मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ जेठ ५ सोमबार १५:२२:००
Read Time : > 1 मिनेट
समाचार

सप्तरीमा हात्तीआतंक : साँझ पर्नेबित्तिकै दिनहुँ बस्ती छिर्छन् आरक्षका हात्ती

Read Time : > 1 मिनेट
२०७७ जेठ ५ सोमबार १५:२२:००

लकडाउनले हातमुख जोर्न समस्या भएका वेला सप्तरीमा हात्तीले घर भत्काइदिँदा विपन्न नागरिकको बिचल्ली भएको छ। 

कोसीटप्पु वन्यजन्तु आरक्षबाट रात परेपछि गाउँ प्रवेश गर्ने हात्तीको समूहले आरक्ष क्षेत्र आसपास बसोवास गर्ने नागरिकको बिल्लिबाठ पार्दै आएको छ। एक महिनाको अवधिमा हात्तीले एक दर्जन घर भत्काइसकेको छ।

राससका अनुसार सोमबार राति पनि अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरका मोतीलाल विश्वकर्माको घर हात्तीले भत्काइदिएको छ। हात्तीले घर भत्काई अन्नसमेत खाइदिँदा विपन्न विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए। चार वर्षअघि श्रीमतीको मृत्युपछि उनी घरमा एक्लै बस्दै आएका छन्। 
    
रुपनी गाउँपालिका–६ मा हात्तीको समूहले बिहीबार राति दीपककुमार तामाङको पनि घर भत्काएको थियो। घर भत्काएर हात्तीले खाद्यान्नलगायतका सामग्री नष्ट गरेपछि तामाङ परिवारको दैनिकी कष्टकर बनेको छ।

मध्यरातमा आएको हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएको दीपककी श्रीमती हीराले बताइन्। घर छाडेर भागेपछि हात्तीले चामल, मकै, पिठो, कोदो खाएर नष्ट पारेको छ। त्यस्तै, सोलार र टिनको बाकस फुटाउनुका साथै घरसमेत भत्काउँदा दुई लाखबराबरको क्षति भएको पीडित परिवारले बताएका छन्। 

लकडाउनले रोजगारी खोसिएका वेला हात्तीले घर भत्काई खाद्यान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको पीडितले बताएका छन्। 

सप्तरीको उत्तरी क्षेत्रका बस्तीमा दैनिक मध्यरात भएपछि हात्तीको समूह गाउँ प्रवेश गरी घर भत्काउने गरेको छ। यसले स्थानीय आतंकित बनेका छन्। प्रायः तीनवटा हात्ती गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउँछन्।

आरक्षबाट आएको हात्तीको समूहले वैशाखको अन्त्यमा शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको ज्यान लिएको थियो। त्यसैगरी अग्निसाइर कृष्ण सवरण गाउँपालिका–५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको थियो। 

वैशाखकै तेस्रो साता सोही गाउँपालिका–२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहुँ, चामललगायतका खाद्यान्न खाएको थियो। 

दिनभरि नजिकैको जंगलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर भत्काउने र मानिसमाथि आक्रमण गर्ने गरेका छन्।