मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ जेठ ५ सोमबार ०८:२०:००
Read Time : > 1 मिनेट
अर्थ

इन्धनको मूल्य नघटाउन पेट्रोलियम व्यवसायीको मन्त्रीलाई चिठी

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ जेठ ५ सोमबार ०८:२०:००

पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य नघटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ । २ जेठमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मन्त्री भट्टलाई मूल्य नघटाउन दबाब दिएको हो ।

एसोसिएसनमा उपत्यकासहित बागमती प्रदेशका पेट्रोलपम्प व्यवसायी सदस्य छन् । बाँसबारीको खड्का आयल स्टोरका सञ्चालक अच्युत खड्का यसका अध्यक्ष छन् । उनको पम्पलाई नाकाबन्दीका वेला इन्धनमा कालोबजारी गरेको र डेढ वर्षअघि पनि चालकको हडतालमा तेल लुकाएको आरोपमा कारबाही गरेको थियो ।

अध्यक्ष खड्काले मन्त्रालयमा सचिव वैकुण्ठ अर्याल र आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई मन्त्रीसम्म पुग्ने गरी पत्र दिएको बताए । ‘मैले सचिव (अर्याल)का अगाडि जिएम साहेब (पौडेल)लाई पत्र दिएको हुँ,’ उनले भने, ‘मूल्य घटाउनुहुँदैन भनेर पत्र लेखेको हो । ट्रक ढुवानी, ट्याक्सी भाडाको भाउलगायत घटेन । अनि किन भाउ घटाउनु भनेर सुझाब दिएको हुँ । म अध्यक्ष भएको नाताले डिलर र उपभोक्ताको कुरा उठाएको हो ।’

स्रोतका अनुसार खड्काले लेखेको पत्रलाई पम्प व्यवसायीको केन्द्रीय संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले समर्थन गरेको छैन । एसोसिएसनका एक केन्द्रीय सदस्यले भने, ‘हामी व्यवसायीले मूल्य घटाउनु र बढाउनु भनेर पत्र लेख्दैमा केही हुँदैन । फेरि लबिङ नै गर्नु थियो भने भेटेर कुरा राखेको भए हुन्थ्यो । पत्र नै लेखेर संगठनको बेइज्जत नगरेको भए हुन्थ्यो ।’

मन्त्री भट्टले पहिलेदेखि नै लकडाउनभर मूल्य नघट्ने सार्वजनिक टिप्पणी गर्दै आएका थिए । स्रोतका अनुसार आफूलाई नेकपा पूर्वमाओवादी बताउने खड्काले मन्त्री भट्टको नजरमा पर्न यस्तो पत्र पठाएका हुन् । अहिले बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोमा नयाँ प्रमुख प्रदीप यादव पुगेका छन् । निगमकै हितमा काम गरिरहेको देखाएर यादवको प्यारो बन्न खड्काले पत्र लेखेको स्रोतको भनाइ छ ।  

यता, आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले खड्काको पत्र आएको भोलिपल्ट २ जेठमा विज्ञप्ति जारी गर्दै मूल्य समायोजन नगरेको जानकारी दिएका थिए । पेट्रोलियमको माग अत्यन्त न्यून रहेकाले मूल्य समायोजन नभएको विज्ञप्तिमा उल्लेख छ । लकडाउनका कारण इन्धन खपत करिब २० प्रतिशत मात्र रहेको आयल निगमले जनाएको छ ।