मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ जेठ ५ सोमबार ११:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रयोगशालामा पटकपटक लाइन जाँदा स्वाब परीक्षणकाे रिपाेर्ट आउन ढिलाइ

Read Time : > 1 मिनेट
२०७७ जेठ ५ सोमबार ११:०९:००

पटकपटक लाइन जाने समस्याका कारण हेटौँडामा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ हुने गरेको छ।

सामाजिक विकास मन्त्रालयले कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालनमा ल्याएको कोरोना परीक्षण प्रयोगशालामा पटकपटक विद्युत् सेवा अवरुद्ध हुने अन्य विकल्पको उचित व्यवस्थापन नहुँदा परीक्षणको रिपोर्ट आउन ढिलाइ हुने गरेको हो।

एक लटमा १५ देखि २० वटा स्वाबको रिपोर्ट आउने गरेको छ। त्यसका लागि चार घन्टा लाग्ने प्रयोगशालाका प्राविधिकहरू बताउँछन् । तर, प्रयोगशाला सञ्चालन भएदेखि हालसम्म तोकिएको समयमा रिपोर्ट आएको छैन। चार घन्टा भनिए पनि विद्युतीय समस्याका कारण २० घन्टाभन्दा बढी समय लाग्ने गरेको प्राविधिकहरू बताउँछन्। 

पटकपटक विद्युत् अवरुद्ध हुँदा प्रयोगशालाका मेसिनहरू बन्द हुन्छ। बिजुली जाँदा वैकल्पिक ऊर्जाको व्यवस्थापन नहुँदा रिपोर्ट आउन आकलन गरिएकोभन्दा धेरै समय लाग्ने गरेको प्रयोगशालाका निर्देशक नारायण कार्कीले बताए । 

‘एकपटकमा १५ देखि २० वटा स्वाब मेसिनमा राखिसकेपछि सबैको रिपोर्ट आउन बढीमा चार घन्टा लाग्छ,’ उनले भने, ‘मेसिनले जाँचको प्रक्रिया सुरु गरेपछि अचानक विद्युतीय सेवा बन्द भएमा पुनः सुरुदेखि काम गर्नुपर्ने हुन्छ, त्यसैले तोकिएको समयभन्दा धेरै ढिलाइ हुने गरेको छ।’ 

निर्देशक कार्कीले वर्षौंदेखि सञ्चालन नभएको तालिम केन्द्रमा कुनै व्यवस्थापन नभएको गुनासो गरे। विद्युत् सेवा बन्द भएमा तीन मिनेट मात्र ब्याकअपको व्यवस्था छ। यसले प्रयोगशालामा काम गरिरहेका कर्मचारी दिक्दार भएका उनले बताए। प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि आवश्यक अन्य व्यवस्थापनमा समेत निकै कमजोरी देखिएको गुनासो उनले गरे।

निर्देशक कार्कीले केही दिनअघि प्रयोगशाला भवनसँगै रहेको सामाजिक विकास मन्त्रालयबाट जेनेरेटर जडान गरिए पनि विद्युतीय सेवा बन्द भइहालेमा करिब १० मिनेटपछि मात्र जेनेरेटर चल्ने भएकाले त्यस वलासम्म मेसिन बन्द भइसक्ने बताए। 

उनले स्वाब परीक्षणको मेसिन २४सै घन्टा सञ्चालन हुनेगरी उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। उनले नतिजा सकेसम्म चाँडोभन्दा चाँडो सार्वजनिक गर्ने प्रयासमा प्रयोगशालाका कर्मचारी जुटिरहे पनि विद्युतीय समस्याले हैरान भइसकेको गुनासो गरे।

‘प्रयोगशालामा विद्युतीय सेवा बन्द नहुने गरी व्यवस्थापन मिलाउन विद्युत् प्राधिकरणसँग सम्झौता गर्न मन्त्रालयलाई आग्रह गरिएको छ,’ निर्देशक कार्कीले भने ।