मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ६ मंगलबार ०५:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना संक्रमित नर्सले हेरचाह गरेका सुत्केरी भेटिएपछि बिपी स्वास्थ्य प्रतिष्ठानको प्रसूति विभाग सिल

Read Time : < 1 मिनेट
२०७७ जेठ ६ मंगलबार ०५:४२:००

कोरोना संक्रमण पुष्टि भएकी धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक नर्सले हेरचाह गरेका सुत्केरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेटिएपछि प्रसूति विभाग सिल गरिएको छ । जिल्ला अस्पतालले ६ जनाभन्दा बढी महिलालाई प्रतिष्ठानमा पठाएको बताइएको छ । अन्य उपचारपछि घर गए पनि हाल दुईजना भने प्रतिष्ठानको प्रसूति विभागमा उपचार गराइरहेका छन् । 

प्रतिष्ठान स्रोतका अनुसार दुई साताअघि धनकुटा अस्पतालमा सुत्केरी गराइएकी एक महिला घाउ पाकेर प्रतिष्ठानमा पाँच दिनदेखि डे«सिङ गराउँदै आएकी छन् । उनलाई संक्रमणको आंशकामा सोमबार नै आइसोलेसन वार्डमा सारिएको छ । तिनै बिरामीलाई बोकेर आइसोलेसन वार्डमा लगिएपछि प्रतिष्ठानमा तनाव भएको थियो । 

प्रसूति विभागमा सेक्युरिटी गार्डहरूको बाक्लो उपस्थिति छ । ६० जनाभन्दा बढी बिरामी उपचार गराउँदै गरेको प्रसूति विभागको वार्ड पूरै सिल गरिएको छ । धनकुटा अस्पतालले रेफर गरेको बिरामीका विषयमा जानकारी गराएपछि प्रतिष्ठानको प्रसूति विभागको सेवा बन्द गरिएको छ । दुई दिनका लागि प्रसूति विभाग नयाँ बिरामी भर्ना बन्द गरिएको प्रसूति विभागका विभागीय प्रमुख प्रा.डा. मोहनचन्द्र रेग्मीले बताए । 

नयाँ बिरामी भर्ना बन्द गरिएको र प्रतिष्ठानमा उपचार गराइरहेका ६०÷७० जनालाई निगरानीमा राखिएको उनको भनाइ छ । ‘तत्काल कसैलाई डिस्चार्ज गरिँदैन र नयाँ भर्ना पनि लिँदैनौँ,’ प्रा.डा. रेग्मीले भने । आइसोलेसनमा राखिएकी ती महिलाको पिसिआर रिपोर्ट नआएसम्म नयाँ भर्ना नलिने उनले बताए । 

संक्रमित नर्स जिल्ला अस्पतालको प्रसूति विभागमा कार्यरत
कोरोना संक्रमणको पुष्टि भएकी जिल्ला अस्पताल धनकुटाकी नर्स १५ दिनअघि काठमाडौंबाट आएका यात्रुको स्वास्थ्य परीक्षण टोलीमा संलग्न भएको खुलेको छ । अस्पतालको प्रसूति विभागमा कार्यरत ती नर्ससहितको टोली धनकुटा जिल्लाबाहिरबाट आएका करिब चार सय ५० जनाको स्वास्थ्य परीक्षणमा सहभागी भएको पाइएको छ ।