मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
केदार दाहाल काठमाडौं
२०७७ जेठ ५ सोमबार ०७:३४:००
Read Time : > 1 मिनेट
अर्थ

एयरपोर्ट विस्तारको काम ठप्प, निर्माण सामग्री लिन गएका दर्जनाैँ सवारी स्थानीयद्वारा तोडफोड

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ जेठ ५ सोमबार ०७:३४:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कोटेश्वरतर्फ ३ सय मिटर धावनमार्ग विस्तारको काम निर्माण सामग्रीको अभावले रोकिएको छ । धावनमार्गका ३ पत्रमध्ये २ पत्र पिच सम्पन्न भएपछि निर्माण सामग्री अभाव भएर काम रोकिएको हो । सरकारले निर्माण सामग्री ल्याउन सहज बनाउँदै आयोजनाको काम अगाडि बढाउने भने पनि स्थानीयले अवरोध गरेपछि काम प्रभावित भएको छ । 

स्थानीयले ठाउँ–ठाउँमा निर्माण सामग्री ल्याउन अवरोध गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम रोकिएको छ । सरकारले आयोजनाको काम नरोक्ने बताउँदै आए पनि स्थानीयले सवारीसाधन तोडफोडसहित चालकलाई कुटपिट र निर्माण सामग्री ढुवानीमा अवरोध गरेका छन् । 

लकडाउनकै अवधिमा काम धमाधम जारी भए पनि निर्माण सामग्री ल्याउन स्थानीयले ठाउँ–ठाउँमा अवरोध गरेपछि काम रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय क्षमता विस्तार आयोजनाका प्रमुख मुरारी भण्डारीले बताए । ‘१० प्रतिशत मात्रै काम बाँकी छ, सामग्री पु-याउन सकिएमा १० दिनभित्रै काम सम्पन्न गर्ने अवस्थामा छाैँ,’ भण्डारीले भने । 

अहिले धावनमार्ग विस्तारमा एक सयजना कामदार भित्रै बसेर काम गरिरहेका छन् । २७ सेन्टिमिटर कालोपत्र रहेको धावनमार्गको बेस एक मिटरदेखि सुरु गरिएको थियो । हालसम्म २२ सेन्टिमिटर मोटाइ कालोपत्र भइसकेको अवस्थामा एक सातादेखि काम ठप्प छ । 

धावनमार्ग विस्तारका लागि प्राधिकरणले अप्रिल २६ राति १२ बजेदेखि विमानस्थल बन्द गरेर काम गर्न नोटामै जारी गरेको थियो । अहिले लकडाउनका कारण बिहानदेखि रात्रिसम्म काम गर्न पाइएकाले समयमै सम्पन्न गर्ने अवस्थामा पुगेको भए पनि अन्तिम समयमा समस्या आएको भण्डारीले बताए । हालको ३ हजार मिटर धावनमार्ग विस्तारपछि ३ हजार ३ सय मिटर हुनेछ । जसमा ठूला जहाजहरू उडान र अवतरणमा सहज हुनेछ । कालिका तुन्डी जेभीलाई निर्माण ठेक्का दिइएको आयोजनको लागत करिब १ अर्ब भ्याटसहित रहेको छ ।     

 निर्माण सामग्री लिन गएका दर्जनौँ सवारी स्थानीयद्वारा तोडफोड

धावनमार्ग विस्तारका लागि निर्माण सामग्री लिन गएका दर्जनौँ टिपर तोडफोड गर्नुका साथै चालकमाथि स्थानीयले कुटपिट गरेका छन् । ‘निर्माण सामग्री ल्याउने क्रममा बुङमतीको डुकुछापस्थित १४ वटा टिपरमा स्थानीयले तोडफोड गरेका छन्,’ आयोजना प्रमुख भण्डारीले भने ।

बुङमतीमा समस्या आएपछि काभ्रेको भकुन्डेमा टिपर पठाउँदा स्थानीयले चालकमाथि कुटपिट गरेको उनले बताए । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीयहरूले टोलटोलमा टिपरलाई अवरोध गरिरहेकाले सामग्री ल्याउन स्थानीय प्रशासनको सहयोग माग्दासमेत समस्या आएको उनको भनाइ छ । 

‘एक त सवारीपास बनाउन अप्ठ्यारो, अर्कोतर्फ फैलिँदै गएको कोभिडका कारण सबै सशंकित छन्,’ भण्डारीले भने । अहिले विमानस्थलमा जहाज उडान–अवतरण पनि बन्द रहेकाले धावन विस्तारको काम गर्न सजिलो वेला भएकाले अगाडि बढाइएको थियो,’ भण्डारीले भने । आयोजनाका लागि आवश्यक बिटुमिन भने भारतबाट ल्याइसकिएको छ ।