Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ५ सोमबार ०८:२५:००
Read Time : > 1 मिनेट
सम्पादकीय

अग्रमोर्चामा जोखिम !

Read Time : > 1 मिनेट
२०७७ जेठ ५ सोमबार ०८:२५:००

लामो समय सुस्त रहेको कोरोना संक्रमणको दर केही दिनयता ह्वात्तै बढेको छ । वीरगन्ज र उदयपुरबाट फैलन थालेको कोरोना भारतसित सीमा जोडिएका मुख्य नाका नेपालगन्ज, कपिलवस्तु, रुपन्देही हुँदै अब काठमाडौंसम्म आइपुगेको छ । दुई महिना पुग्न लागेको लकडाउनमा पनि न भारतबाट नेपाल आउने क्रम बन्द भयो, न त आन्तरिक बसाइँ–सराइ नै रोकियो । सहरबाट गाउँ जाने लहर सेलाउन नपाउँदै फेरि गाउँबाट सहरतिर, तराईबाट पहाडतिर मानिसहरू आवतजावत गर्न थाले । यता लकडाउनकै समयमा पनि सरकारको निर्देशन उल्लंघन गर्दै मानिसहरू जम्मा हुने क्रम रोकिएन ।

कोरोना महामारी बस्ती प्रवेश गर्न थालेको समयमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि यसबाट सुरक्षाका उपाय अपनाउन सकिएन भने भोलि गम्भीर परिणाम निम्तिन सक्छ

कतिपय सरकारी कार्यालयले नै सार्वजनिक कार्यक्रम यहीबीच आयोजना गरे । यसले सामाजिक गतिविधि घटाएर मानिस–मानिसबिचको भौतिक दूरी कायम गर्ने र आवश्यक सुरक्षा प्रबन्ध गरेर मात्र गतिविधि गर्नुपर्ने सर्त उल्लंघन गर्न सहयोग गर्‍यो । परिणामचाहिँ बिस्तारै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण सुरु भएको छ । प्राकृतिक विपत्तिका अन्य रूप होऊन् या महामारीको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मी नै हुन्छन् । यतिवेला पनि लकडाउनलाई प्रभावकारी बनाउन, सीमा सुरक्षा गर्न, संक्रमितको खोजी र तिनको सम्पर्क पत्ता लगाएर परीक्षणका लागि ल्याउन तथा कोरोना पोजेटिभ देखिएकालाई स्वास्थ्य संस्थासम्म ल्याउन सुरक्षाकर्मी नै परिचालित भएका छन् । चिकित्साकर्मीको त जहाँ बिरामी छन्, त्यहाँ पुग्नैपर्ने जिम्मेवारी नै हो । त्यसमाथि नेपालका सरकारी अस्पतालमा चिकित्सकको दरबन्दी नै कम छ र आलोपालो गर्न पनि सजिलो छैन । पिपिईलगायत सुरक्षा सामग्रीको अभाव छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हेर्ने सामाजिक दृष्टिकोण कम सकारात्मक छ । बाहिर जे भनिए पनि डाक्टर र नर्सलाई यतिवेला आफ्नो घरमा बस्न नदिन घरबेटीहरू सजग छन् । यी मानसिक दबाबबीच काम गर्नुपर्ने चिकित्सक महामारीविरुद्धको लडाइँको अग्रभागमा हुन्छन् । 

कुल संक्रमितको संख्या ३ सय नपुग्दै केही सुरक्षाकर्मी र केही स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिइसकेको छ । सेनाका उच्च तहका अधिकारीदेखि जनपद र सशस्त्र प्रहरीसम्म फैलिएको कोरोनाको प्रभावले भावी दिनमा कोरोनाविरुद्धको लडाइँ कमजोर हुने सम्भावना बढ्दै गएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकको एउटा समूह अहिले नै क्वारेन्टाइनमा बस्न थालेको छ । कोरोनाका कारण नेपालमा पहिलो ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला पनि दश दिनअघि मात्र त्यहीँबाट सुत्केरी भएर गएकी भन्ने सूचनाले त्यहाँ थप स्वास्थ्यकर्मी सेवामा आउन नसक्ने अवस्था बन्न सक्छ । उता मध्यपूर्व प्रितना सिल गरिएको छ । प्रहरीको ठूलै समूह आइसोलेसनमा छ । यो संख्या बढ्दै जाने हो भने भोलि अग्रमोर्चा कमजोर हुने र कोरोनाविरुद्धको लडाइँमा मानिस पराजित हुने अवस्था आउन सक्छ । यो अवस्था अरू देशमा पनि छ । तर, हामीकहाँ भने सुरक्षाका आवश्यक उपकरण र साधनविना यी दुवै शक्तिलाई मोर्चामा पठाउने सरकारको गलत रबैया यसको कारण बनेको छ । बल्ल महामारी दैत्याकार भएर बस्ती प्रवेश गर्न थालेको छ । अब स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोरोनाबाट सुरक्षाका उपाय अपनाउन ढिलो नगरौँ ।