मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अनुपमा चोपडा
२०७७ जेठ ६ मंगलबार ०९:१५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

बलिउडमा कोरोना भाइरसको असर

Read Time : > 3 मिनेट
अनुपमा चोपडा
२०७७ जेठ ६ मंगलबार ०९:१५:००

‘बलिउड’ फिल्मले आफूलाई स्टारको तस्बिरमार्फत बिकाउन खोज्छ । तर, मुम्बईमा बन्ने हरेक फिल्म निर्माणमा अनगिन्ती मानिसको श्रम लाग्ने गर्छ । ‘प्रोड्युसर गिल्ड अफ इन्डिया’का अनुसार फिल्म उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा झन्डै दश लाख मानिसलाई रोजगारी दिएको छ ।

कोरोना भाइरस प्रकोपसँग लड्न २५ मार्चदेखि भारतमा कठोर लकडाउन लागू गरिएको छ । यसबाट बलिउडको विशाल संयन्त्र पनि ठप्प भएको छ । यस क्षेत्रमा आश्रित कामदारले अहिले रोजगारीसँगै ज्याला पनि पाइरहेका छैनन् । फिल्म उद्योग बन्द हुँदा दैनिक ज्यालादारी श्रम गर्ने ३५ हजार फिल्मसम्बद्ध श्रमिक प्रभावित भएका छन् । 

फेडरेसन अफ इन्डियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीको मार्चमा सार्वजनिक रिपोर्टअनुसार सन् २०१९ मा भारतभर एक हजार आठ सय ३३ फिल्म प्रदर्शनमा आए । भारतमा २८ वटा भाषामा फिल्म बन्छन् । तीमध्ये सबैभन्दा प्रभावशाली हिन्दी फिल्म उद्योगमा वर्षको दुई सयभन्दा बढी फिल्म बन्छन् । छोटोमा बलिउड भनिने यो फिल्म उद्योगसम्बद्ध अधिकांश स्टुडियो, सम्पादन केन्द्र तथा निर्माण कार्यालय मुम्बईमा छन् ।

यस फिल्म उद्योगका अधिकांश स्टारका घर पनि यही सहरमा छन् । कति स्टारका घर त सहरको पहिचानका रूपमा विकास भएका छन् । तपाईंले मुम्बईमा आफूले जानुपर्ने स्थान सोध्दा ‘शाहरुख खानको घरबाट यु–टर्न लिनु’जस्तो जवाफ आउन सक्छ । वर्षौंदेखि हरेक आइतबार प्रशंसकहरू अभिनेता अमिताभ बच्चनलाई हेर्न उनको घरअघि जम्मा हुँदै आएका छन् । ७७ वर्षे ती अभिनेता सुरक्षागार्डसहित घरबाहिर आउँछन् र आफ्ना फ्यानतर्फ हात हल्लाउँछन् । तर, कोरोना भाइरस प्रकोपपछि उक्त प्रचलन रोकिएको छ । 

विज्ञहरूको प्रक्षेपणअनुसार कोरोना भाइरस प्रकोपबाट बलिउडले एक अर्बदेखि १.३ अर्ब अमेरिकी डलरको क्षति बेहोर्नेछ।

मार्च महिनाको मध्यकालबाट प्रोड्युसर गिल्डले भारतभर फिल्म छायांकन र हल बन्द गर्ने निर्णय ग-यो । बलिउडमा फिल्म सार्वजनिक हुने व्यस्त सेड्युल हुने गर्छ । फिल्म हल बन्द भएपछि मार्च तथा अप्रिलमा सार्वजनिक हुने फिल्म अनिश्चितकालका लागि पछाडि सरेको छ । फिल्म हल कहिले खुल्छ भनेर अनुमान गर्न सकिने अवस्था छैन । बलिउडलाई विगतदेखि नै यथार्थसँग सम्बन्ध नभएका पलायनवादी कथा प्रस्तुत गरेको आरोप लाग्ने गरे पनि यो महाव्याधिमा भने फिल्म उद्योग सबैभन्दा कमजोरको सहयोगका लागि अघि सरेको छ । फिल्मसम्बन्धी कैयौँ व्यापार संघले कमजोर वर्गलाई सघाउन रकम संकलन गरिरहेका छन् । 

केही धनाढ्य अभिनेताले सरकारले सञ्चालन गरेको कोरोना अनुदान कोषमा रकम दान गरे । अभिनेता सलमान खानले फिल्म उद्योगका न्यून आय हुने श्रमिकको बैंक खातामा सीधै रकम हस्तान्तरण गरे । ३ मेमा बलिउडका प्रमुख अभिनेता, संगीतकार तथा गायकगायिकाले तिनको घरबाट डिजिटल कन्सर्ट आयोजना गरे । उक्त कन्सर्टबाट उठेको ६८ लाख डलर भाइरसविरुद्धको लडाइँमा प्रयोग गरिनेछ । यो महाव्याधिले फिल्म उद्योग र बलिउड पापाराजीको सौहार्दपूर्ण सम्बन्धमाथि प्रकाश पारिदिएको छ ।

