातवटै वडा सिल गरौँ भन्नुहुन्छ,’ उनले भने, ‘सम्भवतः सबै वडा सिल गरिन्छ ।’