Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गोकर्णराज बन्जाडे
२०७७ जेठ ६ मंगलबार ०९:४५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

कृषिक्रान्तिको मौका

Read Time : > 3 मिनेट
गोकर्णराज बन्जाडे
२०७७ जेठ ६ मंगलबार ०९:४५:००

कोभिड–१९ महामारीले मानवसामु दुई वटा चुनौती खडा गरिदिएको छ– रोगको रोकथाम र अन्य असरको व्यवस्थापन । लकडाउन खुकुलो भएपछिका दिनमा हाम्रा दैनिकी पूर्ववत् अवस्थाभन्दा फेरिएर आउनेछन् । तर वैश्विक ग्रार्हस्थ उत्पादनमा गिरावट र धेरै संरचना परिवर्तित भई आउने देखिन्छ । आर्थिक तथा सामाजिक संरचना अनि पारिवारिक तथा व्यक्तिगत सम्बन्ध उथलपुथल हुन सक्छ । मानव सभ्यताको विकास कृषि प्रणालीको अवलम्बनबाटै भएको हो ।

१८औँ शताब्दीमा युरोपबाट सुरु भएको औद्योगिक क्रान्ति र त्यसको अघि–पछि भएका प्रविधिगत विकासले राजनीतिक, सामाजिक तथा व्यक्तिगत जीवनमा महत्वपूर्ण प्रभाव पारे । फेरि पनि मानिसको आधारभूत आवश्यकता स्वस्थ्य र पौष्टिक आहार, व्यवस्थित स्याहार, स्वच्छ पर्यावरण र सामाजिक व्यवहारको आधार भने कृषि नै हो । स्वास्थ्य पहिलो प्राथमिकतामा रहन्छ, यसका लागि साधन स्रोत कृषिउपज नै हो । 

रेमिट्यान्समा आधारित आय र आयातमा आधारित उपभोग प्रणाली हाम्रो अर्थतन्त्रका विशेषता बनिरहेको सन्दर्भमा अब विश्वभर रोजगारीमा कटौती हुने तथा उत्पादकत्वमा ह्रासको प्रभावबाट हाम्रो अर्थतन्त्रलाई कसरी बचाएर राख्ने भन्नेतर्फ सोच्न अब ढिलाइ गर्नुहुँदैन । समृद्धिका लागि हाम्रो प्रमुख आधार पर्यटन, ऊर्जा र कृषि हुन् । अबका केही समय मानिस घुमघाम छाडी सामान्य जीवन व्यवस्थापनमै केन्द्रित रहने हुँदा पर्यटन क्षेत्र समस्यामा पर्नेछ । यसर्थ, ऊर्जाको विकासलाई निरन्तरता दिँदै राष्ट्रिय उत्पादकत्वको मुख्य आधार कृषिलाई नै रोज्नुपर्छ ।

अबका केही समय मानिस घुमघाम छाडी सामान्य जीवन व्यवस्थापनमै केन्द्रित रहने हुँदा पर्यटन क्षेत्र समस्यामा पर्नेछ । यसर्थ, ऊर्जाको विकासलाई निरन्तरता दिँदै राष्ट्रिय उत्पादकत्वको मुख्य आधार कृषिलाई नै रोज्नुपर्छ ।

कृषि क्रान्तिका आधार : जमिन कृषकको पहुँचमा पु-याउन बाँझो जग्गाको लगत लिई तिनको उपयोगिता बढाउने नीति लिनुप-यो । उपयोगविहीन जग्गाका धनीसँग समन्वय गरी कृषकले सहज तरिकाले उपयोग गर्न पाउने वातावरण बनाउनुप-यो । भूमिको चक्लाबन्दीमा जोड दिनुप-यो । भूमि बैंकको कानुनी व्यवस्था गरी कृषिमैत्री भू–उपयोग नीति लिनुप-यो।

कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि प्रसारलाई एउटै छाताभित्र सञ्चालन गरौँ । सीपयुक्त जनशक्तिले नै उत्पादकत्वमा प्रभावकारिता आउने भएकाले कृषि पेसामा संलग्न जनशक्तिलाई सीपयुक्त बनाऊ । विज्ञानका उपलब्धि कृषि प्रणालीमा जोड्दै प्रविधिमैत्री बनाऔँ । कृषिको बजारीकरण गरौं । बिउ, मल, सिँचाइ तथा औजार उपकरणको विकासलाई जोड दिउँ । 

उपभोक्ता र किसानबीचको दूरी घटाई बजारसम्म स्वयंको पहुँच सुनिश्चित गरी किसानलाई शोषणबाट मुक्त गरौँ । दूध पोख्नु तथा तरकारी फ्याँक्नुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय तहको सक्रियतामा सहकारी र कृषिउपज बैंकको स्थापना गरौँ । भौतिक विकास जस्तै : बाटोघाटो, पुलपुलेसो, बजार विस्तार तथा बस्ती विकास आदिलाई कृषिमैत्री बनाऔँ । यसैगरी, कृषिउपजको खपतलाई सुनिश्चित गर्दै थप रोजगारीका अवसर सिर्जना गर्न कृषिजन्य उद्योगको स्थापना र विकासमा लगानी बढाऔँ ।

भूगोल, हावापानी र मौसमअनुसार हिमालमा पशुपालन तथा जडीबुटी, पहाडमा फलफूल तथा तरकारी, तराईमा खाद्यबाली कृषि प्रणाली अपनाऔँ । कृषि उत्पादनको मुख्य जिम्मेवारी हुने स्थानीय सरकारलाई साधनस्रोतले सम्पन्न बनाउन आवश्यक सामग्री, औजार र उपकरण उपलब्ध गराऔं । सिँचाइ, बाटोघाटो, सूचना तथा सञ्चारका लागि तत्कालीन र दीर्घकालीन योजना तय गरी तीनवटै सरकारको समन्यवयमा अगाडि बढाऔँ । 