मुम्बईका पापाराजी लन्डन तथा लस एन्जलसका तिनका सहकर्मीको तुलनामा कमै संयमित छन् । तर पनि ती फिल्म क्षेत्रका सेलेब्रिटीका व्यक्तिगत समयका तस्बिर बाहिर ल्याइरहेका हुन्छन् । त्यसबाहेक ट्रेलर सार्वजनिक भएदेखि प्रिमियरका पार्टीजस्ता औपचारिक कार्यक्रमका फोटो त आई नै हाल्छ । कलाकार तथा फिल्मको चर्चा तथा सान्दर्भिकता कायम गर्ने ती फोटोपत्रकार अहिले बेरोजगारप्रायः छन् । फिल्म निर्माता रोहित सेट्टी तथा अभिनेता ऋतिक रोशनले तिनका लागि आर्थिक सहायता उपलब्ध गराए । 

बलिउड फिल्मको प्रचार–प्रसार संयन्त्र सुषुप्त छ । फिल्म अभिनेता, मोडल, फिल्म निर्माता तथा फेसन डिजाइनर अहिले इन्स्टाग्राम लाइभस्ट्रिम, जुम अन्तर्वार्तामार्फत आफूलाई सार्वजनिक स्मृतिमा कायम राख्ने प्रयास गरिरहेका छन् । यस्ता घटनाले क्षणिक नै भए पनि कोरोना भाइरस प्रकोपबाट बलिउडमा पर्न सक्ने क्षतिबाट अन्यत्र ध्यान मोडेको छ । भारतमा नौ हजार पाँच सय २७ फिल्म पर्दा छन् र तीमध्ये अधिकांश (६,३२७) पर्दा एकल–पर्दा हलका हुन् ।

महाव्याधिपछि तीमध्ये केही सधैँका लागि बन्द हुनेछन् । महाव्याधि कहिलेसम्म रहन्छ भन्ने अनिश्चिततामाझ मानिस यसले बलिउडमा पार्ने प्रभावबारे अनुमान गर्न हिच्किचाइरहेका छन् । तर, विज्ञको एक प्रक्षेपणअनुसार प्रकोपबाट बलिउडले एक अर्बदेखि १.३ अर्ब अमेरिकी डलरको क्षति बेहोर्नेछ । बलिउडका सबैभन्दा सफलमध्ये एक फिल्मकर्मी तथा निर्माता करण जोहर संकटबीच पनि फिल्मकर्मी आशावादी रहेको बताउँछन् । जोहरका अनुसार अहिलेको समयमा बलिउड फिल्म निर्माताले विस्तार गर्नेभन्दा पनि अस्तित्व रक्षामा ध्यान केन्द्रित गरिरहेका छन् । 

महाव्याधिपछि उठ्दा फिल्म उद्योगमा निःसन्देह फेरबदल आउनेछ । सम्भवतः फिल्ममा पनि रूपान्तरण आउनेछ । खोपको विकास नभएसम्म बलिउड फिल्मले दुई सय नर्तकी हुने गीत फिल्मांकन गर्न सक्ने कुरै भएन । बलिउड फिल्मका कथा तथा तिनको प्रस्तुतीकरण पनि बदलिनेछ । भारतमा नयाँदिल्लीको पहिचान राजनीतिसँग जोडिएजस्तै मुम्बईको पहिचान फिल्म उद्योगसँग जोडिएको छ ।

सहरको झन्डै ४१ प्रतिशत जनसंख्या सुकुमबासी बस्तीमा बसोवास गर्ने भए पनि बलिउडले मुम्बईको पहिचान मायानगरीको रूपमा बनाइदिएको छ । यही फिल्मको मोहमा परेर एक दिन फिल्ममा काम पाउने आशा बोकेर प्रत्येक दिन दुई सयजना मुम्बई आउँछन् भन्ने भनाइ नै छ । म हिन्दी फिल्मी उद्योगलाई आशाको सामूहिक अभिव्यक्तिको रूपमा हेर्छु । अहिले बलिउड आफैँ जीवित रहन संघर्ष गरिरहेको समयमा समेत हामीले सुखद अन्त्यको सम्भावनालाई विश्वास गर्नुपर्छ । 

(अनुपमा चोपडा ‘फिल्म कम्प्यानियन’ नामक फिल्मी पोर्टलकी सम्पादक हुन् ।)

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य