कृषिमा क्रान्ति : सुख र शान्ति 

१. स्वदेशमै रोजगारीको व्यवस्थापन, रेमिट्यान्सको प्रतिस्थापन : नागरिक निर्यात गरी रेमिट्यान्स भित्र्याई देशको अर्थतन्त्र चलाउने नीति जनउत्तरदायी र न्यायसम्मत होइन । वैदेशिक रोजगारीलाई आम्दानीको प्रमुख स्रोत बनाएर राष्ट्र समृद्ध बन्दैन । अब वैदेशिक रोजगारबाट स्वदेश फर्कने युवाका लागि सबैभन्दा उत्तम क्षेत्र व्यावसायिक कृषि नै हो । रोजगारीको अपर्याप्ततालाई यसबाटै हल गरी रेमिट्यान्समुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्न सकिन्छ ।

२. स्वनिर्भर अर्थतन्त्र, सुदृढ राष्ट्रियता : हामीले कृषि उत्पादकत्व वृद्धि गरी व्यापार घाटा कम गर्न सक्छौँ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरमा रूपान्तरण गर्न सकिन्छ । कृषि व्यवसायको विकासले ल्याउने स्वनिर्भर अर्थतन्त्रले राष्ट्र र राष्ट्रियतालाई समेत सुदृढ बनाउन सकिन्छ । 

३. सुमधुर पारिवारिक तथा सामाजिक सम्बन्धको आधार : वैदेशिक रोजगारीका कारण हाम्रा पारिवार तथा सामाजिक संरचनामा समस्या देखिइरहेका छन् । सघन स्याहारमा रहनुपर्ने वृद्ध आमाबाबुबाट टाढिनु, बालबच्चाको प्रत्यक्ष रेखदेखबाट वञ्चित हुनु तथा यौवनमा जोडी बिछोडिनु सुखद छैनन् । समाजमा मर्दापर्दा, अर्मपर्म चलाउने युवाशक्तिको अनुपस्थितिले हाम्रा सामाजिक सम्बन्ध खलबलिएका छन् । व्यवसायिक कृषि पेसा यसको विकल्प हुनसक्छ ।

४. संस्कृतिको संरक्षण र संवद्र्धन : हाम्रा मौलिक संस्कृति तथा जीवनपद्धति कृषिसँग सम्बन्धित छन् । विभिन्न जातजातिका हरेक परम्परा तथा चाडपर्व कुनै न कुनै रूपमा कृषिसँग जोडिएका छन् । यस मान्यतालाई जीवित राख्न कृषि पेसाको संरक्षण र संवद्र्धन जरुरी छ ।

५. सुशासनको आधार : सुशासन र कृषि एक अर्काका आधार हुन् । राजनीतिक दलमा आबद्ध बेरोजगार कार्यकर्तालाई कृषिजन्य स्वरोजगारमा आबद्ध गर्न सक्यौँ भने यसले निर्वाचनमा हुने अनावश्यक खर्चलाई नियन्त्रण गर्छ । भ्रष्टाचार र कुशासनको प्रमुख कारण भड्किलो र खर्चिलो चुनावी अभियानलाई सुधार गरे भ्रष्टाचार न्यूनीकरण भई सुशासन कायम हुन सक्छ ।

६. समाजवादतर्फको यात्रा : संविधानले गरेको समाजवादउन्मुख राज्यको परिकल्पना साकार पार्ने आधार कृषि हुन सक्छ । सबैलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याई वर्गभेदरहित, शोषणमुक्त र समुन्नत समाज स्थापनाको शान्तिपूर्ण माध्यम कृषि र सहकारी हुन सक्छ । 

७. संघीयताको परिणाममुखी कार्यान्वयन : संघीयताको खास उद्देश्य विविध जातजाति र भौगोलिक क्षेत्रको पहिचानलाई सुनिश्चित गर्दै राष्ट्र निर्माणमा सबैको न्यायपूर्ण सहभागिता जुटाउनु हो । विकासको भौगोलिक असन्तुलन कृषि व्यवसायको सुदृढीकरणबाट गर्न सकिन्छ । भू-उपयोगको परिमार्जित नीति अवलम्बन गरी केन्द्रदेखि स्थानीय तहसम्मको सम्पूर्ण संरचनालाई अधिकारसम्पन्न र साधनस्रोतयुक्त बनाउन र राज्यका सेवा सुविधालाई घरआँगनमा पु-याउन कृषिलाई माध्यम बनाउन सकिन्छ । 

८. स्थानीय साधनस्रोतको उपयोग : प्रकृतिले दिएको अनुपम वरदान भूमि, जैविक तथा पर्यावरणीय विविधता हाम्रा सम्पत्ति हुन् । यसको स्थानीय रूपमै उपयोग तथा परिचालन गरी कृषिका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सकिन्छ । साथै, यसले जीविकोपार्जनको उपायलाई सुदृढ बनाउँदै स्थानीय आत्मनिर्भरतालाई मद्दतसमेत गर्छ । 

९. स्वच्छ पर्यावरण, स्वस्थ्य जीवन : वनस्पति विकासले पर्यावरण स्वच्छ राख्न मद्दत गर्छ । जलवायु परिवर्तनलाई सन्तुलित राख्छ । यसले पर्यावरणीय पर्यटनको संवद्र्धनमा समेत योगदान पु-याउँछ । साथै, प्रांगारिक र ताजा उत्पादनको प्रयोगले प्रदान गर्ने पोषण, स्वास्थ्यवर्द्धता उच्चस्तरको हुन्छ ।